प्रदूषणविरुद्ध चीनको युद्ध

प्रदूषणविरुद्ध चीनको युद्ध

 

कुनै बेला मन्दिरैमन्दिरको सहरले सुपरिचित नेपालको राजधानी काठमान्डुले हाल बर्खामा हिलोमान्डु र बाँकी मौसममा धुलोमान्डुको संज्ञा पाएको छ। यही रहरैरहरको काठमान्डु सहर अहिले प्रदूषणको कहरमा परेको छ। तापनि काठमान्डु र नेपाल विश्व पर्यटन बजारमा यसको गौरवमय इतिहासका कारण चर्चित नै छ र विभिन्न सूचकांकमा सूचीकृत भइ नै रहेको छ। तर भर्खरै जारी एउटा सूचीले भने सारा नेपालीलाई झस्काएको हुनुपर्छ। हुन त वातावरणविद्ले २० वर्षअघि नै युरोप तथा अमेरिकामा भइरहेका घटना यहाँ नदोहोरियून् भनेर घच्घच्याइरहेका थिए। त्यसकारण यस विषयबाट परिचित मात्रै होइन, सचेत छन् नागरिक र पीडित पनि छन्।

वातावरणसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्था ग्रिनपिस र आईक्यू एयर भिज्वलले काठमाडौंलाई प्रदूषित सहरको सूचीमा एक सयौं स्थानमा सूचीकृत गरेको छ। प्रदूषित राजधानी सहरमा सातौं र देशको सूचीमा नेपाल आठौं स्थानमा परेको छ।

सन् २०१५ देखि वायु प्रदूषणको सर्भेक्षण गर्दै आएको आईक्यू एयर भिज्वलले ग्रिनपिस दक्षिणपूर्व एसियासँग मिलेर सन् २०१८ विश्व वायु गुणस्तर रिपोर्ट हालै सार्वजनिक गरेको हो। विश्वका अधिकांश देशका तीन हजार सहरहरूमा गरिएको सर्भेक्षणअनुसार ६४ प्रतिशत सहरमा विश्व स्वास्थ्य संगठनले तोकेको पीएम २.५ को मापदण्ड नाघेको देखाइएको छ। रिपोर्टअनुसार दक्षिण एसियाका ९९ प्रतिशत सहरले उक्त मापदण्ड नाघेको छ।

विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर मापन सूचकांकको मानक स्तर २५ रहेको छ। संगठनका अनुसार प्रदूषणको कणको औसत सघनता जसलाई पीएम २.५ भनिन्छ, यसको मात्रा हावामा २५ माइक्रोग्राम प्रति क्युबिक मिटर या एक व्यासमा २.५ माइक्रोनभन्दा बढी हुनु हुँदैन। यो अति नै सूक्ष्म र घातक हुन्छ। यसको मात्रा सय माइक्रोग्राम भए वातावरण प्रदूषित बन्छ र तीन सय नाघ्यो भने सम्पूर्ण प्राणीलाई नै घातकसिद्ध हुन्छ।

उक्त रिपोर्टअनुसार राजधानी सहरको सूचीमा दिल्ली पहिलो, काठमाडौं सातौं र बेइजिङ आठौंमा छ। देशअनुसार जनघनत्वको आधारमा औसत रूपमा प्रदूषित देशमा बंगलादेश पहिलो, पाकिस्तान, भारत क्रमशः दोस्रो, तेस्रो र नेपाल आठौंमा रहेको छ भने चीन बाह्रौं स्थानमा छ। समग्र प्रदूषित सहरहरूको सूचीमा केही वर्षअघिसम्म विश्वकै प्रदूषित सहरका रूपमा चर्चा पाएको चीनको राजधानी बेइजिङ १२२ औं स्थानमा परेको छ र काठमाडौंले सय स्थानमा रहेर बेइजिङलाई उछिनेको छ।

सन् २०१३ मा बेइजिङ सहरलाई ५८ दिन अति प्रदूषणले छोपेको थियो भने सन् २०१८ मा ३६५ दिनमा मात्र १५ दिन प्रदूषित रह्यो। चीनले प्रदूषणको स्तर कम गर्नमा ठूलो उपलब्धि हासिल गरेको छ। तथ्यांक र विगत हेर्ने हो भने चीनले पछिल्ला वर्षहरूमा प्रदूषणमाथि विजय नै प्राप्त गरिसक्यो भन्दा फरक पर्दैन। हुन त जारी ५० सहरको सूचीमा छिमेकी आर्थिक शक्ति राष्ट्रहरू भारत र चीनकै सहरहरू आधाआधी छन्।

