इक्टोपिक प्रिग्नेन्सी !
इक्टोपिक प्रिग्नेन्सीले गर्भ त खेर जान्छ नै, आमाको ज्यान पनि हुन्छ र जोखिममा पर्छ।
मोरङ रतुवामाईको ३२ वर्षीया बालिका बानिया (नाम परिवर्तन) लाई एक्कासि पेट दुख्न थाल्यो। दुखाइ सहन नसक्ने भएपछि फिजिसियनलाई देखाउन भनी अस्पतालमा आइन्। दुखाइसँगै पेट पनि सुन्निँदै गएको थियो। उनको परीक्षण गर्दा पेट दुखाइको कारण अन्डाशयमा गर्भ रहेको, गर्भका कारण अन्डाशय फुटेको र पेटमा रगत जम्मा भएको रहेछ। उनको तुरुन्त शल्यक्रिया गरेर फुटेको अन्डाशय निकाल्नुपर्यो। अत्यधिक रक्तस्राव भएकाले चार पोका रगत पनि दिनुपर्यो।
त्यस्तै केही समयअघि मोरङ सौठाकी २७ वर्षीया बिना पोख्रेल (नाम परिवर्तन) को केही वर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो। मुटुको शल्यक्रियापछि उनलाई वारफारिन नामक औषधी नियमित सेवन गर्न दिइयो। वारफारिनले रगत पातलो बनाउने भएकाले यसको सेवन गर्नेहरूमा रक्तस्राव सामान्यभन्दा बढी हुन सक्छ। बिनाको विगत एक वर्षदेखि महिनावारीमा बढी रगत बग्ने तथा छोटो अवधिमा हुने गरेको थियो। यसपटक महिनावारी हुनुपर्ने समयभन्दा पनि झन्डै तीन साता नै कटिसकेको थियो। बिना महिनावारी रोकिएकोमा आत्तिएको भने थिइनन्। किनकि उनको पहिला पनि एक दुईपटक यस्तै भएको थियो।
त्यो बिहान एक्कासि पेट दुख्न थाल्यो अनि अलिअलि महिनावारीजस्तै रक्तस्राव हुन थाल्यो। दुखाइ सहन नसकेपछि उनलाई उनका पतिले स्थानीय अस्पतालमा उपचारका लागि लगे। सो अस्पतालमा विभिन्न परीक्षण गर्दा उनको गर्भ रहेको पत्ता भयो। तर अल्ट्रासाउन्ड (भिडियो एक्स रे) ले उनको गर्भ पाठेघरमा नभएको देखायो। त्यसैले उनलाई विराटनगर पठाइयो। विराटनगर आइपुग्दा उनी अचेत भइसकेकी थिइन्। उनको नाडीको गति निकै कम र रक्त पनि घटिसकेको थियो। उनको गर्भ अन्डवाहिनी नली (फलोपियन ट्युब) मा रहेको र सो फुटेर पेटभित्रै धेरै रगत भएको पुनः अल्ट्रासाउन्ड गर्दा स्पष्ट थाहा भयो। आकस्मिक शल्यक्रिया गरेर फुटेको फलोपियन ट्युबलाई हटाएर रक्तस्राव रोक्नु नै उनको उपचार थियो। तर वारफारिन खाइरहेको र मुटुको बिमारीको शल्यक्रिया, सहज थिएन। तर उनलाई बचाउन शल्यक्रियाबाहेक अर्को उपाय पनि थिएन।
गर्भ रहनु भनेको पुरुषको शुक्रकीट र महिलाको अन्डको उर्वरीकरण (फर्टिलाइजेसन) हुनु हो। यो महिलाको अन्डवाहिनी नलीमा हुन्छ। फर्टिलाइजेसनपछि बनेको जाइगोट (गर्भ) पाठेघरमा टाँसिन्छ (इन्प्लान्ट हुन्छ) र पाठेघरमा भ्रूणको रूपमा विकास हुन्छ। तर जाइगोट पाठेघरमा नटाँसिएर अन्य कुनै भागमा (विशेषतः अन्डवाहिनी नलीमा) टाँसिनु (इन्प्लान्ट हुनु) लाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ। समान्यतयः यस किसिमको समस्या एक प्रतिशत गर्भमा देखिन सक्छ र यो गम्भीर समस्या हो। पछिल्लो समयमा इक्टोपिक प्रेग्नेन्सी बढेको देखिन्छ। जोसुवा एच बारसर उनका समूहले २०१४ को जुलाईमा प्रकाशन गरेको एक अध्ययनले अमेरिकामा १–२ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले नौ प्रतिशत गर्भवतीको मृत्यु हुने गरेको देखाएको छ।
अहिलेको अवस्थामा इक्टोपिक प्रिग्नेन्सी हुनुको कारण सजिलै पत्ता लगाउन सकिँदैन।
मडु एई र उनका साथीले बेलायतको नर्थ टेनिसाइड जेनेरल अस्पतालमा गरेको अध्ययनले बेलायतमा १.१५ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले चार प्रतिशत गर्भवतीको मृत्यु हुने गरेको देखाएको छ। नेपालमा पनि यसबारे धेरै अध्ययन भएका छन्। डा. चन्दा कार्कीको समूहले बीएन्डबी अस्पतालमा सन् १९९७ देखि सन् २००५ सम्म आठ वर्ष लगाएर अस्पतालमा भर्ना गरिएका ४ हजार ८ सय ६० गर्भवतीमा गरिएको अध्ययनले १.८ प्रतिशत गर्भवतीमा इक्टोपिक प्रिग्नेन्सी भएको देखाएको थियो।
