खाता सक्रिय गर्न निवेदन मात्र
काठमाडौं : निष्क्रिय बैंक खाता सक्रिय गर्न सम्बन्धित ग्राहकको निवेदनबाहेक अन्य कागजपत्र नचाहिने भएको छ । राष्ट्रबैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै पहिले पेस गरेको वैयक्तिक विवरणमा कुनै परिवर्तन नभएका ग्राहकका लागि निवेदन लिएर खाता सक्रिय गर्न निर्देशन दिएको हो ।
बचत खातामा तीन वर्षसम्म र कल तथा चल्ती खाता ६ महिनासम्म कारोबार नभए बैंक तथा वित्तीय संस्थाले खाता निष्क्रिय गरिदिन्छन् । यसरी निष्कृय भएका खातामा पनि बैंकहरुले बचतचाहिँ लिने गरेका छन् तर झिक्न भने खाता सक्रिय गर्नुपर्छ ।
खाता सक्रिय गर्दा बैंकले पुनः ग्राहक पहिचानसम्बन्धी फाराम भराउने तथा नागरिकता प्रतिलिपि, आफू बसोबास गर्ने घरको बिजुली या पानीको विल माग्ने गरेका थिए । ‘यसले गर्दा खाता सक्रिय गराउने प्रक्रिया अत्यन्त झन्झटिलो भएको भन्दै धेरै गुनासो आएकाले ग्राहकको निवेदन लिएर खाता सक्रिय गरिदिन निर्देशन दिएका छौं,’ राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने ।