साफ महिला च्याम्पियनसिप : नेपालको लक्ष्य फाइनल
विराटनगर : पाँचौं साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु बुधबार हुँदै छन्। सहिद रंगशालामा हुने पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्दैछ। यसैगरी बुधबार नै बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुँदैछ। भारत यसअघिका चार वटै संस्करणको विजेता हो। यस्तै बंगलादेश साविक उपविजेता टोली हो।
नेपाल तेस्रो संस्करणसम्म उपविजेता बनेको थियो। श्रीलंकाको तेस्रो सेमिफाइनल यात्रा हो। साफमा नेपाल र श्रीलंकाबीच चौथो भेट हो। पहिलो साफमा दुवै टोलीको भेट भएको थिएन। श्रीलंकामै भएको दोस्रो साफमा नेपालले श्रीलंकालाई ३–० गोलले स्तब्ध बनाएको थियो। नेपालको जितमा कप्तान अनु लामा, दीपा अधिकारी र लक्ष्मी पौडेलले एकएक गोल गरेका थिए।
पाकिस्तानमा सम्पन्न तेस्रो साफमा एउटै समूहमा रहेका दुवै टोलीबीचको खेलमा पनि नेपालले श्रीलंकालाई ३–० गोलले नै पराजित गरेको थियो। नेपालका लागि अनु लामाले दुई र वर्तमान कप्तान नीरु थापाले एक गोल गरेका थिए। भारतमा सम्पन्न चौथो साफमा पनि नेपालले श्रीलंकालाई १–० गोलले पराजित गर्दा श्रीलंकन खेलाडी रुसानी गणवद्र्धनेले आत्मघाती गोल गरेकी थिइन्। अहिलेसम्म भएको तीन वटै भेटमा श्रीलंकालाई पराजित गर्दै आएकाले नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ। साफमा नेपालले अहिलेसम्म २१ खेल खेलेको छ। जसमा १७ मा जित निकाल्दा चार खेलमा भने हार बेहोरेको छ। चौथो संस्करणमा सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको नेपाली टोलीले ९७ गोल गर्दा १४ गोल खाएको छ।
यस्तै १६ खेल खेलेको श्रीलंकाले नौ हार, ६ जित र एक बराबरी खेलेको छ। १८ गोल गर्दा ३९ गोल खाएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रने बताए। ‘यसअघिका कुनै पनि प्रतिस्पर्धामा श्रीलंकाले नेपालमाथि दबाब सिर्जना गर्न सकेको छैन’ उनले भने ‘यस पटक पनि श्रीलंकालाई हराउँदै उपाधि नजिक पुग्ने लक्ष्यका साथ मैदान उत्रने छौं।’ उनले श्रीलंकाविरुद्धको खेल प्रयोगभन्दा पनि जितका लागि हुने बताए। टोलीकी कप्तान नीरु थापाले श्रीलंकाविरुद्ध टिमवर्कसहितको मेहनत आवश्यक रहेको बताइन्।
श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले नेपाली टोली प्राविधिक रुपमा मजवुत रहेका कारण त्यही अनुसारको रणनीति बनाएको बताए। ‘भारतसँग हामीले नराम्रो पराजय बेहोर्नुप¥यो’ उनले भने, ‘नेपालसँग भने जित निकालेर फाइनल प्रवेश गर्ने गरी मैदान उत्रने छौं।’
समूह ‘ए’ मा रहेको नेपालले भुटान र बंगलादेशलाई ३–० गोलले पराजित गरेको थियो। समूह ‘बी’ मा रहेको श्रीलंकाले माल्दिभ्सलाई २–० गोलले पराजित गर्दा भारतसँग ५–० गोलले पराजित भएको थियो। अर्को खेलमा बंगलादेशलाई चार पटकको विजेता भारतको चुनौती रहने छ। अहिलेसम्मको साफमा दुवै टोलीबीच पाँचपटक भिडन्त भइसकेको छ। जसमा भारतले चारपटक जित हात पारेको छ। एक खेल गोलरहित बराबरीमा टुँगिएको छ। गत संस्करणमा दुवै टोलीबीच दुई पटक भेट भएको थियो। समूह चरणमा बराबरी खेल खेलको बंगलादेश फाइनलमा भने ३–१ गोलले पराजित भएको थियो।
साफको पाँचौं संस्करणसम्म आइपुग्दा भारतले कुनै पनि खेलमा हार बेहोर्नु परेको छैन। हालसम्म २१ खेल खेलेको भारतले एक खेल मात्रै बराबरी खेलेको छ। बाँकी सबै खेलमा शतप्रतिशत जित निकालेको छ। भारतले १ सय ३१ गोल गर्दा पाँच गोल मात्रै खाएको छ।
बंगलादेशले हालसम्म १७ खेल खेलेमा आठमा जित, एक बराबरी र आठ खेलमा हार बेहोरेको छ। भारतकी प्रशिक्षक मेमोल रोकीले बंगलादेशमाथि जित निकाल्न समस्या नरहेको बताइन्। ‘यसअघि बंगलादेशसँग हार बेहोर्नु परेको छैन’ उनले भनिन्, ‘यस पटक पनि हाम्रा खेलाडी सबै हिसावबाट मजवुत रहेका छन्।’
बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले भारतको टोली मजबुत रहेका कारण त्यही हिसावको तयारी गरिएको बताए।