६० हजार घुससहित वैदेशिक रोजगार विभागमा नासु पक्राउ
काठमाडौं : वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुस सहित पक्राउ परेका छन् । विदेश जाने क्रममा लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीबाट घुस लिँदै गरेका अवस्थामा नासु सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
फुयाँलले सेवाग्राहीविरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
नासु फुयाँलले जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई बिहीबार घुस रकम राख्न दिएका थिए। आज (शुक्रबार) घुस बापतको उक्त रकम लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको हो ।
फुयाँल र खड्कालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीचोक स्थित सापकोटा मिठाई भण्डारबाट नियन्त्रणमा दिई अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए।