एसईई परीक्षा : काठमाडौंमा थपिए १४ केन्द्र
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि काठमाडौंमा १४ परीक्षा केन्द्र थपिएका छन्। चैत १० गते सुरु हुने परीक्षामा एउटा केन्द्रमा ५ सयभन्दा बढी परीक्षार्थी नराख्न केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए। उनका अनुसार १४ परीक्षा केन्द्र थप गरेर १ सय १२ बनाएको छ।
यसअघि एउटा केन्द्रमा ७ सयसम्म परीक्षार्थी राख्ने गरिएको थियो। ‘धेरै परीक्षार्थी भएर भद्रगोल हुन्थ्यो, केन्द्र थपेर परीक्षार्थी घटाएका छौं’, उनले भने, ‘पहिले एउटामा ६ सय ५० देखि ७ सयसम्म परीक्षार्थी हुन्थे। यो वर्ष सबैभन्दा बढी ५ सय १० छ, अधिकांशमा ४ सयको हाराहारीमा छन्।’ काठमाडौं जिल्लामा एसईईका परीक्षार्थी ३७ हजार १ सय २९ छन्। परीक्षामा ५ हजार जनशक्ति परिचालन भएको उनले जानकारी दिए।
उनले एसइई भइरहेका बेला सुरक्षाकर्मी कक्षाकोठामा जान नपाउने बताए। एउटा बेन्चमा २ जना मात्र विद्यार्थी राख्न सिट प्लानिङ गरिएको बताए। उनले एउटा विद्यालयका परीक्षार्थीलाई एउटै बेन्चमा नराख्नसमेत निर्देशन दिए। अनुगमनमा जानेले परीक्षामा फोटो खिच्न पाउने छैनन्।
शाखा अधिकृत शेषकान्त पौडेलले परीक्षामा सुधारको प्रयास भइरहेको बताए। उनले आचारसंहिता कडाइपूर्वक पालन गर्न सबै केन्द्राध्यक्षसँग अनुरोध गरे।
अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन
काठमाडौं जिल्लाको एसईई सञ्चालनको जिम्मा पाएको जिल्ला शिक्षा एवं समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले परीक्षामा अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन्। काठमाडौंका स्कुलले आफूलाई उत्कृष्ट बनाउन परीक्षामा चलखेल गर्ने गरेका छन्। यस्ता चलखेलप्रति इंगित गर्दै पौडेलले उनीहरूलाई सचेत गराएका हुन्। ‘काठमाडौंमा रोग नै छ’, काठमाडौंका केन्द्राध्यक्षको भेलामा उनले भने, ‘यहाँ पढाउनभन्दा स्कुलहरूको बढी ध्यान परीक्षामा जान्छ।’
उनले सबैभन्दा भद्रगोल एसईईमा हुने बताए। उनले केन्द्राध्यक्ष गैरजिम्मेवार, परीक्षा अमर्यादित र अव्यवस्थित हुनुका साथै उत्तरपुस्तिकासमेत
क्रमांक, उत्तरपुस्तिका नमिलाई, स्टिचसमेत नलगाइ पठाउने गरिएको उनले बताए। ‘मूल उत्तरपुस्तिका ५ कपि थप लेखिएको हुन्छ तर जाँच गर्दा एउटा मात्र कपि पाइन्छ,’ उनले भने, ‘काठमाडौंमा यति अव्यवस्थित पठाइएको हुन्छ कपी।’
इकाइ प्रमुख पौडेलले परीक्षणमा काठमाडौंका उत्तरपुस्तिकामा सबैभन्दा धेरै समस्या आफूले पाएको बताए। ‘मैले जिल्लामा दुई पटक काठमाडौंका कपि जाँचको मौका पाएँ, यहाँका कपि यस्तो जात्रा गरेर पठाएको थियो कि कुरै नगरौं,’ उनले भने।
उनले निजी विद्यालयले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगराउनसमेत चेतावनी दिए। उनले थोरै पैसा नतिरेकै भरमा परीक्षाबाट वञ्चित गर्नु आपराधिक काम भएको बताए। इकाइका परीक्षा शाखा प्रमुख फडिन्द्र घिमिरेले एसईईलाई व्यवस्थित र मर्यादित बनाउन सबै केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मीले जिम्मेवारी बोध गर्न आवश्यक भएको बताए।