आयुर्वेद अधिकृत र नगर विकास अध्यक्षको प्रमाणपत्र नक्कली
काठमाडौं : जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत (आठौं तह) मिथिलेशकुमार यादवविरुद्ध मुद्दा दायर गरिएको छ।
उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उनले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो।
नक्कली प्रमाणपत्र पेश गरेर सेवामा बहाल रही लाभ समेत लिएको पुष्टि भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
त्यसैगरी सुलीचौर नगर विकास समिति रोल्पाका तत्कालीन अध्यक्ष प्रकाश घर्तीमगरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ। अख्तियार गरेको अनुसन्धानमा उनको प्रमाण पत्र नक्कली पाइएको हो।
तत्कालीन अध्यक्ष घर्तीमगरले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त हाईस्कुल तहको नक्कली शैक्षिक प्रमाणपत्र लिएको खुलेको छ।
सोही प्रमाणपत्र पेश गरी सार्वजनिक पदमा बहाल भएको पुष्टि भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।