सात करोड भ्रष्टाचार गर्ने लेखा अधिकृतविरुद्ध १५ लाखको अर्को मुद्दा
काठमाडौं : सावा सात करोड भ्रष्टाचार गर्ने कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका इलामका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालविरुद्ध अर्को मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले उनीविरुद्ध थप १४ लाख ८९ हजारको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अवधिमा समेत अनियमितता गरेको पाइएपछि थप उनीविरुद्ध अर्को मुद्दा दयार गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
कटारी नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठूलो रकम स्थानान्तरण गरी आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको आरोपमा गत साउन १८ गते उनीविरुद्ध ७ करोड २३ लाख विगोदाबी गरी मुद्दा दायर गरिएको थियो।
उनी हाल विशेष अदालतको आदेशले पुर्पक्षको लागि डिल्लीबजार कारागारको थुनामा छन्।