यु-१६ क्रिकेट खेलाडी छनोट सुरु
कलैया : थाइल्याण्डमा हुने १६ वर्ष मुनिको इष्टन रिजनल क्रिकेट प्रतियोगिताका लागि प्रदेश नम्बर २ मा खेलाडी छनोट सुरु भएको छ।
प्रदेशका आठ जिल्लाबाट छनोट भएका ४२ खेलाडीलाई तीन टिममा विभाजन गरी राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिको उपस्थितिमा शुक्रवारदेखि दुई दिने छनोट खेल सुरु भएको हो।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मदन भण्डारी स्पोर्टस एकेडेमी बाराको व्यवस्थापनमा कलैयास्थित सिद्धेश्वर खेल मैदानमा छनोट सुरु गरिएको हो।
कलैया उपमहानगरपालिकाका मेयर राजेश यादव र मदन भण्डारी स्पोर्टस् एकेडेमी बाराका संयोजक त्रिलोक शाह ठकुरीले छनौट खेलको उद्घाटन गरेका थिए।
शनिवारसम्म हुने खेलबाट १४ खेलाडी काठमाडौंका लागि छनोट हुनेछन्। सबै प्रदेशबाट प्रतिनिधित्व गरेर काठमाडौंमा पुग्ने खेलाडीमध्ये उत्कृष्ट खेलाडीले नेपालको यु-१६ टिममा स्थान बनाउने छन्।
छनोट खेलमा राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक उमेश उपाध्याय, नवीन सिंह, मदन भण्डारी एकेडेमीका केन्द्रीय सदस्य सुनिल पाल, बारा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाललगायत सहभागी थिए।