मालपोत र नापी नसुध्रिएपछि मन्त्री निरास !
काठमाडौं : मालपोत र नापी नसुध्रिएकोमा विभागी मन्त्रीले निरासा प्रकट गरेकी छन्। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले मालपोत र नापीमा भएका भ्रष्टाचार, अनियमितता, अव्यवस्था बदनामी कमाएको भन्दै निरासा व्यक्त गरेकी हुन्। उनले भूमि व्यवस्थापनमा भएको अस्तव्यस्तताले आफूलाई गलाइसकेको बताइन्।
दोस्रो 'ग्लोबल सर्वे डे'को अवसरमा नापी विभाग भएको कार्यक्रममा मन्त्री आर्यालले भूमि व्यवस्थापनमा भएको भद्रगोललाई सुधार्न खोज्दा चारैतिरबाट बाधा व्यवधान सिर्जना भएको बताइन्। ‘म धेरै चिन्तित छु, यता हेर्यो उता हेर्यो सबै अस्त व्यस्त छ’, मन्त्री अर्यालले निरास हुँदै भनिन्, ‘सबैतिर बदनामी नै बदनामी छ, केही गरौ भन्नैलाई बाधा व्यवधान सिर्जना गरिन्छ।’
भूमी व्यवस्थापन सम्बन्धी कानुन बन्न लागेको बताउँदै उनले अब जग्गा प्रशासनमा सुधार आउन सक्ने बताइन्। जग्गा प्रशासन सम्बन्धी व्यक्तिले मन्त्रालयको नेतृत्व गर्नु पर्ने आवाज उठाएपछि सचिव गोपीनाथ मैनालीले कडा आपत्ती प्रकट गरे।
‘सचिव भनेको व्यवस्थापक हो, सचिव हुन त्यही क्षेत्रको हुनुपर्छ भन्ने छैन, उनले आक्रोश पोख्दै भने ।
यही अवसरमा नापी क्षेत्रका पाँच पुस्ताको प्यानल डिस्कसन भएको थियो। पहिलो पुस्ताबाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ, दोस्रो पुस्ताबाट पूर्वसचिव बाबुराम आचार्य, तेस्रो पुस्ताबाट नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्ट, चौथो पुस्ताबाट नापी इन्जिनियर भुवन रन्जित, पाँचौ पुस्ताको नापी प्रालिका सञ्चालक उत्तम पुडासैनीले प्यानल डिस्कसनमा भाग लिएका थिए। सबैले आफ्ना अनुभव सुनाए।