साविक विजेता पोर्चुगललाई पहिलो खेलमै धक्का
लिस्बन : साविक विजेता पोर्चुगलका लागि सन् २०२० मा आयोजना हुने युरो कप यात्राको सुरुवात निराशाजनक बनेको छ । समूह ‘बी’मा रहेको पोर्चुगल आफ्नो पहिलो छनोट खेलमा शनिबार बिहान युक्रेनसँग गोलरहित बराबरीमा रोकियो ।
आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा घरेलु मैदानमा ओर्लिएको पोर्चुगलले ५९ प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि गोल भने गर्न सकेन । रुसमा सम्पन्न विश्वकपछि रोनाल्डो पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
रुस विश्वकपपछि खेलिएको ६ वटा खेलमा रोनाल्डो राष्ट्रिय टोलीमा थिएनन् । पोर्चुगललाई उसैको मैदानमा बराबरीमा रोक्न युक्रेनका गोलरक्षक आन्द्रे प्यातोभले उत्कृष्ट प्रदर्शन गरे । उनले रोनाल्डोको दुईवटा शक्तिशाली प्रहारलाई विफल पारेका थिए ।
यसदेखि बाहेक पनि युक्रेनी गोलरक्षकले विपक्षीको थुप्रै प्रहारलाई कुशलतापूर्वक जोगाएका थिए । खेलका क्रममा पोर्चुगलका खेलाडीले विपक्षीको पोष्टमा १८ वटा कलात्मक प्रहार गरेका थिए । युक्रेनका खेलाडीले भने विपक्षीको पोष्टमा दुईवटा गतिला प्रहारमात्र गर्न सक्यो ।
पोर्चुगलले आफ्नो दोस्रो छनोट खेल आगामी सोमबार घरेलु मैदानमै सर्बियासँग खेल्ने छ । समूह ‘बी’ अन्तर्गतकै अर्को छनोट खेलमा लग्जम्बर्गले घरेलु मैदानको फाइदा उठाउँदै लिथुआनियालाई २—१ गोलले पराजित गर्यो । तालिकामा तीन अंकसहित लग्जम्बर्ग पहिलो, एक अंकसहित पोर्चुगल दोस्रो र एक अंकसहित युक्रेन तेस्रो स्थानमा छन् ।