गिरिजालाई पसिना छुटाउने शिशिर!
प्यारा देशवासीका लागि खुसीको कुरा छ। वर्तमान प्रधानमन्त्रीज्यू गीतसंगीत सुन्नुहुन्छ। कविता लेख्नुहुन्छ। संगीत, साहित्यका विषयमा बहुत गम्भीर हुनुहुन्छ। धुर्मुस–सुन्तली फाउन्डेसनले आयोजना गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रममा बोल्ने क्रममा उहाँले गायक शिशिर योगीलाई सम्झनुभयो। शिशिर योगीले गाएको ‘मानिस खोजिरहेछु’ गीतको चर्चा गर्नुभयो। यस गीतले देशका शक्तिशाली प्रमलाई छोएको पनि हुन सक्छ। घोचेको या बिझाएको पनि हुन सक्छ। गीतको मुखडाले जम्माजम्मी यत्ति भन्छ –
‘छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु’
डा. विश्वनाथ प्रेमले रचना गरेको यो गीतबारे अनेक थरी मानिसले अनेकथरी अर्थ लगाए। कसैले भने– यत्रो प्रजातन्त्र आयो, यत्रो गणतन्त्र आयो। संघीयता आयो। यसलाई हाँक्ने एउटा गतिलो मानिस भने आएन। कतिले यो गीतलाई ‘राजा आऊ देश बचाऊ’ टाइपको प्रतिगामी सोचको भने। कतिले एउटा मानिसद्वारा शासन व्यवस्था नियन्त्रित गर्ने निरंकुशतन्त्रको पक्षपोषक भने। आफूलाई मन लागेको कुरा ठान्ने र बोल्ने स्वतन्त्रता सबैलाई छ। कतिले ‘वाह यस्तो पो गीत। यस्तो गीत जन्मन त युगौं लाग्छ’समेत भने।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रातको १० बजे पहिलो पल्ट यो गीत सुनेका रहेछन्। गीत सुनेर उनलाई पसिना आयो रे। गर्मी मौसमको राति पसिना आएको भए स्वाभाविक हुन्थ्यो। पुस महिनाको चिसो रातमा गीत सुनेर पसिना आएको हो भने यो सोचनीय कुरा हो। एउटा भेटमा गिरिजाले शिशिरलाई भनेका रहेछन्, ‘तपाईंको गीत सुनेर मलाई पुसको चिसो रातमा पनि पसिना आयो।’
शिशिरलाई यसो भन्ने धेरै छन्। यो गीतको म ठूलो फ्यान हुँ भन्ने नेता, प्रशासक र ठूलाबडाको एउटा ठूलै जमात छ यो मुलुकमा। उसो त शिशिरका अरू धेरै गीत मार्मिक र अर्थपूर्ण छन्। उनको स्वरको गहनता लोभलाग्दो छ। मानिस खोजिरहेछु चाहिँ उनको मास्टर पिसको पनि मास्टर पिस हो। जजसले जे जे भने पनि सत्य कुरा के हो भने हामीले मुलुक हाँक्ने एउटा गतिलो मानिस नपाएकै हो। यो गीतले नेताहरूलाई ‘तिमी मूलाहरू एउटा पनि काम छैनौ’ भनेर ललकारेकै हो।
अड्कल काट्न सकिन्छ, हाम्रा अहिलेका चतुर प्रमले यो कुरालाई राम्ररी बुझेका छन्। सायद त्यही भएर उनले धुर्मुुस–सुन्तली फाउन्डेसनको कार्यक्रममा भनेका होलान् – शिशिरजी ! तपाईंले खोजेको मानिस भेटिइसक्यो। त्यो मानिस तपाईंको दायाँ बसेको पनि हुन सक्छ, बायाँ बसेको पनि हुन सक्छ। तपाईंको अगाडि बसेको मानिसको ठीक पछाडि पनि छ। तपाईंको पछाडि बसेको मानिसको ठीक अगाडि पनि हुन सक्छ। त्यो मानिस तपाईं आफैं पनि हुन सक्छ। घरिघरि प्रमज्यूलाई लाग्दो पनि हो— नेपाली जनताले खोजेको त्यो मानिस म नै त हुँ।
अम्बर गुरुङका प्रिय चेला शिशिरको स्वर उच्च कोटिको छ। यसमा कुनै शंका छैन। उनका गीत सदाबहार छन्। अर्थपूर्ण र गहन भावपरक गीत उनका छनोटमा पर्छन्। उनका गीत आम मानिसका भावनाका प्रतिबिम्ब हुन्। उनी कुशल साधक हुन्। संगीतका योगी हुन्।
