अनावश्यक गल्ती गर्दा खेल गुमायौं : प्रशिक्षक हरि खड्का
विराटनगर : प्रशिक्षक हरि खड्काले साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग आफ्नै कारणले पराजित भएको बताएका छन्।
खेलपछि नेपाली टोलीका प्रशिक्षक खड्काले आफ्नै केही अनावश्यक गल्तीका कारण पराजय बेहोर्नु परेको बताएका हुन्। ‘५०÷५० को खेल थियो। मैले पहिले नै पनि भनेको थिएँ, उनीहरू हामीभन्दा प्राविधिक रूपमा बलिया छन्। उनीहरूलाई जित्नका लागि हाम्रो एउटै मात्र हतियार फाइटिङ स्पिरिट हो। सायद आज हामी त्यही फाइटिङ स्पिरिटमा पनि पछि पर्यौं’, प्रशिक्षक खड्काले भने, ‘हामी आफैंले केही अनावश्यक गल्ती गर्दा खेल गुमायौं। उनीहरू आफैंले अवसर सिर्जना गरेरभन्दा पनि हाम्रो रक्षापंक्तिको पोजिसन बिग्रँदा उनीहरूले फाइदा उठाए। त्यसका बीच नेपाली खेलाडीले मेहनत गरे। पराजयमा खेलाडीलाई दोष दिन चाहन्नँ।’
भारतीय टोलीकी प्रशिक्षक मायामोल नेदुगदन रोक्कीले खेलाडीकै मेहनतका कारण उपाधि सम्भव भएको प्रतिक्रिया दिइन्।
‘खेलाडी फाइनलका लागि तयार थिए। यद्यपि विपक्षी टोलीका धेरै समर्थकका अगाडि खेल्नुपर्ने भएका कारण खेल बिग्रेला कि भन्ने डर थियो’, प्रशिक्षक रोक्कीले भनिन्, ‘यद्यपि खेलाडीले निकै मेहनत गरे। त्यसैमा जित सम्भव भयो।’