हेटौंडामा बर्डफ्लु लागेका ४१ हजार कुखुरा नष्ट
हेटौंडा : हेटौंडा उपहानगरपालिका वडा नम्बर ६ र ७ मा बर्डफ्लु भेटिएको कुखुराको खोर वरिपरि पालिएका ४१ हजार एकसय २५ कुखुरा नष्ट गरिएको छ। काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडा प्राविधिहरुले तीन दिन लगाएर खुकुरा खाल्डोमा पुरी नष्ट गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। सोमबार बिहान चार बजे खुकुरा नष्ट गरी सकिएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार कुखुरासँगै छ हजार आठसय ९० अण्डा, दुईसय ७८ केजी दाना नष्ट गरिएको छ। ६ र ७ नम्बर वडाका २५ वटा कुखुरा फर्मको कुखुरा र अण्डा नष्ट गरिएको हो। तीमध्ये १२ वटा फर्मको कुखुरा नष्ट गर्नुका साथै नमुना परीक्षणको लागि काठमाडौंस्थित परीक्षण केन्द्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।
उक्त नमुनाको रिपोर्ट आएपछि बर्डफ्लुको देखिएमा त्यस वरिपरिको समेत खुकुरा नष्ट गर्ने र नदेखिएमा कुखुरा बिक्री वितरण खुल्ला गर्ने उनले जानकारी दिए। बर्डफ्लु देखा परेपछि बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकको निर्णय अनुसार शनिबार बिहानबाट कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चिकित्सक डा. चेतनारायण खरेलका अनुसार कुखुरा नष्ट गर्न डाक्टरसहित एक दर्जन प्राविधिक कर्मचारी खटिएका थिए। जिल्ला स्थित क्षतिपूर्ति निर्धारण समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्डफ्लु प्रभावित क्षेत्रमा नष्ट गरिएको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति दिने निर्णय गरेको छ। निर्णय अनुसार प्रति कुखुरा लेयर्स नौ सय रुपैयाँ, बोईलर चार सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
उक्त क्षेत्रमा मात्र ५० किसानले सात करोडको लागतमा करिव एक लाख कुखुरा पालन गरेको मकवानपुर कुखुरा व्यवसायी संघले जनाएको छ। हेटौंडा ७ नागस्वतीका कुलप्रसाद चौलागाईंको कमर्शियल लेयर्स फर्ममा तीन साता अघि मरेको लेयर्स कुखुराको नमुना परीक्षणबाट बर्डफ्लु फेला परेपछि रोग नियन्त्रण गर्न प्रशासनले चौहदी तोकी कुखुरा, अण्डा र सुली अन्यत्र निकासीमा रोक लगाएको थियो।
चौलागाईंको कुखुरा फर्मको पूर्वमा वडा नम्बर ६ र ७ को सीमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना, उत्तरमा बनदेवी दुग्ध उत्पादक सहकारी संस्थाको भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना भित्रको कुखुरा, दाना, अण्डा र सुली अन्यत्र निकासी गर्न प्रशासनले निषेध गरेको छ।