एउटा भेटमा गिरिजाप्रसाद कोइरालाले शिशिरलाई भनेछन्, तपाईंको गीत सुनेर मलाई पुसको चिसो रातमा पनि पसिना आयो
एउटा असल गायकमा हुनुपर्ने सबै गुण र योग्यताले उनी परिपूर्ण छन्। उनी गीत छान्ने मामलामा भने अलि नाप्पेका पनि छन्। पैसाका लागि जे पायो त्यही गाउँदैनन्। गीत चल्नु, नचल्नुसित उनको साइनो छैन। लक्ष्मीप्रसाद देवकोटाको ‘सियोको टुप्पोले मुटु बिझ्यो दमाइँ दाइ’ अनि रत्नशमशेर थापाको शब्द र नारायणगोपालको संगीतमा बुनिएको ‘एक मुठी चामल पाऊँ लौ हजुर, जय जय मनाउँला’ गाउँदा उनलाई कतिले मूर्ख पनि भने। ‘नचल्ने थाहा हुँदाहुँदै किन गाएका होलान्’ भन्ने तिनको आशय थियो। पछिल्लो समयमा उनले शोषित, पीडित र अवहेलित मानिसका पीडामा आधारित धेरै गीत गाए। शान्ति, सद्भाव र नेपाली एकताका लागि स्वर समर्पण गरेका
शिशिरको गायकीलाई धेरैले आदर गर्छन्। देशका ठुल्ठूला नेताले उनलाई फोन गर्छन्। कहिलेकाहीँ घरैमा डाक्छन्। आम दर्शक श्रोताको कुरै नगरौं। आफ्नो जीवनको यथार्थ चित्र ‘तिमी भयौ बूढी पीपल’ गीत सुनेर उनलाई धेरै ज्येष्ठ नागरिकले स्याबासी मात्र दिएनन्, आशीर्वाद पनि दिए।
दाङदेखि काठमाडौं आएर उनले कठोर साधना गरे। अम्बर गुरुङसित मात्रै १५ वर्ष सिके। अम्बर गुरुङ बारम्बार भन्थे, ‘संगीत एक किसिमको तपस्या नै हो। संगीतमा लाग्नेका लागि चाहिने सबैभन्दा ठूलो कुरा धैर्य हो। गीत गाउन कहिल्यै हतार नगर्नू। दुःखदेखि डराउनेले संगीतमा नलागे पनि हुन्छ। भाग्यमानीले मात्रै दुःख पाउँछ, दुःखदेखि कहिल्यै नडराउनू।’ आफ्ना गुरुको यही वाणीलाई आफ्नो जीवनको आदर्श बनाएका छन् शिशिरले।
माधव घिमिरेको शब्द र शक्ति वल्लभको संगीतमा सृजित ‘सारंगी त रेट पनि’ गाएपछि उनको चर्चा चुलियो। ‘मानिस खोजिरहेछु’ ले उनलाई धेरै नेपालीको दिलसम्म पुर्यायो। उनी खुब चले तर घरपरिवार राम्ररी चलेन। संगीतमा लाग्दालाग्दै बिहे गरे। बालबच्चा जन्मिए। पारिवारिक बोझ थपियो। जीवनको आधी उमेर संगीत साधनामै बचत भयो (खर्च होइन)। अहिलेसम्म गरेको संगीत साधना दालभात खानमै ठिक्क भयो। काठमाडौंमा डेराको बसाइ, महँगी, छोराछोरीको शिक्षादीक्षा। उफ् यो शिशिरको मात्रै नभएर आम मानिसकैै भोगाइ हो। तर शिशिर र आम मानिसमा अलिकति फरक छ। उनलाई मुलुकका प्रायः सबै पार्टीका ठूला नेताले चिन्छन्। ‘तपाईंको म फ्यान हुँ’ भन्नसमेत भ्याउँछन्। कहिलेकाहीँ सबैको हुँदा मानिस कसैको पनि नहुने रहेछ। अरूको कुरै छोडौं, कांग्रेसले उनलाई कम्युनिस्ट देख्ने, कम्युनिस्टले कांग्रेस। एउटा पेसेवर गायकलाई विशुद्ध गायक मात्रै नदेख्ने रोगले सताएको छ, राजनीतिलाई।
