एसिया कप ह्विलचेयर क्रिकेट नेपालमा
काठमाडौं : एसिया कप ह्विलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ। आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।
चारदिने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो। हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ’, आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिमग्याल्जिन शेर्पाले भने, ‘ग्राउन्ड बुक गर्ने पक्षसँग हामीले कुरा गरिरहेका छौं। उहाँहरूको सकारात्मक जवाफ पाएका छौं।’
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी चार राष्ट्रको सहभागिता रहने छ। राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा सात खेल हुने छ। त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्।
अध्यक्ष शेर्पाले ह्विलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभई विश्वमै पहिलोपटक हुन लागेको बताए। संघकै आयोजनामा गत वर्ष त्रिवि क्रिकेट मैदानमै नेपाल, भारत र बंगलादेश सम्मिलित ह्विलचेयरकै त्रिकोणात्मक शृंखला भएको थियो। उक्त शृंखलाको उपाधि नेपालले जितेको थियो।
पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर ह्विलचेयर क्रिकेटका अध्यक्ष पाकिस्तानका मोहमद जिसान, उपाध्यक्ष भारतका हारुन रसिद लगायतको उपस्थिति थियो।
जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो। बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले जानकारी दिए।