विश्वकपपछि पहिलो पटक देशका लागि खेल्दै मेसी र रोनाल्डो
लिस्बन : वर्तमान विश्व फुटबलका दुई प्रभावशाली खेलाडी लियोनल मेसी र क्रिस्टियोनो रोनाल्डो रुसमा सम्पन्न विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीका लागि खेल्न मैदानमा ओर्लने भएका छन्। अर्जेन्टिनी स्टार मेसी र पोर्चुगिज स्टार रोनाल्डो शुक्रबार राति आ-आफ्नो टोलीको नेतृत्व गर्दै मैदानमा ओर्लने छन्।
सन् २०१८ मा रुसमा भएको विश्वकपपछि यी दुबै खेलाडीले राष्ट्रिय टोलीबाट खेलेका थिएनन्। मेसीको अर्जेन्टिनाले शुक्रबार राति भेनेजुएलासँग म्याड्रिडमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। रोनाल्डोको पोर्चुगलले पनि शुक्रबार राति नै घरेलु मैदानमा युक्रेनसँग आगामी युरो कप फुटबलको आफ्नो पहिलो छनोट खेल खेल्ने कार्यक्रम छ।
रुस विश्वकपपछि अर्जेन्टिना र पोर्चुगलले विभिन्न टोलीसँग ६ वटा अन्तर्राष्ट्रिय खेल खेले पनि यी दुबै खेलाडी आफ्नो टोलीमा थिएनन्। पोर्चुगल रोनाल्डोको अनुपस्थितिमा नै नेसन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको थियो।
३४ वर्षीय रोनाल्डोले देशका लागि एक सय ५४ खेल खेल्दै ८५ गोल गरेका छन्। युरो कप छनोटअन्तर्गत मार्च २५ तारिखमा हुने सर्बियाविरुद्घको खेलमा पनि रोनाल्डो राष्ट्रिय टोलीमा उपस्थित हुनेछन्। युरो कप छनोटमा पोर्चुगल समूह ‘बी’ मा परेको छ। यसैगरी ३१ वर्षीय मेसीले देशका लागि हालसम्म एक सय २८ खेल खेल्दै ६५ गोल गरेका छन्।