साफ च्याम्पियनसिप फाइनल : पहिलो हाफमा नेपाल र भारतको १-१ बराबरी
विराटनगर : साफ महिला फुटबल च्याम्पियनसिप फाइनलको पहिलो हाफमा नेपाल र भारतले १-१ को बराबरी खेलेका छन्।
पहिलो हाफमा भारतले लिएको अग्रतालाई नेपालले बराबरी बनाएको हो। खेलको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो। भारतका लागि जालीमा छिपरले फ्रिकिकमार्फत् पहिलो गोल गरिन्।
नेपालले ३३ औं मिनेटमा १-१ को बराबरी गरेको थियो। ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १-१ बराबरी गरेकी हुन्।
नेपालको फाइनल यात्रा
भुटानविरुद्ध ३–० गोलले विजयी (समूहगत चरण)
बंगलादेशविरुद्ध ३–० गोलले विजयी (समूहगत चरण)
श्रीलंकाविरुद्ध ४–० गोलले विजयी (सेमिफाइनल)
भारतको फाइनल यात्रा
माल्दिभ्सविरुद्ध ६–० गोलले विजयी (समूहगत चरण)
श्रीलंकाविरुद्ध ५–० गोलले विजयी (समूहगत चरण)
बंगलादेशविरुद्ध ४–० गोलले विजयी (सेमिफाइनल)
प्लेयर टु वाच : सावित्रा भण्डारी (नेपाल)
सावित्रा भण्डारी नेपाली टोलीकी मुख्य स्ट्राइकर हुन्। पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा उनकै सशक्त प्रदर्शनमा नेपाली टोलीले सफलता हात पार्दै आएको छ। जारी साफ वुमन्स च्याम्पियनसिपमा समेत अग्रपंक्तिमा उनकै सशक्त प्रदर्शनमा नेपाल फाइनलसम्म पुगेको छ। शुक्रबार हुने फाइनलमा भारतलाई पराजित गर्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन उनले सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
बलसँगको तीव्र गति, विपक्षी रक्षापंक्तिलाई सहजै तोड्न सक्ने र लामो दूरीबाटै सशक्त प्रहार गर्न सक्ने क्षमताले उनलाई दक्षिण एसियाली क्षेत्रकै उत्कृष्ट स्ट्राइकरका रूपमा उभ्याएको छ। बुधबार भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० गोलले पराजित गर्दा एक गोल गरेकी सावित्राले राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने दोस्रा खेलाडी पूर्वकप्तान जमुना गुरुङको २५ गोलको कीर्तिमानसँग बराबरी गरेकी छन्। आफ्नो नयाँ कीर्तिमानसँगै हौसिएकी उनले फाइनलमा अझ सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ।