बंगलादेशलाई ३-० ले पराजित गर्दै नेपाल समूह विजेता

बंगलादेशलाई ३-० ले पराजित गर्दै नेपाल समूह विजेता

विराटनगर : घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

शनिबार भएको खेलमा साविक उपविजेता बंगलादेशलाई ३-० गोलले हराउँदै नेपाल समूह विजेता बनेको हो। साफको पाँचौं संस्करणसम्म तीन पटक भेट हुँदा तीनै पटक बंगलादेशमाथि नेपालले जित निकालेको छ। बंगलादेश समूहको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनायो। नेपालले चैत ६ गते बुधबारे समूह ‘बी’ मा रहेका भारत र श्रीलंकाबीचको उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

साफ महिलाको चारवटै उपाधि कब्जा गरेको भारत र श्रीलंकाबीच आइतबार हुने खेलले समूह ‘बी’ बाट समूह विजेताको टुंगो लगाउनेछ।

नेपालले तीनवटै गोल मध्यान्तरअघि गरेको थियो। नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक÷एक गोल गरे। सुरुआती गोल भने नेपालले आत्मघाती रूपमा उपहार पाएको थियो।

खेलको छैटौं मिनेटमै आत्मघाती गोलको उपहार पाएपछि नेपालले बंगलादेशलाई दबाबमा राखेको थियो। नेपालकी मनमाया लिम्बूको लामो प्रहारबाट आएको बल क्लियर गर्ने क्रममा बंगलादेशकी मसुरा प्रभिनको टाउकोमा ठोक्किँदै गोल भएको थियो।

नेपालले २३औं मिनेटमा दोस्रो गोल ग¥यो। हीराकुमारी भुजेलको पासमा सावित्राले वान भर्सेस वानको स्थितिमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन्। २५ क्याप जितेकी सावित्राको २४ औं अन्तर्राष्ट्रिय गोल हो।

२८औं मिनेटमै नेपालले मञ्जलीकुमारी योञ्जनले गरेको तेस्रो गोलमार्फत अग्रता फराकिलो बनायो। मञ्जलीकुमारीको चौथो अन्तर्राष्ट्रिय गोल हो।

खेल अवधिभर केही राम्रा अवसरको सदुपयोग गर्न नसक्दा नेपालले गोलअन्तर बढाउन सकेन। १० औं मिनेटमा कप्तान नीरु थापाले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुकिन। १५औं मिनेटमा हीराकुमारीले कर्नरबाट मिलाइदिएको बलमा सावित्राको वान टच प्रहारलाई बंगलादेशकी गोलरक्षक रूपना चक्माले उत्कृष्ट ढंगबाट बचाउ गरिन्। ५७औं मिनेटमा सावित्राको प्रहार बंगलादेशकी मसुरा प्रभिनले क्लियर गरेकी थिइन्।

खेलपछि बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले नेपाल बलियो टोली भएकाले पनि जित निकाल्न मुस्किल परेको बताए। ‘नेपाल अनुभवी खेलाडीले भरिएको टिम हो’ उनले भने ‘त्यहीँमाथि उसले घरेलु मैदानको फाइदा उठाउन सक्यो।’

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले रणनीतिअनुसार खेलाडीले प्रदर्शन गर्न सकेका कारण जित सहज भएको बताए। उनले १५ मिनेटभित्रमै गोल गरेर डोमिनेट गर्ने रणनीति सफल हुँदा सुखद नतिजा हात लागेको बताए। ‘घरेलु मैदान, दर्शकको समर्थन र खेलाडीको उत्कृष्ट प्रदर्शन जितको मुख्य कारण बन्यो’ खड्काले भने, ‘अब हाम्रो ध्यान फाइनल प्रवेशका लागि केन्द्रित हुनेछ।’

भारत र श्रीलंकाको अवस्था

पाँचौं साफ महिला च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकाले आइतबार चार पटकको विजेता भारतको सामना गर्नेछ।

साफमा चौथो पटक भेट हुँदा दुवै टोली जित हात पार्दै समूह ‘बी’ बाट समूह विजेता बन्ने होडमा छन्। यसअघिका तीनवटै भेटमा भारतसँग श्रीलंकाले हार बेहोरेको थियो। फिफा वरीयतामा ६२औं स्थानमा रहेको भारतले यसअघि पाँचौं साफको पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोलको फराकिलो अन्तरले निराश बनाएको थियो। भारतीय प्रशिक्षक मेमोल रोकीले टोलीको लक्ष्य उपाधि जित्नु नै रहेको बताइन्। साफमा पाँचौं संस्करणसम्म आइपुग्दा भारतले २० खेल खेलेको छ। जसमध्ये १९ मा जित र एकमा बराबरी गरेको छ। एक सय २० गोल गर्दा पाँच गोल मात्र खाएको छ।

पहिलो साफमा भारतले श्रीलंकालाई ७-०, दोस्रोमा ५-० र तेस्रो साफको सेमिफाइनलमा ५-० को फराकिलो अन्तरले पराजित गरिसकेको छ। तेस्रोपटक साफको अन्तिम चारमा स्थान पक्का गरेको श्रीलंकाले हालसम्म १५ खेलमा ६ मा जित, एकमा बराबरी र आठ खेलमा हार बेहोरेको छ। श्रीलंकाले जारी प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई २-० गोलले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.