चेकको पोष्टमा इङ्ल्यान्डको ५ गोल, स्टर्लिङको ह्याट्रिक
लन्डन : इङ्ल्यान्डले सन् २०२० मा आयोजना हुने युरो कप यात्राको सुखद सुरूवात गरेको छ । घरेलु मैदानमा शनिबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा इङ्ल्यान्डले चेक गणतन्त्रलाई ५-० गोलको फराकिलो अन्तरले हरायो ।
इङ्ल्यान्डको सजिलो जितमा अनुभवी खेलाडी रहिम स्टर्लिङले ह्याट्रिक गरे । जारी सिजनको युरो कप छनोटमा कुनै पनि खेलाडीले गरेको यो पहिलो ह्याट्रिक हो । वेम्बली रंगशालामा खेल सुरु भएको २४औं मिनेटमै स्टर्लिङले पहिलो गोल गरेका थिए ।
पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा सात मिनेटको बीचमा स्टर्लिङले लगातार दुई गोल थपे । ६२औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका स्टर्लिङले ६८औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि चेक गणतन्त्रका टोमस कालसबाट एउटा आत्मघाति गोल भएको थियो । समूह ‘ए’ कै अर्को छनोट खेलमा बुल्गेरियाले घरेलु मैदानमा मोन्टेनेग्रोलाई १-१ गोलको बराबरीमा रोक्यो । तीन अंकसहित इङ्ल्यान्ड पहिलो, एक अंकसहित मोन्टेनेग्रो दोस्रो र एक अंकसहित बुल्गेरिया तेस्रो स्थानमा छन् ।
विश्व कप र युरो कपलाई मिलाउँदा इङ्ल्यान्ड पछिल्ला ४० खेलमा अपराजित रहँदै आएको छ । सन् २००९ को अक्टोबरमा युक्रेनसँग १-० गोलले पराजित भएयता इङ्ल्यान्डले एउटा पनि छनोट खेल हारेको छैन । यसबीचमा खेलिएका ४० मध्ये ३१ खेलमा इङ्ल्यान्ड विजयी भएको छ भने नौ खेल बराबरीमा सकिएको छ ।
सन् २०१४ को अक्टोबरपछि वेम्बली रंगशालामा इङ्ल्यान्डले हासिल गरेको यो सबैभन्दा ठुलो अन्तरको जित हो । गारेथ साउथगेटको प्रशिक्षकत्वमा हालसम्म खेलिएको खेलमा स्टर्लिङले गरेको गोल सँख्या १६ पुगेको छ । कुनै पनि खेलाडीले उनीभन्दा बढी गोल गर्न सकेको छैन ।
यसैगरी चेक गणतन्त्रविरुद्घको खेलमा इङ्ल्यान्डले कलुम हड्सन ओडोईलाई पनि मैदानमा उतारेको थियो । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्ने इङ्ल्यान्डको सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् । शनिबार विहान मैदानमा ओर्लंदा उनको उमेर १८ वर्ष एक सय ३५ दिन थियो ।