पाठकसँग ६ घण्टा बयान

पाठकसँग ६ घण्टा बयान

 काठमाडौं : अख्तियार दुरुपयोग आयोगका पूर्वआयुक्त राजनारायण पाठकसँग अनुसन्धान अधिकृतले मंगलबार झन्डै ६ घण्टा बयान लिएका छन्। ७८ लाख घुस प्रकरणका तानिएका उनीसँग रकम लेनदेन र भिडियोका विषयमा बयान केन्द्रित गरिएको अख्तियार स्रोतले बतायो।

घुस प्रकरणका एक आरोपी नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने फरार भएपछि मुख्य आरोपी रहेका पाठकसँग बयान थालिएको हो। बयानमा उनले आफ्नो बचाउ गरेका छन्। पाठकलाई अख्तियारले अघोषित रूपमा ‘स्थानहद’ लगाएको छ। उनलाई शान्तिनगरस्थित घरमै सादा पोसाकका प्रहरी खटाएर स्थानहद तोकिएको हो। ‘उहाँलाई आयोगमा बोलाएर बयान सुरु भएको छ। बयानमा करिब ६–७ घण्टा सवालजवाफ भएको थियो’, अख्तियार स्रोतले अन्नपूर्णसँग भन्यो, ‘उहाँसँग लिखित रूपमा बन्द सवाल पनि गर्छाैं।’

पाठकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडा निगरानी गरिएको छ। अघोषित स्थानहद लगाइए पनि उनले अख्तियार निगरानीमा काठमाडौंमा भने हिँडडुल गर्न पाउनेछन्। लम्बोदरको फरारका सम्बन्धमा आयोगले अहिलेसम्म प्रतिक्रिया दिएको छैन। उनी फरार भएपछि प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अनुसन्धान टोली बोलाएर कडा निर्देशन दिएको अख्तियार स्रोतले बतायो।

अनुसन्धानको सिलसिलामा रहेकाले बोल्न नमिल्ने अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। ‘विस्तृत अनुसन्धानका धेरै पाटा हुन्छन्, यो काम अनुसन्धान अधिकृतले गर्छन्, हामीलाई थाहा हुँदैन पनि,’ उनले भने। अख्तियारले पाठकसहित उक्त प्रकरणमा मुछिएका सबैको निगरानी राख्न विमानस्थलमा खटिएको प्रहरी र अध्यागमन कार्यालय निर्देशन दिएको छ। सबै सीमा नाकामा पनि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ।

पाठकलाई अकुत सम्पत्तिमा पनि मुद्दा चलाइने तयारी भइरहेकाले उनी तथा परिवारको सम्पत्ति विवरण खोज्ने काम पनि भइरहेको छ। अख्तियारका सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली पाठकको हरेक क्रियाकलापको निगरानी गर्दै अनुसन्धानमा तल्लीन छ। अख्तियार जतिसक्दो छिटो पाठकको मुद्दा सम्बन्धमा सार्वजनिक गर्ने तयारीमा छ।

इन्जिनियरिङ कलेज विवाद मिलाउने भन्दै सञ्चालक न्यौपानेसँग पाठकले ७८ लाख घुस लिएका थिए। इन्जिनियरिङ कलेजमा लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच स्वामित्व विवाद थियो। भट्टराई समूहले दुई वर्षदेखि न्यौपाने समूहलाई कलेजमा प्रवेश गर्न दिएको छैन। अख्तियारले राजपा नेता ज्ञानेन्द्र झासँग बयान सकेको छ। उनीसँग लिखित बयान लिएको छ। ३८ र ४० लाख गरेर दुई पटक गरेर ७८ लाख बुझाएको स्विकारिसकेका छन्।

पाठकका भाइ एवं पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठकको बयान लिने काम सकिएको छ। शुभनारायणले पनि राजपा नेतासँग १५ लाख रकम लिएका थिए। उनले उक्त रकम फिर्ता दिएका छैनन्। राजपा नेता झा शुभनारायणमार्फत राजनारायणकहाँ पुगेका थिए। इन्जिनियरिङ कलेज खोल्ने विषयमा लम्बोदरसँग नजिकिएका झाले पाठकलाई घुस बुझाएका थिए। घुस लिएपछि पनि काम नगरेपछि झाले तत्कालीन माओवादी कार्यकर्ता ध्वजमान मोक्तानसँग मिलेर घुसकाण्डको स्टिङ अपरेसन गरेका थिए।

पाठकको स्टिङ अपरेसन गर्ने नेपाल प्रहरीका एसएसपी धीरप्रताप सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, इन्जिनियरिङ कलेजका अर्का सञ्चालक भट्टराई, उपराष्ट्रपति पुत्र दीपेश पुन, अखिलका नेता कैलाश मगर, कांग्रेस नेता सूर्यबहादुर केसीलगायतसँग बयान लिने अख्तियारको तयारी छ।

पाठक प्रकरणमा नाम आएका सबै निगरानीमा रहेको अख्तियार स्रोतले जनाएको छ। पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.