दुई योजनाको शिलान्यास गर्न प्रधानमन्त्री रुपन्देहीमा
बुटवल : दुई आयोजनाको उद्घाटन र शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउँदैछन् । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान साढे ११ बजे बुटवल मण्डप अगाडि पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तार कार्यको शिलान्यास गर्ने योजना रहेको छ। यो राजमार्गलाई बुटवल–नारायणगढ खण्डमा चार र तीन लेनमा विस्तार गरिँदैछ ।
त्यस्तै प्रधानमन्त्री ओलीले प्रदेश स्तरीय सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । रुपन्देहीको तिलोत्तमामा मेडिकल बनाउन यसअघि नै प्रस्ताव भइ अध्ययनसमेत सम्पन्न भएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ बाट सांसद तथा निर्वाचित नेकपा महासचिव विष्णु पौडेलको पहलमा तिलोत्तमामा मेडिकल कलेज बनाउने घोषणा भएको थियो । सोही कार्यलयको उद्घाटनका लागि ओली रुपन्देही आउने भएका हुन् ।
ओलीले भैरहवास्थित गौतमबुद्ध बिमानस्थलको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भैरहवा विमानस्थल अवलोकन गरेर प्रधानमन्त्री बुटवलका दुई कार्यक्रममा सहभागी हुने बताए । ओली बिमानमार्फत भैरहवा ओर्लिनेछन् । उनलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गर्नेछन् ।