महेन्द्र राजमार्ग अब ८ लेन, सडक ठेक्कामा नयाँ प्रयोग

महेन्द्र राजमार्ग अब ८ लेन, सडक ठेक्कामा नयाँ प्रयोग

बुटवल : मुलुकको लाइफलाइन मानिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नति सुरु गरिएको छ। पाँच दशकअघि निर्मित यस राजमार्ग विस्तार योजनाको प्रधानमन्त्री केपी ओलीले शुक्रबार बुटवलको रामनगरमा शिलान्यास गरेका हुन्।

पहिलो चरणमा बुटवल–नारायणगढ सडकखण्डलाई चार लेनको बनाइने भएको छ। सडक निर्माणपछि ठेकेदारले नै चार वर्ष मर्मतको जिम्मा लिने गरी नयाँ प्रणाली लागू गरिएको छ। यसअघि ठेकेदारले एक वर्ष मात्रै जिम्मेवारी लिने व्यवस्था थियो।

बुटवल–नारायणगढ खण्ड दुई भागमा विभाजन गरिएको छ। पहिलो खण्ड पूर्वीनवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म साढे ६४ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म साढे ४८ किमि छ । दाउन्ने क्षेत्र जटिल भएकाले दुई÷तीन लेनमा विस्तार गर्ने विभागको तयारी छ। सडक विस्तारपछि काठमाडौंसँगको दूरी घट्ने विश्वास गरिएको छ।

दाउन्ने पश्चिम र पूर्वएकैसाथ सडक निर्माण सुरु हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जानकारी दिए। ‘यसपटक सडक निर्माणमा नौलो अभ्यास अपनाएका छौं। यसले सडकको गुणस्तर सुधार हुने विश्वास लिएका छौं’, उनले भने।

पहिलो खण्ड नारायणगढसम्म ४२ महिनाभित्र पूरा गर्ने गरी बुटवलबाट काम थालिएको हो। अन्य खण्डको पनि डीपीआर बनाउन सुरु गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोग रहेको यस खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले पाएको छ। ४२ महिनाभित्र योजना निर्माण पूरा गरी कम्पनीले चार वर्ष मर्मतको जिम्मा पनि लिनेछ।

सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । एसियाली विकास बैंकले उपलब्ध गराएको ऋणको समयावधि ३२ वर्ष रहेको छ। कुल लागतको ८५ प्रतिशत एडीबी र १५ प्रतिशत सरकारको लगानी रहनेछ। एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो। सडक विस्तारमा सहरी र जंगल क्षेत्रलाई विभाजन गरिएको छ।

सहरी क्षेत्रमा सर्भिस लेनसहित आठ लेन हुनेछ भने अन्य क्षेत्रमा चार लेनको एक्प्रेस लाइन बन्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। ‘अघिल्लो पटक केपी ओली नेतृत्वको सरकारले सुरु गरेको योजना निर्माण चरणमा पुगेको हो’, उनले भने। आवादी नभएको स्थानमा चार र बस्ती भएको स्थानमा आठ लेनसहित पूर्वइलामदेखि पश्चिम कञ्चनपुरसम्म सडक विस्तार गर्ने सरकारको योजना छ।

२०८० सालसम्म सडक युग : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले अबको पाँच वर्ष सडक युग हुने बताएका छन्। सरकारले सडक निर्माणलाई पाँच वर्षभित्र सक्ने योजना बनाएकाले २०८० सालसम्म सडक युग र त्यसपछि सुरुङ निर्माण थालिने बताए। ‘२०७५ देखि २०८० सालसम्म सडक युग हुनेछ। त्यसपछि सुरुङ युग सुरु हुन्छ’, प्रधानमन्त्री ओलीले भने। उनले विकास निर्माणमा कच्चा पदार्थको अभाव हुन नदिन स्थानीय तहलाई निर्देशनसमेत दिए।

