लिगलिग पालुङटार मेयर कप फुटबलको उपाधि गोरखालाई
गोरखा : गोरखाको पालुङ्टारमा सम्पन्न गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको उपाधि गोरखा नगरपालिकाले जितेको छ। पालुङटार हवाई मैदानमा बुधबार भएको फाइनलमा गैंडाकोट नगरपालिका नवलपुरलाई २–० गोलले पराजित गर्दै गोरखाले उपाधि जितेको हो।
खेलको दोस्रो हाफमा विकास गुरुङ र जमिर मास्केले गरेको एक/एक गोलले गोरखालाई उपाधि दिलायो। प्रतियोगिताको विजेता गोरखा नगरपालिकाले नगद दुई लाख ३४ हजार पाँच सय ६७ रुपैयाँ र उपविजेता गैडाकोटले एक लाख २३ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको सेमिफाइनल पुगेका देवचुली नगरपालिका नवलपुर र पुतलीबजार नगरपालिका स्याङ्जाले नगद ५४ हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोरखा नगरपालिकाका विवेक गुरुङ भए। उनले नगद १२ हजार रुपैयाँ र गोल्डेन बुट प्राप्त गरे। यस्तै गोरखाकै जमिर मास्के सर्वाधिक गोलकर्ता बने। प्रतियोगिताभर पाँच गोल गरेका उनले १० हजार रुपैयाँ पुरस्कार पाए। गोरखाका गोलकिपर सिलन थापा मगर उत्कृष्ट गोलरक्षक बन्दै १० हजार रुपैयाँ पुरस्कार पाए। उत्कृष्ट फरवार्ड गोरखाकै विकास गुरुङ, रक्षापंक्ति गैडाकोटका प्रवीण गुरुङ र उत्कृष्ट मिडफिल्डर रोशन दर्लामी मगर बने। उनीहरुले १० हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, उपमेयर पम्फा बसेल र प्रतियोगिता संयोजक वसन्त श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे। पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानीय तह सहभागी थिए।