उपाधि चुम्ने दाउमा शेर्पा र दाउफिन्स
इलाम : माई भ्याली गोल्डकप पाँचौं संस्करणको फाइनलमा उपाधि उचाल्ने रणनीतिमा दुवै टिमले सशक्त तयारी गरेको दाबी गरेका छन्।
फाइनलका लागि प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब काठमाडौं र क्यामरुनको दाउफिन्स फुटबल क्लब मंगलबार फाइनलमा भिड्दै छन्। दाउफिन्स सशक्त रूपमा उत्रने तयारीमा रहेको छ। दाउफिन्सले यो सिजन नेपालमा तीन उपाधि हात पारेको छ।
दाउफिन्सका मेनेजर आशिक थापामगरले इलामका दर्शकले अपेक्षा गरेको भन्दा पनि राम्रो खेल प्रस्तुत गर्ने बताए। जारी सिजनका आठ प्रतियोगितामा सहभागिता जनाएको दाउफिन्सले पोखरा कप, बूढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो।
बलिया र अग्ला कदका अफ्रिकी खेलाडीहरू नेपाली टिमका लागि चुनौती बनेका थिए।
हिमालयन शेर्पा पनि जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्रीस्टार क्लबलाई पराजित गरेर अगाडि बढेको छ। शेर्पाका प्रशिक्षक बिजेन्द्र पुडासैनीले अघिल्ला खेलभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्ने तयारीमा रहेको बताए।
हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। यस संस्करणमा फाइनलमा भिडने टोली नयाँ हुन्।
सिजनमा दोस्रो विशाल मेमोरियल गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो। पोखरा कपमा अर्को विभागीय टोली एपीएफसँग २-१ ले पराजित हुन पुग्यो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले दर्शकलाई स्तरीय खेल देखाउने प्रतिबद्धता पनि जनाए। फागुन २६ देखि सुरु भएको माई भ्याली गोल्डकपमा १० टोली सहभागी थिए। प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छ।