सय वर्षमा फुर्तिलै
चितवन : रत्ननगर–१५ खैरेटीका मानबहादुर थापा क्षेत्री सय वर्षका भए । तर, उनी फुर्तिलै छन् । शारीरिक रूपमा हट्टाकट्टा देखिन्छन् । यो उमेरमा पनि उनी घरका काम गर्न भ्याउँछन् । उनको शारीरिक बनोट र काम गराइ हेर्दा सय वर्ष पुगेको भनेर पत्याउन गाह्रो पर्छ ।
बिहान उठेर उनी गाईलाई कुँडो दिन्छन् । पराल हाल्ने काम गर्छन् । अरूले ७५ वर्षको अनुमान गर्दा उनी फिस्स हाँस्छन् । ‘मलाई नचिन्नेले सय वर्षको भनेर पत्याउँदैनन्’, उनले भने, ‘शरीरमा अझै तागत छ अनि कसरी पत्याउँछन् त ? म आफैं दंग पर्छु ।’
उनी ठमठम हिँड्छन् । लौरोको सहारा चाहिँदैन । बिहान ५ बजे उठ्छन् । हरेक दिन नुहाएर पूजापाठ गरेपछि घरमा काम गर्न थाल्छन् । दिनहँु चण्डी र गीतापाठ उनको दैनिकी हो । चश्माको सहाराले अखबार पढ्छन् । खानपान र जीवनशैलीमा ध्यान दिन्छन् । दिनमा तीनपटक मह खान्छन् । एक किलो महले एक साता पु¥याउन गाह्रो हुन्छ । ‘हात दह्रो छ, अझै बल छ, अझै काम गर्न सक्छु’, उनले भने, ‘सबैले माया गरेका छन् । परिवारको खुसी देखेर दंग छु ।’
उनी १९७५ जेठमा जन्मिएका हुन् । उनका १२ जना छोराबुहारी र एक छोरी छन् । जेठा छोरा भीमबहादुर ७१ वर्षका भए । १३ नाति, ११ नातिना, नौ पनाति र ६ पनातिनी छन् । शाखा–सन्तानको संख्या ७५ पुग्यो । २६ वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । तर, परिवारले उनलाई एक्लोपन महसुस गराएन । उनीसँग नाति युवराज बस्दै आएका छन् । आफन्त र इष्टमित्र आइहन्छन् ।
उनलाई गत वर्षदेखि परिवारका सदस्यले घाँस काट्न दिएका छैनन् । घर वरिपरिको सामान्य काम गर्छन् । ‘आफूले घरको काम गरेर हजरबुवाले हामीलाई सामाजिक काममा पठाउनुहुन्थ्यो’, नातिनी बुहारी जमुनाले भनिन्, ‘यो उमेरमा पनि उहाँको सक्रियता हेर्दा हामी छक्क परेका छौं ।’
९० सालको भूकम्पका बेला चराउन लगेका गाईवस्तु सबै मरेको उनी सम्झिन्छन् । चितवनकै पहाडी क्षेत्र काउलेबाट उनी बसाइँ सरेर पिठुवा आएका हुन् । उनी अवकाशप्राप्त बेलायती गोर्खा सैनिक हुन् । ‘ज्योतिष जानेकाले पल्टनमा हुँदा मेरो सबै कुरा मिलायो । मलाई १ सय ६ वर्ष बाँच्छस् भनेको थियो’, उनले भने, ‘अझै ६ वर्ष सजिलै बाँच्छु झै लागेको छ ।’
उनीसँग आशीर्वाद थाप्न गाउँका सबै आउँछन् । सबैलाई चिरायुको आशिष दिन्छन् । दसंैमा टीका थाप्नेको ओइरो लाग्छ । गाउँमा सत्संग भवन बनाउने इच्छा छ । ‘ईश्वरले दिएको उमेर हो, यसमै खुसी छु’, उनले भने ।