जोगिरा सरर ...

जोगिरा सरर ...

कोन ताल में ढोलक बाजे, कोन ताल में

मजिरा जाहि ताल में राधा नाचें, ताहि ताल में

मिरा जोगिरा सारारा... ...।

यस्तै–यस्तै लोकगीत र संस्कृतिको झलक दिने रङैरङको पर्व होली अर्थात् फागु पर्वले सबै नेपालीको घरआँगनमा रौनक छाइरहेको छ। वर्षभरिको शत्रुता, ईष्र्या, द्वेष, रिस राग, ठूलो र सानो जातबीचको खाडल मेटाएर सबैमा पारस्परिक प्रेम र स्नेह भर्ने उत्कृष्ट होलीपर्वलाई राजधानीवासी बिहीबार र उपत्यबाहिरकाले शुक्रबार उल्लासमय वातावरणमा मनाउँदैछन्। होली पर्वलाई साम्प्रदायिक सद्भावको प्रतीक पनि मानिन्छ। सबै जातजाति, धर्मावलम्बी र वर्णका मानिस समभावले सरिक हुन्छन्। त्यसबेला धनी र गरिबबीचको भेदभाव रहँदैन।

अधर्ममाथि धर्मको जित, असत्यमाथि सत्यको जित र कुकर्ममाथि सुकर्मको जितको प्रतीकका रूपमा मनाइने गरिन्छ। होलीलाई जातीय संरचना र संस्कृतिअनुसार विभिन्न नामबाट चिनिन्छ। होलीलाई भारतीय नागरिकले होली, नेपालीले फागु पूर्णिमा, भोजपुरिया, अवधी र मिथिलाञ्चलवासीले फगुवा अथवा ‘होरी’ भन्ने गर्छन्। कसैले होलिकोत्सव भने कसैले फाल्गुनोत्सव, मदनोत्सव, कामोत्सव, अंगोत्सव, मधुउत्सव र चैत्रोत्सव नामले पनि होलीलाई सम्बोधन गर्छन्।

व्यस्त, तनावग्रस्त तथा बोझिलो मनमा केही समय रमाइलो गर्न र खुसीपूर्वक बाँच्न यो पर्वले सिकाउँछ भन्छन् मैथिली संस्कृतिविद् डा. रामदयाल राकेश। उनका अनुसार पर्वको मूलमन्त्र नै पारस्परिक मैत्री सम्बन्ध हो। सालभरिका रिसराग, मतभिन्नता र आपसी मलोमालिन्य बिर्सेर आपसमा अँगालो (गलामा गला मिलाएर) मारेर यो पर्व मनाउने चलन छ। होलीको आरम्भ वसन्त पञ्चमीदेखि नै हुन्छ।

क्षणिक समयका लागि भए पनि मानिस आनन्द प्राप्त गर्न खोज्छ। वसन्त ऋतु उत्सर्गमा पुगेका बेला, बोटबिरुवामा रङीचंगी फूल फुलेका बेला, कोइलीले सुमधुर र सरस गीत गाइरहेको बेला मनाइने यो पर्वको मिथिलाञ्चलमा आफ्नै महत्त्व छ।

लंकाका राजा रावणमाथि विजय प्राप्तिपछि अयोध्या (अवध) का राजा राम (रघुवीर) ले बडो प्रेमभावका साथ यो पर्व अयोध्यामा मनाएका थिए। हिरण्यकशिपुले धर्मका प्रचारक आफ्ना अबोध छोरा प्रह्लादलाई मार्न रचेको प्रपञ्च निस्तेज भएपछि होली मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ। धार्मिक ग्रन्थका अनुसार प्रह्लाद भगवान् विष्णुका ठूला भक्त थिए। उनी चौबीसै घन्टा भगवान्कै पूजाअर्चनामा समय बिताउँथे। अधर्मको पक्षमा रहेका उनका पिता राजा हिरण्यकश्यिपुलाई छोराको यस्तो प्रवृति पटक्कै मन पर्दैन्थ्यो।

अबिर र रङ लगाउने बहानामा किशोरी तथा महिलाको संवेदनशील अंगमा स्पर्श गर्न खोज्ने अश्लील पक्षले फागु पर्वको गरिमा घटाउनेछ।

एक दिन उनले आफनो बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगोमा जिउँदो जलाउने प्रयाससमेत गरे। तर ईश्वरको कृपाका कारण प्रह्लाद आगोको रापमा जल्न सकेनन। बरु बहिनी होलिकाको जलेर मृत्यु भयो। अधर्ममाथि धर्मको जित भएको प्रतीकको रूपमा यसै समयदेखि होली मनाउन थालिएको हो। आगोको रापमा होलिकाको दहन भएकाले यो दिनलाई होलिका दहन पनि भन्ने गरिन्छ।

संस्कृतिविद् डा. राकेशका अनुसार यो पर्वलाई राधा र कृष्णको रासलीलासँग जोड्ने गरिएको छ। शृंगार रसकी धनी राधा र कृष्णले रङ र अबिर प्रयोग गरी यो पर्व मनाएका थिए। कृष्णले एउटा साधारण मायावी मानिससरह राधा र उनका सखीहरूसँग यो दिन सहवास एवं सुखसयलको आनन्द अनुभव गरेका थिए। यमुनाको तटमा कृष्णले राधा र गोपिनी समूहसँग होरी खेलेका थिए। हिमालयमा शिव र पार्वतीले होरी खेलेका थिए।

‘होरी’ मिथिलाञ्चलका गाउँगाउँमा एक महिनादेखि फोहोर संकलन गरी एक स्थानमा राखिन्छ। फागु पूर्णिमा अन्तिम रातको अन्तिम प्रहरमा संकलन गरिएको फोहोरको थुप्रोमा आगो लगाइन्छ। यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ। यसलाई पनि समभाव र सद्भावको सूचक मान्न सकिन्छ। सम्मतको प्रदक्षिणा गरेर त्यसको खरानी शरीरमा दली गायक दल बाजागाजाका साथ गाउँका घरदैलोमा लोकगीत गाउँदै घुम्छन्। घरदैलोमा आइपुगेका उनीहरूलाई रङ र अबिर लगाएर मालपुवा, हलुवा, पुरी, मासु, दहीबाडा, दही, अचार, मिठाई, पान र सुपारी खुवाएर स्वागत गरिन्छ। तर यो परम्परा लोपोन्मुख छ भन्छन् डा. राकेश।

समय फेरिएको छ। मादक पदार्थ सेवन गरी वर्षभरिको रिसराग निकाल्ने पर्व होली हो भन्न थालेका छन्। अहिले होली पर्वको मौलिक विशेषता र महत्त्व धरापमा परेको छ भन्छन् अर्का संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि। उनका अनुसार नयाँ पुस्ताले होली मनाउने नाममा भाँग, गाँजा, धतुरो र मादक पदार्थ सेवनलाई प्राथमिकता दिन थालेका छन।

नयाँ पुस्ताले रङमा छालालाई नकारात्मक असर पुर्‍याउने रासायनिक पदार्थ मिसाएर अश्लीलता देखाउन थालेका छन्। अबिर र रङ लगाउने बहानामा किशोरी तथा महिलाको संवेदनशील अंगमा स्पर्श गर्न खोज्ने अश्लील पक्षले फागु पर्वको गरिमा घटाउनेछ। यसलाई रोक्न समाजमा जनचेतना जगाउनुपर्ने संस्कृतिविद्हरूको धारणा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.