एउटा सानो उदाहरण पेस गरौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सूर्यनाथ उपाध्यायसित शिशिरको बाक्लै बसउठ छ। एक हिसाबले सूर्य सर शिशिरका ‘डाई हार्ट फ्यान’ हुन्। हाल उनी प्रम ओलीका सल्लाहकार छन्। एक दिन उनले शिशिरलाई भने, ‘तपाईंलाई प्रमज्यूले सम्झनुभएको छ, एकचोटि भेट्दा राम्रो हुन्छ।’ समय मिलाएर भेटघाट गर्ने टुंगोमा शिशिर पुगे। प्रमलाई भेट्ने समय तय भएको जानकारी गराउँदै एक दिन राजन भट्टराईले शिशिरलाई फोन गरे।
नभन्दै २०७५ साल मंसिर २६ गते बालुवाटारबाट शिशिरलाई बोलावट भयो। आफ्नो गीतलाई मन पराउने प्रमज्यूलाई भेट्ने मौका मिलेकोमा शिशिर पनि निकै उत्साहित थिए। देशका व्यस्त प्रमसित साँझ ७ बजेदेखि ८ः३० सम्म लगभग डेढ घण्टा कुराकानी भयो। कुराकानी गीतसंगीतमा मात्रै सीमित रहेन। व्यक्तिगत जीवनको गाह्रोसाँघुरो र दुःखसुखका पाटाहरूसमेत उघारिए। शिशिरले प्रमलाई समर्पण गरेर ‘तिमी हिँडे बाटो बन्छ हिँडेर हेर त, तिमी ब्युँझे देश जाग्छ, ब्युँझेर हेर त’ बोलको गीत सुनाउनसमेत भ्याए। पेनड्राइभमा आफ्ना करिब ३० गीत भरेर उनले प्रमज्यूलाई उपहार पनि दिए। शिशिरका गीतको प्रमज्यूले त्यहाँ पनि प्रशंसा गर्नुभयो।
‘ल भन्नुस् मैले तपाईंलाई के गर्नुपर्यो ? ’ यो अरूको सोधाइ थिएन। उनै प्रधानमन्त्रीको थियो। देशमा प्राज्ञ छान्ने दौड भइरहेको थियो। संगीत नाट्य प्रतिष्ठानको परिषद् सदस्यमा छिर्न पाए पनि हुने भन्ने भाव शिशिरको अवचेतन मनमा दबिएको थियो। खोक्रो आदर्शले जीवन चल्दैन। प्रमज्यूलाई भनेर जीवन सहज हुन्छ भने किन नभन्ने ? उनले आफू संगीत नाट्य प्रतिष्ठानको परिषद् सदस्य बन्न चाहेको बिन्ती बिसाए। प्रमको जवाफ थियो, ‘तपाईंको यो कुरालाई म बहुत गम्भीरतासाथ लिनेछु। म सक्दो प्रयास गर्नेछु। तपाईं जस्तो मानिस आउँदा राम्रो पनि हुन्छ। तपाईंले देशका लागि केही गर्नुपर्छ। व्यक्तिगत रूपमा पनि म तपाईंलाई केही गर्न चाहन्छु।’ साइडमा बसेका देव गुरुङ मुसुमुसु हाँसिरहेका थिए। उनलाई अरू ठूला नेताको पनि आश्वासन थियो।
प्रमज्यूसितको कुराकानीपछि आफू संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य बन्ने कुरामा शिशिर लगभग ढुक्क थिए। बालुवाटारबाट फर्किएपछि उनले आफ्ना केही अन्तरंग साथीहरूसित यो कुरा सेयर पनि गरे।
एकदिन मलाई शिशिरको फोन आयो। उनको आवाजमा पीडा र ग्लानि मि ि श्रत थियो। ‘यार मलाई त रूख चढाएर फेद काटे जस्तै भयो।’ मैले कुरो बुझिहालेँ। परिषद् सदस्यमा उनको नाम अटेन। मैले शिशिरलाई नजिकबाट चिनेको छु। उनी अभावको अभावमै संगीत साधना गरिरहेका छन्। हतपती कसैसित नझुक्ने शिशिर यसपालि अलि बढी कमजोर देखिएको मैले महसुस गरिरहेको थिएँ। यो उनको बाध्यता थियो। मलाई लाग्यो, शिशिरजस्ता प्रत्याशी अरू पनि धेरै थिए होलान्। सायद गीतसंगीतको योगदानले मात्रै नपुग्ने होला। पार्टीगत रूपमा उनको सक्रियता पुगेन होला वा प्रमज्यूलगायत उनलाई आश्वासन दिने मानिसहरूले भुलेका पनि हुन सक्छन्। अर्को कुरा शिशिर कुनै पार्टीमा छैनन्। पार्टीमा नलाग्ने मानिसले त्यति ठूलो कुरा किन ताकेका होलान्। म अलमलमा परिरहेको छु, शिशिरले देशलाई बुझेनन् या देशले शिशिरलाई बुझेनन्।