सरकारले महेन्द्र राजमार्गसँगै सिद्धार्थ राजमार्गको पनि स्तरोन्नति गर्ने र पर्यटकीय केन्द्र लुम्बिनीलाई पोखरासँग जोड्ने योजना बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिए। भैरहवा–लुम्बिनी, लुम्बिनी–तिलौराकोटसँगै अन्य सडक समेत एकैनासले विस्तार हुने बताए। ‘पूर्वाधार निर्माण र विकासका लागि अब हात थापिँदैन। हामी गौरव बोकेका पुर्खाका सन्तान हौं’, उनले भने, ‘सहयोग गर्न चाहनेले गर्न सक्छन्।’ नेपालका खानीको उत्खनन गरेर विकासको खर्च जुटाइने दाबी पनि गरे।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले महेन्द्र राजमार्गसँगै चार वर्षभित्र आठ हजार किलोमिटर सडक कालोपत्रे गरिने दाबी गरे। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडक विस्तारलाई दीर्घकालीन सोचअनुरूप अघि बढाउनुपर्ने बताए। रेलमार्ग विस्तारको काम नवलपरासीको बर्दघाटबाट सुरु गर्न मुख्यमन्त्री पोखरेलले संघीय सरकारलाई आग्रह गरे।

आँखा चिम्लेर विरोध नगर

प्रधानमन्त्री केपी ओलीले मुलुक बनाउने अभियानका विषयमा आँखा चिम्लेर टिप्पणी नगर्न आग्रह गरेका छन्। हरेक कुरालाई गलत भन्ने प्रवृत्तिले मुलुकलाई सही दिसामा लान नसक्ने तर्क गर्दै विपक्षी दललाई सरकारका हेरेर मात्रै टिप्पणी गर्न आग्रह गरे।

रुपन्देहीको तिलोत्तमामा प्रादेशिकस्तरको बुटवल मेडिकल कलेज परियोजना कार्यालय उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बाटो, एयरपोर्ट बनाएको विषयलाई समेत गतल भयो भन्नेजस्ता टिप्पणी छाड्न आग्रह गरे। ‘बाटो बनायो गलत ग¥यो, एयरपोर्ट बनायो गलत ग¥यो, सिके राउतलाई शान्ति प्रक्रियामा ल्यायो गलत भयो, विध्वंश मच्याउनेलाई प्रतिबन्ध लगायो गलत। यस्तो जात्रा पनि कहि हुन्छ’, उनले भने।

सरकारविरुद्ध गलत सन्देश फैलाउन केही बुद्धिजिबी र केही मिडिया परिचालित भएको प्रधानमन्त्री ओलीले आरोप लगाए। मुलुकमा विकास भइरहेका बेला गलत सन्देश फैलाउनेका पछि नलाग्न उनले नागरिकलाई आग्रह गरे। विकासको महाअभियान शुरु भएको भन्दै यसले समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छाड्ने दाबी गरे। आमनागरिकलाई स्वस्थ बनाउन रोग प्रतिरोधात्मक सचेतना अभियान चलाउने जानकारी दिँदै ओलीले सातै प्रदेशमा मेडिकल कलेज निर्माण हुने बताए। प्रदेशस्तरीय मेडिकल कलेजले दक्ष जनशक्ति उत्पादन र स्वस्थ नेपाल निर्माणमा सहयोग गर्ने दावी गरे।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले अघिल्लो पटक ओली सरकारको पालामा घोषणा गरिएका कार्यक्रमले सार्थकता पाउन थालेको दावी गर्दै मेडिकल कलेजले दक्ष जनशक्ति अभावलाई पूर्ति गर्ने बताए। शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव खगराज बरालले प्रदेश ५ को बुटवलजस्तै अन्य प्रदेशमा मेडिकल कलेज बन्ने जानकारी दिए।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले ठूला योजना धुमधामसँग शुरु हुने तर समयमै नसकिने समस्या रहेकाले आयोजना समयमै सक्न संघीय सरकारको ध्यानाकर्षण गराए। तिलोत्तमामा बन्न लागेको मेडिकल कलेजका लागि २०० बिगाहा जग्गा छुटइएको छ। प्रारम्भिक अध्ययन सकिए पनि मेडिकल कलेज कस्तो बन्ने भन्ने अझै तय भएको छैन।

विमानस्थलको निरीक्षण

प्रधानमन्त्री केपी ओलीले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निरीक्षण गरेका छन्। निर्माणाधिन टर्मिनल भवन र पार्किङ सानो भएकाले यसलाई बढाउन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएको नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए।

गौतमले विमानास्थल निर्माणको ६८ प्रतिशत काम पुरा भएको र भदौबाट अन्तर्राष्ट्रिय परिक्षण उडान हुने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.