अहिलेको अवस्थामा पनि इक्टोपिक प्रिग्नेन्सी हुनुको कारण सजिलै पत्ता लगाउन सकिँदैन। अधिकांश अवस्थामा कारण पत्ता लाग्दैनन्। अन्डवाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु इक्टोपिक प्रेग्नेन्सीका कारण हुन सक्छ। पछिल्लो समयमा पीआईडी अर्थात् अन्डाशय, अन्डवाहिनी नली र पाठेघरको संक्रमण हुने क्रम बढ्दो छ। पीआईडी बढेसँगै इक्टोपिक प्रेग्नेन्सी पनि बढ्दै गएको देखिएको छ, त्यसैले पनि पीआईडी यसको प्रमुख कारण हो भन्दा फरक नपर्ला। सन् २००२–२००४ मा डा. पुनमको चिकित्सकीय समूहले बीपीके आईएचएस धरानमा गरेको अध्ययनले पनि पेल्भिक इन्फलामेट्ररी डिजिज (पीआईडी) भएका महिलामा इक्टोपिक भएको देखाएको छ।
महिलाको उमेर बढी हुनु, बाँझोपनका उपचार गरेर रहेको गर्भ, धूमपानको सेवन, धेरैपटक गर्भपतन गराएको तथा पहिले पनि इक्टोपिक भइसकेका महिलामा इक्टोपिक प्रेग्नेन्सी बढी हुने गरेको देखिए पनि यसै कारणले मात्र यो हुन्छ भन्न सकिन्न। कुनै समस्या नरहेको महिलामा पनि इक्टोपिक प्रेग्नेन्सी हुन सक्छ, त्यसैले गर्भ रहेको ६ देखि ८ हप्तामा परीक्षण गर्नु तथा अल्ट्रासाउन्ड (भिडियो एक्स रे) गर्नु बुद्धिमानी हुन्छ।
इक्टोपिक प्रिग्नेन्सी हुनेबित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ भन्ने छैन। तर ‘इक्टोपिक रप्चर’ अर्थात् त्यस्तो गर्भ फुटेर आएपछि शल्यक्रियाको विकल्प हुँदैन र समयमा शल्यक्रिया गरेर फुटेको ठाउँबाट हुने रक्तस्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ। तर यसरी इक्टोपिक रप्चर भइसकेपछि फुटेको ठाउँलाई नबाँधेसम्म रगत खेर गइरहन्छ। यसरी खेर गएको रगत पेटभित्र जम्मा हुन सक्ने वा योनिमार्गबाट बाहिर आउने हुन सक्छ। यस अवस्थामा तुरुन्त रगत दिन नसके र शल्यक्रिया गर्न नसके महिलालाई बचाउन सकिँदैन। तर इक्टोपिक प्रिग्नेन्सी फुट्नुअगाडि नै पत्ता लगाउन सकिएको अवस्थामा औषधिले पनि उपचार सम्भव हुन सक्छ। यस अवस्थामा बिरामीलाई भर्ना गरेर, आवश्यक परीक्षण गरेर गर्भ नष्ट हुने औषधि प्रयोग गरिन्छ। तर यस अवस्थामा ज्यादै न्यून संख्यामा बिरामी आउने गरेको पाइन्छ।
अधिकांश अवस्थामा इक्टोपिक फुटेर गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको पाइन्छ। इक्टोपिक प्रिग्नेन्सी फुटेपछि पेटभित्र नै पनि रगत जम्मा हुन सक्ने भएकाले योनिमार्गबाट धेरै रगत बगेको नहुन सक्छ। यस अवस्थामा अत्यधिक पेट दुख्नु, पेट फुलेको देखिनु, बिरामी पहेंलो हुँदै जानु तथा बिरामी सिकिस्त हुँदै जानु थप लक्षण हुन्। इक्टोपिक प्रिग्नेन्सीमा गर्भलाई कहिल्यै जोगाउन सकिँदैन तर समयमा उपचार गरे गर्भवतीलाई जोगाउन पनि सकिन्छ। फेरि गर्भ राख्न सक्ने पनि हुन सक्छ।
इक्टोपिक प्रिग्नेन्सी भयो भन्दैमा आत्तिहाल्नु हुँदैन। बरु हरेक गर्भ इक्टोपिक हुन सक्छ र सम्भव भएसम्म सावधानी अपनाउनुपर्छ। गर्भको योजना बनाउनुअगाडि नै चिकित्सकसँग परामर्श (प्रिकन्सेप्सनल काउन्सेलिङ) गर्नु, पीआईडीको उपचार गर्नु, धूमपान नगर्नुजस्ता चलाखीले इक्टोपिक प्रिग्नेन्सी हुनबाट केही हदसम्म बचाउन सक्छ भने गर्भ रहेको थाहा पाउनेबित्तिकै नियमित परीक्षण गर्नु तथा ६ देखि ८ हप्ताभित्र अल्ट्रासाउन्ड (भिडियो एक्स रे) गर्नाले इक्टोपिक प्रिग्नेन्सीको जटिलताबाट बचाउन सक्छ।
—साह मोरङ सहकारी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोगविशेषज्ञ हुन्।