फुङलिङका मेयरमाथि एमालेको कारवाही फिर्ता
ताप्लेजुङ : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई उनी सम्बद्ध पार्टीले गरेको कारवाही फुकुवा गरेको छ ।
निर्वाचन लगत्तै तत्कालिन एमाले जिल्ला कमिटीले गरेको कारवाही नेकपा प्रदेश कमिटीले फिर्ता गरेको हो । नेकपा प्रदेश इञ्चार्ज देवराज घिमिरेका अनुसार मंगलबारदेखि लागु हुनेगरी कारवाही फिर्ता गरिएको हो ।
तत्कालिन एमाले जिल्ला कमिटीले प्याकुरेललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । प्रदेश इञ्चार्ज घिमिरेका अनुसार अब उनलाई पार्टीले उचित जिम्मेवारी दिने छ । जिल्ला कमिटीको कारवाही सिफरिस प्रदेशले २०७४ माघमै स्थगित गरेको थियो ।
कारवाहीपछि प्याकुरेल भने पार्टीको कुनै पनि गतिविधिमा संलग्न थिएनन् । मेयर प्याकुरेलले भने न्याय पाएको प्रतिक्रिया दिएका छन् ।