त्रिशूली 'बी'को सेयर खुला : प्रधानमन्त्री र उर्जामन्त्रीले किने १/१ हजार कित्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली ३ 'बि' जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन्। प्रधानमन्त्री ओलीले यस शेयरका लागि पहिलो आवेदनकर्ता हनुहुन्छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शेयर खरिद गरेका हुन्।यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन दिएकी छन्।उर्जामन्त्री वर्षमान पुन 'अनन्त' ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन दिएका छन्।
शेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले नयाँ अभ्यासको थालनी भएको बताए। प्रधानमन्त्री ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरिदका लागि आवेदन दिएको बताए।
प्रधानमन्त्री ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठूला आयोजना निर्माण गर्न सकिने बताए।'मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरेजस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठूला आयोजनाको निर्माण गर्न सक्छौं,' प्रधानमन्त्री ओलीले भने, 'यस्तो अभियान पर्यटन,कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ।'
वहालवाला तथा सेवा निवृत भइसकेका पूर्व शिक्षक,कर्मचारी तथा सुरक्षाकर्मीले पनि यस्ता आयोजना सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। 'यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो' प्रधानमन्त्री ओलीले भने, 'यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीलाई म आह्वान गर्दछु। यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पुर्याउन सकिन्छ।'