कलंकी मालपोत ‘नमुना’ बनाइने

कलंकी मालपोत ‘नमुना’ बनाइने

काठमाडौं : कलंकी मालपोत कार्यालयलाई बिचौलिया र बदनाम सरकारी कार्यालयका रूपमा चिनिन्छ। सरकारले यतिबेला कार्यालयलाई नमुना घोषणा गर्ने तयारी गरिरहेको छ। यसै सिलसिलामा पूर्वाधार निरीक्षण गर्न आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल त्यहाँ पुगिन्। तर कर्मचारी र सेवाग्राहीको साटो बिचौलिया उनको अघिपछि लागे।

त्यतिमात्र होइन कार्यालय प्रमुखभन्दा मन्त्रीलाई ‘ब्रिफिङ’ गर्न बिचौलिया नै अघि सरे। उनीहरूले मन्त्रीलाई फटाफट प्रश्न गरे। मन्त्री अर्यालले उनीहरूलाई रोकेर पत्रकारसँग प्रश्न गर्न आग्रह गर्नु प¥यो तैपनि बिचौलियाहरू उनलाई नटेरी आक्रोशित मुद्रामा मन्त्रीलाई प्रश्न गरिरहे।

मन्त्री हुनासाथ वित्तिकै अर्यालले कार्यालय परिसरमा बिचौलिया प्रवेशमा रोक लगाउने घोषणा गरेकी थिइन्। उनले ११ बुँदे सर्कुलर गरेर मालपोतमा बिचौलिया पस्न प्रतिबन्ध लगाएको ७ महिना भए पनि उनीहरू कार्यालयका चोटाकोठा र कार्यालय प्रमुखकोमा नै भित्र बाहिर गरिरहेका हुन्छन्। कलंकीमा त बिचौलियाको संस्थाका रूपमा चिनिने नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको कार्यालय नै कार्यालय परिसरभित्रै छ।

निरीक्षणमा पुगेकी मन्त्री अर्यालले जस्तासुकै अवरोध आए पनि कलंकीबाटै नमुना कार्यालय बनाउन थाल्ने दाबी गरिन्। ‘कंलकीबाटै सुरुवात गर्दैछौं, यही हुन्छ पहिलो नमुना कार्यालय’, उनले भनिन्, ‘अब आधा घण्टाभित्र एउटा फाइल अर्को कोठामा पुग्नेछ, सेवाग्राहीले सहज, सजिलै सेवा पाउने छन्।’

‘चाकडि’ (चाबहिल, कलंकी र डिल्लीबजार) का रूपमा चर्चित मालपोत कलंकीपछि डिल्लीबजार र चाबहिल मालपोत कार्यालय नमुना बनाउने उनको दाबी छ। देशभरिकै मालपोत तथा नापी कार्यालयले घुसबिना काम नै नहुने गरी बदनामी कमाएका छन्। दिनहुँजसो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा ती कार्यालयका कर्मचारी पर्दै आएका छन्, उनीहरूविरुद्ध मुद्दा दर्ता भइरहेका छन्, तर सुध्रिएका छैनन्। मालपोत र नापीका विकृति र विसंगति हटाउने कसरत थालेको मन्त्री अर्यालले बताएकी छन्।

 मन्त्री कलंकी मालपोतमा पुग्दा बिचौलिया नै उनको अघिपछि लागेर कार्यालय प्रमुखभन्दा पहिले ‘ब्रिफिङ’ गर्न अघि सरे। उनीहरूले मन्त्रीलाई फटाफट प्रश्नसमेत सोधे।

मन्त्री अर्यालले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालय नमुना बनाउने तयारी सरकारको रहेको बताइन्। ‘असारभित्र उपत्यकाका सबै कार्यालय नमुना बनाउने लक्ष्य छ, त्यसपछि देशभरि लागू गर्छौं’, उनले भनिन्। उनले नमुना कार्यालय घोषणाको तयारीबारे बताइरहँदा कर्मचारी भने मलिन अनुहारमा देखिन्थे। कसैमा पनि उत्साह देखिँदैनथ्यो। उनले कर्मचारीको मनोबल उकास्ने र दक्ष बनाउँदै लगिने बताइन्। ‘अहिलेकै बाट हुने भयो भने तालिम दिन्छौं, दक्ष बनाउँछौ, होइन भने नयाँ नै पनि भर्ती गर्छौं’, उनले भनिन्।

उनले अनलाइन प्रणाली लागू भएका १९ कार्यालयमा राजस्व संकलन पनि बढेको जानकारी दिइन्। उनका अनुसार ०७३÷७४ मा ३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। ती कार्यालयबाट यस वर्ष अहिलेसम्म ४ अर्ब ४३ करोड राजस्व संकलन भएको छ।

कस्तो हुँदैछ मालपोत ?

डिजिटल प्रविधि उपयोग गरी घरबाटै जग्गाको विवरण हेर्ने सक्ने व्यवस्था गर्न लागेको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले जानकारी दिए। ‘पासवर्ड र युजर नेम लिएर आफ्नो जग्गा विवरण घरमा नै बसेर थाहा पाउन सकिन्छ’, उनले भने, ‘यसका लागि पब्लिक एक्सेस मोडलको विकास गर्दैछौं।’ उनले मालपोतको काम पूरै डिजिटलाइज हुने बताए।

भू–सेवा केन्द्र स्थापना गरिनेछ। उनका अनुसार सेवाग्राहीले जग्गाको कारोबारसम्बन्धी विवरण कम्प्युटरमा इन्ट्री गरेपछि सबमिसन नम्बरबाट तुरुन्तै भेरिफाई गर्न सक्नेछ। ‘अब धेरैबेर कुर्नु पर्ने छैन, जसले कार्यालयको भिड घटाउनेछ’, उनले भने। मालपोत कार्यालय कलंकीलाई डिजिटलाइज गर्न महत्त्वपूर्ण अभिलेख जग्गाधनी दर्ता स्रेस्ता, लिखत, मिसिललगायत स्क्यान भइरहेको छ।

एउटा सहायताकक्ष हुनेछ, जहाँबाट सेवाग्राहीले आफ्नो कामसँग सम्बन्धित विषयमा जानकारी पाउनेछन्। वर्कफ्लो चार्ट सबैले देख्ने ठाउँमा टाँसिनेछ। मुख्य कार्यकक्ष ओपन अफिस सिस्टमअनुसार हुनेछ। जसमा कार्यकक्ष सबैले देख्ने पारदर्शी हुनेछ। सर्भिस डेस्कको व्यवस्था गरिनेछ। सीसीटीभी जडान गरी विभाग तथा मन्त्रालयबाट सीधै अनुगमनको व्यवस्था मिलाइनेछ। टोकन प्रणाली अझै व्यवस्थित गरिनेछ। सेवाग्राहीमैत्री बनाइनेछ। प्रतीक्षालयको व्यवस्था गरी टेलिभिजन र अडियो भिजुअल डिस्प्ले बोर्ड जडान गरिनेछ।

नमुना कार्यालयको सम्पूर्ण कारोबार बैकिङ प्रणलीबाट गरिनुका साथै पूरै र्णरुपमा क्यासलेस बनाइने छ। स्तनपान कक्ष, महिलापुरुषको छुटै शौचालयको व्यवस्था गरिएको छ।

‘अब जग्गा लेनदेन गर्न कसैको सहयोग आवश्यक पर्ने छैन’, उनले भने, ‘तपाईं आफैं लिखत तयार गर्न चाहनुहुन्छ भने कुनै पनि मालपोत कार्यालय वा भूमि व्यवस्था तथा अभिलेख विभागको वेबसाइटमा जानुहोस् र सरलीकृत फारम डाउनलोड गरेर खाली ठाउँमा मात्र भरेर लिखत तयार पार्न सक्नु हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.