तापनि केही वर्षअघिसम्म चीनका झन्डै ९० प्रतिशत ठूला सहर अति प्रदूषित थिए। सन् २०१३ मा चीनले प्रदूषणबाट मुक्ति पाउन ‘प्रदूषणविरुद्ध युद्ध’ एक सुधार कार्यक्रम अघि सारेको थियो। चीनका अधिकांश सहरहरू प्रदूषित हावा फेर्न बाध्य थिए भने अहिले यो स्थितिमा व्यापक सुधार आएको छ। उक्त रिपोर्टअनुसार चिनियाँ सहरहरूले गत वर्ष २०१७ भन्दा १२ प्रतिशत सुधार गरेको छ।

चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ घोषणा गरेसँगै वातावरणलाई सीधै असर पार्ने खालका उद्योग हटाउन तथा कोइला खपत कम गर्न थालिसकेको छ। चालीस वर्षको तीव्र विकासमा विश्वमै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने राष्ट्र बनेको चीनले नवहरित नीति अपनाएर सन् २०३० सम्ममा सम्पूर्ण कार्बन उत्सर्जन संरचना तथा प्रणाली नै हटाउने योजना बनाएको छ।

गुणस्तरीय आर्थिक विकास र प्रदूषणमुक्त वातावरण सिर्जनाका पक्षधर चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङले हालै राष्ट्रिय जनकांग्रेसको अधिवेशनमा विभिन्न प्रान्तका प्रतिनिधिसँगको भेटवार्तामा स्थानीय सरकारलाई आर्थिक विकासको होडमा वातावरणलाई बलि नचढाउन आह्वान गरेका छन्।

हाल चीनमा नवहरित आर्थिक नीति अपनाउँदै प्रदूषण बढाउने उद्योगलाई वातावरणमैत्री प्रविधिको संरचनामा ढाल्ने काम भइरहेको छ जसकारण प्रदूषणको स्रोत औद्योगिक क्षेत्रभन्दा सवारी साधनले उत्सर्जन गर्ने प्रदूषित धुवाँ र ग्यास बनेको छ। आमजनतालाई गुणस्तरीय स्वस्थकर जीवनयापन गराउने हेतुले सन् २०२० सम्ममा ठूला सहरहरूमा इन्धनद्वारा सञ्चालित सार्वजनिक बस विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्ने काम पनि धमाधम भइरहेका छन्।

चीनले वायु प्रदूषणमाथि विजय पाउन कोइलाको प्रयोगमा सीमितता र क्रमिक रूपमा विस्थापनको नीति, औद्योगिक तथा कृषि क्षेत्रमा नवप्रविधि तथा वातावरणमैत्री प्रविधि भिœयाउने नीति, वातावरणमैत्री यन्त्र साधन तथा सवारी साधनको प्रयोगमा जोड र सहुलियतको नीति अवलम्बन गरेको छ। त्यसैगरी सवारी साधनको नियमित परीक्षण, वातावरण विशेष प्रहरीको व्यवस्था तथा वायु प्रदूषण मनिटर युनिटको स्थापना गरेको छ।

चीनले आफ्नो वायु गुणस्तर मानक स्तर ३५ माइक्रोग्राम तोकेको छ। हाल चीनमा केन्द्रीय सरकार (१५०० वटा) र स्थानीय सरकारले समग्रमा ५००० वटा वायु प्रदूषण मनिटर युनिट स्थापना गरेको छ। योसँगै प्रदूषणको मात्राअनुसार अलर्ट जारी गर्ने गरेको छ, जसबाट आम नागरिकलाई सचेतका साथै प्रदूषणमुक्त वातावरण बनाउन सहभागी गराइएको छ।

सन् २०१३ मा वायु प्रदूषणका लागि आकस्मिक प्रतिक्रिया लागू गरेपछि बेइजिङले पहिलोपटक सन् २०१५ डिसेम्बर ७ देखि ९ सम्म रेड अलर्ट जारी गरेको थियो। सतर्कताका लागि नीलो, पहेंलो, सुन्तला रङ र रातो गरी चार स्तरको श्वेत जारी गर्ने गरिएको छ र रातो अर्थात् रेडले सबैभन्दा खतरा जनाउँछ। रेड अलर्टसँगै बेइजिङ शिक्षा आयोगले तीन दिनका लागि प्राथमिक तथा माध्यमिक तहको विद्यालय बन्द गरेको थियो।

बाह्य गतिविधिसँग सम्बन्धित काम धेरै मात्रामा स्थगन गरेको थियो। त्यसैगरी जोरबिजोर गाडी सञ्चालनसँगै यस समयावधिका लागि बेइजिङसहित वरपरका सहरका २१ हजार वटा उच्च वायु प्रदूषक उद्योग तथा ३५ सयवटा निर्माण–स्थलहरू बन्द गराएको थियो। उक्त रेल अलर्ट र कारबाहीसँगै दुई दिनमा नै बेइजिङले नीलो, स्वच्छ आकाश पाएको थियो। हाल पनि वायु मापनअनुसार अलर्ट जारी गरिन्छ र बेइजिङ तथा अरू चिनियाँ सहरहरूले त्यहीअनुसार कारबाही चलाउँदै आएका छन्।

वायु प्रदूषणका कारण विश्वभरमा बर्सेनि करिब ७० लाखभन्दा बढीको अल्पायुमै मृत्यु हुने गरेको छ, जहाँ बालबालिकाको संख्या मात्र ६ लाख छ। प्राकृतिक भवितव्यबाहेक अहिले मानिसको दैनिक जीवनलाई सबैभन्दा प्रभावित बनाएको छ, वायु प्रदूषणले। यो संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य जोखिम बनिसकेको छ र यसको न्यूनीकरणबाट लाखौं मानिसको ध्यान बचाउन सकिनेछ।

ग्रिनपिसको उक्त रिपोर्टअनुसार भारतको गुडगाउँ सहर विश्वकै सबैभन्दा प्रदूषित सहरमा परेको छ। वायु प्रदूषणबाट दक्षिण एसिया अति प्रभावित छ। विश्वका मुख्य प्रदूषित सहरमा भारत, पाकिस्तान र बंगलादेशका सहरहरू परेका छन्। साथै नेपालमा पनि सहरीकरणको रफ्तारसँगै अन्य सहर पनि प्रदूषित बन्दै गएका छन्। तर यहाँ सोचनीय के छ भने नेपालका सहरहरूलाई प्रदूषित बनाउने मुख्य कारक भारतका प्रदूषित सहरहरू हुन सक्छन्।

यस्तै किसिमका आरोप–प्रत्यारोप विश्वमा एकले अर्को देशलाई लगाउँदै आएका पनि छन्। चीनको मरुभूमि र कारखानाबाट आएका अधिकांश धुलोका कणले दक्षिण कोरियाका सहरहरूको प्रदूषण बढाएको भन्ने आरोप लगाउने गरिएको छ। त्यसैगरी चीनले दक्षिण कोरियाबाट सांघाईमा प्रदूषित वायु बहने गरेको आरोप लगाउने गरेको छ। यो आरोप र प्रत्यारोपसँगै यी दुई देशबीच वायु प्रदूषणबाट छुटकारा पाउन कृृत्रिम वर्षालगायतका अरू परियोजनाका लागि अनेक संवार्ता जारी छ। यसर्थ नेपालले पनि यस विषयमा सोच्न आवश्यक छ।

मानिस स्वस्थ रहेमा समृद्धि अवश्य हुन्छ र सुस्वास्थ्य जीवनले हरदम खुसी र सुखी बनाउँछ। नेपालको विकास अवश्यम्भावी छ तर विकासमा हरित अर्थतन्त्रलाई जोड्नुपर्छ। कार्बन उत्सर्जनको खपत न्यूनीकरण गर्दै कम प्रदूषणयुक्त र स्वच्छ हरित ऊर्जा तथा प्रविधिलाई प्राथमिकतामा राखी काठमाडौंलगायत जनघनत्व भएका सहरहरूमा वायु मापन युनिटको स्थापना गरी जनतालाई आफैं सचेत बनाउनेतर्फ ध्यान दिइनुपर्छ।

हावालाई स्वच्छ बनाउने खालका बोटबिरुवा रोपेर, एयर फिल्टर उपकरण राखेर, बाहिर जाने बेला मास्क लगाउने र मापनले तीन सयभन्दा बढी देखाउँदा घरभित्रै बसेर विशेष सतर्कता अपनाउन सकिन्छ। तर प्रदूषणबाट बच्नुभन्दा प्रदूषण नै हुन नदिने उपाय अपनाउनुपर्छ। छिमेकी देशहरू भारतले हाल भोगिरहेको समस्या र चीनले युद्धस्तरमा चालेको कदमबाट सिक्नु जरुरी छ।

आर्थिक समृद्धितिर अग्रसर भइरहेको नेपालले दूरगामी दृष्टिको साथमा वायु प्रदूषणलाई ध्यानमा राखी हरित अर्थतन्त्र र वातावरण मैत्री प्रविधि अपनाएर अघि बढ्ने हो भने आमनेपालीबाट समृद्धि टाढा रहन्न। सुस्वास्थ्य नै समृद्धि हो र सुखको आधार।

–अलौकिक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.