पूर्व–पश्चिम राजमार्ग विस्तार
काठमाडौं : सरकारले पूर्व–पश्चिम राजमार्गको दुई सय ५६ किलोमिटर सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदाताको सूची तयार पारेको छ। सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले काँकडभित्ता–लौकी, कमला–डलकेबहर र पथलैयाँ–नारायणगढ सडक खण्डको डीपीआर तयार गर्ने परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको हो। काँकडभित्ता–लौकी १२० किलोमिटर, कमला–डलकेबहर ३० किलोमिटर, पथलैयाँ–नारायणगढ १०६ किलोमिटर छ।
पथलैयाँ ढलकेबर ९५ किलोमिटर जीर्ण र साँघुरो पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न आयोजनाले डीपीआर तयार गर्न आसयपत्र माग गरेको थियो। ५४ वटा परामर्शदाताले प्रस्ताव बुझाएको थिए। तीमध्ये ६ परामर्शदाताको सूची तयार गरी एसियाली विकास बैंक (एडीबी) मा प्रस्ताव पेस गरिएको आयोजनाको उपनिर्देशक सुरेश पौडेलले जानकारी दिए। ‘एडीबीको ऋण सहयोगमा पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न खोजिएको हो’, पौडेलले भने, ‘एडीबीबाट सैद्धान्तिक स्वीकृति लिन परामर्शदाताको सूची पठाएका छौं।
एडीबीको स्वीकृतिपछि डीपीआर तयार गर्ने परामर्शदाता छनोट गर्ने बाटो खुल्छ।’ एडीबीको ऋण सहयोगमा निर्माण हुने परियोजनामा सदस्य राष्ट्रका कम्पनीले मात्र सहभागी जनाउन पाउने प्रवधान छ। अन्तिम सूची तयार नभएकाले अहिले नै परामर्शदाताको नाम बताउन नसकिने उनले जानकारी दिए।
आशय व्यक्त गरेका परामर्शदाताको कार्य क्षमताको आधारमा सूची तयार पारिएको हो। प्रारम्भिक सूचिमा परेका परामर्शदातामध्ये एउटाले डीपीआरको जिम्मा पाउनेछ। डीपीआरको आधारमा पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गरिनेछ। २०१९ सालमा निर्माण गरिएको मुलुकको प्रमुख राजमार्ग दुई लेनको छ। सडकलाई स्तरोन्नति गरे चार लेनमा बढाउन लागिएको हो। यो सडक एडीबीको एक सय ८० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण गर्न लागिएको हो।
नेपाल सरकारको पनि ७६.४ मिलयन अमेरिकी डलरमा सडक विस्तार गर्न लागिएको हो। एसएएसईसी राजमार्ग स्तरोन्नति परियोजनाअन्तर्गत एडीबीको ऋण हो। कुल दुई सय ५६ मिलियन अमेरिकी डलरमा पूर्व–पश्चिम राजमार्गको तीन सय ७७ किलोमिटर सडक स्तरोन्नति हुँदै छ। यो परियोजनाअन्तर्गत कमला–कञ्चनपुर सडक खण्ड ८३ किलोमिटर र लौकी–कञ्चनपुर सडक खण्ड ३८ किलोमिटरको डीपीआर तयार भइसकेको छ। कमाल–कञ्चनपुरको सडक विस्तार गर्न बोलपत्र पनि आह्वान भइसकेको छ।
नेपाली निर्माण व्यवसायीले यो सडकको ठेक्का स्वदेशी व्यसायीलाई बाहिर राख्न खोजेको भन्दै उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। ठेकेदार छनोट गर्ने प्रक्रिया अवरोध भएको थियो। पौडेलका अनुसार अदालतले सडक विभागको पक्षमा फैसला सुनाएकाले मूल्यांकनको प्रक्रिया अघि बढेको बताए।। यो सडक खण्डलाई दुईवटा प्याकेजमा विभाजन गरी विस्तार गर्न खोजिएको छ। कञ्चनपुर–कुशाह खण्डको ४० किलोमिटर र कुशाह–कमला खण्डको ४७ किलोमिटर लामो छ। उक्त खण्डको दुवै प्याकेजमा १४÷१४ कम्पनीको प्रस्ताव परेको छ। आवेदक कम्पनी सबै चीनका हुन्। लौकी–कञ्चनपुरको सडक विस्तार गर्न बोलपत्र निकाल्ने तयारीमा निर्देशनालय छ।