दुर्गममा आधुनिक ल्याब
भोजपुर : भोजपुरको दुर्गम भेग अन्नपूर्णमा आधुनिक प्रविधिको ल्याब सेवा सुरु भएको छ। दुर्गम भेगका सर्वसाधरणलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले टेम्के मैयुङ गाउँपालिकाको अन्नपूर्ण स्वास्थ्य चौकीमा पहिलोपटक ल्याब सेवा सञ्चालनमा ल्याइएको हो। गाउँपालिका क्षेत्रभर विजुलीको पहुँच पुगेकाले ल्याब सेवा सञ्चालनमा ल्याउन सहज भएको हो।
आधुनिक प्रविधीको ल्याब सेवा लिन गाउँपालिकाभित्रका साथै छिमेकी जिल्ला खोटाङबाट पनि सर्वसाधारण रगत, पिसाव, दिसा, खकार आदिको नमुना परीक्षण गर्न आउने गरेका छन्। यसअघि अन्नपूर्ण गाउँका सर्वसाधारणलाई सामान्य स्वास्थ्य जाँचका लागि पनि दुईदिन पैदल हिँडेर सदरमुकाम धाउनु पर्ने बाध्यता थियो।
गाउँमै ल्याव सेवा सुरु भएपछि समय र खर्च दुवै जोगिएको स्थानीय टेम्केमैयुङ गाउँपालिका छिनामखुका विसन राईले सुनाए। ‘गाउँमा कोही विरामी हुँदा सामान्य उपचार र जाँच गर्न सदरमुकाम जानुपथ्र्यो। सदरमुकाम गएर आउँदा कम्तिमा ३ हजार रुपैयाँ खर्च हुन्छ’, उनले भने, ‘अब त्यो समस्याबाट छुट्कारा पाइएको छ।’ ल्याबमा अहिले दैनिक २० देखि ४० जनाको हाराहारी सेवाग्राही आउने गरेका छन्।
टेम्केमैयुङ गाउँपालिकास्थित अन्नपूर्ण स्वास्थ्य चौकीमा परिक्षण गराउँदै सेवाग्राही। तस्बिर : प्रदीपचन्द्र राई
गाउँपालिकाका दुर्गम तिम्मा, खम्बुखा, पाङखाङ, रिमचिम, लेखर्क, गोगने, कोट, दलगाउँलगायत छिमेकी जिल्ला खोटाङबाट पनि सर्वसाधरण स्वास्थ्य जाँचका लागि आउने गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक दानप्रसाद राईले बताए। यस ल्याबबाट ४१ प्रकारका स्वास्थ्य परिक्षण हुने संयोजक राईले जानकारी दिए। नमुना परिक्षण रिपोर्टको आधारमा औषधी उपचार गर्दा विरामीको सहि उपचार हुने उनले बताए।
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर गाउँपालिकाले यस वर्षबाटै जनशक्ति र सामग्री गरि करिब ३५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए। ‘एकजना प्राविधिकलाई गाउँपालिकाले तलब खुवाउने गरि करारमा राखेका छौं। गाउँका विरामीलाई अब आधारभूत रोगको परीक्षण गर्न बाहिर जानु पर्दैन’, उनले भने।
अन्नपूर्ण स्वास्थ्य चौकीमा राज्यको तर्फबाट ल्याब सेवा तथा प्राविधिक कर्मचारीको दरबन्दी नभए पनि गाउँपालिकाको स्रोत परिचालन सेवा सुरु गरिएकाले स्थानीय खुशी भएका छन्।