तलेजु मन्दिर पुनर्निर्माण उपभोक्ताबाटै
ललितपुर : पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको देगु तलेजु मन्दिर उपभोक्ता समितिले निर्माण गर्ने भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि मन्दिर पुनर्निर्माणको ठेक्का रद्ध गरिएको जानकारी दिए। देगु तलेजुलाई ललितपुरकै अग्लो र ठूलो मन्दिर मानिन्छ।
०७२ सालको भूकम्पले यो मन्दिरमा क्षति पुगेको छ। मेयर महर्जनले गत सोमबार प्रधानमन्त्रीलाई भेट गरी ठेक्का रद्द गर्ने विषयमा सहमति गरेका हुन्। ‘ठेक्का रद्द गर्ने विषयमा प्रधानमन्त्रीले स्वीकृत जनाउनु भएको छ’, महर्जनले भने, ‘अब पुनर्निर्माण प्राधिकरणबाट पत्र पाउन बाँकी छ। ’
ललितपुुर महानगरप्रमुख महर्जन सम्पदा पुनर्निर्माण ठेक्कामा दिन नहुने पक्षमा छन्। ‘ठेक्कामा कम मूल्य (लो बीड) मा काम गर्न आउनेलाई दिनुपर्ने बाध्यता छ’, उनले भने, ‘यो पद्दतिमा ठेकेदार मोटाउने तर गुणस्तरीय काम नहुने अवस्था रहन्छ। त्यसैले उपभोक्ता समितिबाट नै सम्पदा बन्नुपर्छ। ’ जापान सरकारले मन्दिर पुनर्निर्माणका लागि तेह्र करोड रुपैयाँ सहयोग गरेको छ।
ठेक्का रद्द गरिएको विषयमा दरबार हेरचाह तथा सम्पदा संरक्षण विभाग ललितपुरका प्रमुख काजी प्याकुरेलले अनविज्ञता प्रकट गरेका छन्। ‘ठेक्का रद्दबारे सरकारी तवरबाट कुनै जानकारी आएको छैन’ उनले अन्नपूर्णसँग भने। फागुन दोस्रो साता मन्दिर पुनर्निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो।
सम्पदा पुनर्निर्माण गर्दा टेन्डर गर्न नहुने भन्दै विरोध भएपनि प्याकुरेलले सरकारकै एउटा विभागले सरकारले नै बनाएको ऐन–नियमलाई अटेर गर्न नसक्ने प्रतिक्रिया दिए। यद्यपी ठेक्काको काम गुणस्तरीय नहुनेमा उनी पनि सहमत छन्।
काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) पुनर्निर्माणको काम दिन अढाइ वर्षदेखि प्रयास हुँदै आएको थियो। केभीपीटीलाई पाटन दरबार क्षेत्रमा राम्रो काम गर्ने निकायका रूपमा लिने गरिएको प्याकुरेलले बताए। ‘अर्थ मन्त्रालयले नेपाल सरकारको नाममा आएको यति ठूलो रकम एउटा संस्थालाई दिन नहुने भन्यो। केभीपीटीलाई कामको जिम्मा दिइएन’, प्याकुरेलले भने, ‘त्यसपछि बाध्य भएर टेन्डर निकालेका हौं। ’
प्रधानमन्त्रीको कार्यालय, पुनर्निर्माण प्राधिकरणसहितका निकायले ठेक्का रद्द गर्ने विषयमा सहमित जनाए आफूहरूलाई कुनै समस्या नहुने प्याकुरेलले बताए। ‘समुदायबाट काम गराउन हामी बाधक होइनांै’, उनले प्रष्टिकरण दिँदै भने।
पाटन दरबार क्षेत्रको अर्को महत्वपूर्ण भीमसेन मन्दिर पनि उपभोक्ता समितिले बनाउन सुरु गरिसकेको छ। भीमसेन मन्दिर पुननिर्माणका क्रममा स्काफोल्डिङको काम सुरु भइसकेको मयेर महर्जनले जानकारी दिए। ‘सरकारबाट एक रुपैयाँ पैसा नलिइ स्थानीयले आफ्नै लगानी तथा सुपरभिजनमा बनाउन लाएिको छ’, मेयर महजर्नले भने।
श्रीलंकाली सरकारको सहयोगमा बुङगमतिको रातो मच्छिन्द्रनाथको मन्दिर खराब ठेकेदारकै कारण काम अघि बढ्न नसकेको मेयर महर्जनले जनाए। ‘पुनर्निर्माणको काम अघि नबढेपछि श्रीलंकाली सरकार खुशी छैन’, महर्जनले भने, ‘ठेक्कामा काम लगाउँदा यो समस्या आयो। ’