कम्पनी रजिष्ट्रार प्रमुखसहित ५ जनालाई जरिवाना
विराटनगर : जिल्ला अदालत मोरङले कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंका प्रमुख भुवनहरि अर्यालसहित पाँचजनालाई जनही पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
करणसिंह बस्नेत वादी रहेको लेनदेन मुद्दामा कार्यालय प्रमुख अर्याल, कार्यालयका शाखा अधिकृत कृष्णप्रसाद पौडेल, कार्यालयका कानुन अधिकृत टोपबहादुर विष्ट र झापा गौरादह नगरपालिका–६ का शंकरप्रसाद संग्रौला एवं सुरेश भण्डारीलाई अदालतले जरिवानाको फैसला गरेको हो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजलासले अदालतको अवेहलना मुद्दामा उक्त फैसला सुनाएको हो ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलका अनुसार वादी करणसिंह बस्नेतको निवेदन अनुसार प्रतिवादी शंकरप्रसाद संग्रौलाको नाममा दर्ता रहेको कञ्चन जंघा फार्म हाउसको शेयर रोक्का राख्ने आदेश अदालतले गत असोज १० गते दिएको थियो । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का बस्नेत र संग्रौलाबीचको लेनदेन मुद्दामा वादीको निवेदन मागबमोजिम रोक्का राख्ने आदेश दिएर अदालतले रोक्काका लागि कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र समेत पठाएको पौडेलले बताए ।
उनका अनुसार कार्यालयले असोज १२ गते पत्र दर्ता गरे पनि उक्त शेयर अदालतको आदेश विपरित सुरेश भण्डारीको नाममा असोज १४ गते दाखिल खारेज (हस्तान्तरण) गरेको देखिएपछि अदालतले अवहेलना मुद्दामा जरिवानाको फैसला सुनाएको हो ।
अदालतबाट शेयर रोक्का राख्ने जानकारी भइसकेपछि आदेश विपरित कम्पनी रजिष्ट्रारको कार्यालयका प्रमुख र कर्मचारीको मिलेमतोमा शेयर बिक्री गरिएको ठहर अदालतले गरेको छ । नेपालको संविधानको धारा १२६ (२) मा मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णय सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि रोक्का राखेको शेयर बिक्री गरेर त्यसको उलंघन गरिएको अदालतको ठहर छ ।
सूचना अधिकारी गौतमका अनुसार प्रतिवादी शंकारप्रसाद संग्रौला र सुरेश भण्डारीबीच शेयर खरिद बिक्री गर्ने निर्णय गत साउन १ गते भएको भनिएकोमा उक्त शेयर खरिद गर्ने व्यक्तिले शेयर बिक्री कर्ताको नाममा दिएको ४५८८१२४ नम्बरको एकाउण्ट पेयी चेक भुक्तानी नभएको पाइएको थियो ।
‘सानिमा बैंकको माघ २२ गतेको पत्रबाट भण्डारीको खातामा एक करोड रुपैयाँ कुनै पनि मितिमा रहे भएको नदेखिएबाट प्रतिवादीहरुले गरेको शेयर खरिद बिक्रीको कारोबार वास्तविकतामा आधारित नभई प्रतिवादी शंकरप्रसाद संग्रौलाको नाममा रहेको कञ्चन जंघा फार्म हाउस एकल कम्पनी रहेको देखिएको छ,’ अदालतको फैसलामा भनिएको छ । फैसलामा प्रतिवादी शंकरप्रसाद संग्रौलाले जुनसुकै मिति कायम गरी निर्णय गर्न सक्ने हुँदा प्रतिवादीहरुबाट साउन १ गते भएको शेयर खरिद बिक्री गर्ने निर्णय अदालतको आदेशको अवज्ञा गर्ने उद्देश्यले गरेको देखिएको उल्लेख छ ।
‘प्रतिवादीहरुको अवास्तविक कारोबारलाई रोक्का राख्ने अदालतको आदेश प्राप्त भइसकेपछि सो आदेशको अवज्ञा गरी कम्पनी रजिष्ट्रारको कार्यालयका अन्य प्रतिवादीहरुले पनि उक्त शेयर दाखिल खारेज नामसारी गर्ने कार्य गरेकोले निजहरुले पनि अदालतको अवहेलना गरेको पुष्टि हुन आयो,’ फैसलामा भनिएको छ ।
अदालतले आदेशको अवज्ञा गर्ने उदेश्यले संग्रौला र भण्डारीबीच भएको शेयरको दाखिल खारेज दर्ता बदर गर्न पनि आदेश दिएको छ । उक्त शेयर संग्रौलाकै नाममा यथावत कायम राख्न र यस अघिको आदेश बमोजिम रोक्का यथावत राख्न पनि अदालतबाट आदेश भएको जानकारी सूचना अधिकारी गौतमले दिए ।