युद्धस्थलमा बुद्ध
रुकुमपूर्व : रुकुमपूर्वको भुमे गाउँपालिकामा पर्छ— महत गाउँ। द्वन्द्वकालमा तत्कालीन माओवादी र राज्यपक्षबीच सशस्त्र युद्ध हुँदा यो गाउँपालिकाले ठूलो जनधनको क्षति बेहो¥यो। पटकपटक युद्ध भए। राज्य र माओवादी पक्षबाट गरी ५८ जनाको ज्यानै गयो। कति मानिस अंगभंग पनि भए।
युद्ध नदोहोरियोस् भन्ने चाहन्छन् गाउँलेहरू। त्यसैले युद्धका घाउ बिर्साउन र ज्यान गुमाउनेको सम्झनामा यहाँ युद्ध फिचर र शान्ति स्मारक निर्माण गरिएको छ। २०५६ साल असोज ४ गते महत प्रहरी चौकीमा माओवादीले आक्रमण गरी तत्कालीन डीएसपी ठूले राईलाई अपहरण गरेको भोलिपल्ट गाउँमा प्रहरी पसेर दुई जना सर्वसाधारणको हत्या गरेको थियो। त्यसको केही दिनपछि असोज ३० गते गाउँकै सात जनालाई गिरफ्तार गरी नजिकैको जंगलमा लगेर छ जनाको हत्या गरिएको थियो।
२०६० साल असोज ५ गते प्रहरीले गाउँ घेरा हालेर १७ जना सर्वसाधारणको हत्या गरेको थियो। यसमध्ये ६ वर्षीय, १० वर्षीय र १४ वर्षीय नाबालकले मात्रै ज्यान गुमाएनन्, ७६ वर्षीय वृद्धको समेत हत्या भएको थियो। महत गाउँमा राज्यपक्षबाट ५२ र माओवादी पक्षबाट ६ जनाले ज्यान गुमाएका थिए।
रुकुमपूर्वको भुमे गाउँपालिकामा पर्ने महत गाउँ । तस्बिर : महेश केसी
सशस्त्र युद्धका कारण ठुलो पीडा बेहोरेका महतवासीले देश शान्ति प्रक्रियामा गएपछि केही राहत महसुस गरेका थिए। तर पनि त्यो पूरा हुन सकेको छैन। सामुन्ने आफन्तको हत्या भएको देखेका जनताले अहिले पनि ती घटनाको न्यायिक निरूपण खोजेका छन्। तिनै पीडा भुल्न उनीहरूले गाउँको बीचमा गौतम बुद्धको मूर्ति स्थापना गरेका छन्। बुद्धमूर्तिसँगै स्तम्भ बनाइएको छ। त्यसमा मृतकको नाम अंकित छ। ‘महतवासी शान्ति चाहन्छन् भन्ने सन्देश दिन र मृतकको सम्झनामा शान्ति स्मारक निर्माण गरिएको हो’, भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले भने।
गाउँको सिरानमा युद्ध फिचर निर्माण गरिएको छ। यसले युद्ध अब स्मरणमा मात्रै रहोस् भन्ने सन्देश दिने उनको भनाइ छ। युद्धस्मारक पार्क विकास गर्न कामलाई पनि अघि बढाइएको छ। युद्ध र शान्तिको स्मारक निर्माण गरिएको महत गाउँलाई युद्ध पर्यटन क्षेत्रका रूपमा चिनाउने लक्ष्य लिइएको उनले बताए। तत्कालीन महत गाविस, जिल्ला विकास समिति, संसद् विकास कोषलगायतको २५ लाख रुपैयाँ लागतमा शान्ति स्मारक निर्माण गरिएको हो। साथै गाउँपालिकाको २० लाख रुपैयाँ सहयोगमा युद्ध स्मारक फिचर निर्माण गरिएको हो।