भुइँचालो
देख्नु, निरन्तर देख्नु सपना-मेरो विश्वासयात्रा
म रंगीचंगी सपना देखिरहेको थिएँ
सपनामा उकालै÷उकालो उक्लिरहको थिएँ
छिचोलिरहेको थिएँ-अक्करको भीर
टाढा पुग्नुपर्ने यात्रीझैं भएर तरिरहेको थिएँ वेगवान् नदी
त्यो जंगल र गोरेटाहरू नाघेर म कुनै स्वतन्त्र पन्छी
आकाशको एकएक कुना
र, रूखको हाँगाहाँगा डुलिरहेको थिएँ
अचानक बिउँझिँदा रातमा
भुइँचालोले हल्लिरहको थियो-सम्पूर्ण जमिन
डग्मगाइरहेका थिए कोठाका सामान
र, थर्किरहेका थिए घरका भित्ताहरू
बाहिर कतै पखेटा फट्फटाएर उडेझैं लाग्थ्यो चरा
एकदम कराइरहेझैं लाग्थ्यो बालक र वृद्धहरू
फैलिरहेझैं लाग्थ्यो-आर्तनाद हावामा
त्यस्तो के भएको थियो-कोलाहल र भागदौड !
एकतमासको त्रासदीमा डुबेको थियो रात
उठेर पनि टेक्नै नसक्ने गरी हल्लिरहेको थियो आधार
बिहान—
आँगनमा निस्केर हेर्दा उस्तै थिए सबै चिज
एकाबिहानै काममा हिँडेका थिए मानिसहरू
नियमित थियो पत्रिका बोकेर साइकलमा आएको ठिटोको कर्म
ठीकठाक चलेको थियो दुनियाँ
उस्तै थिए आँगनका गमलाहरू
उस्तै थियो आकाश उक्लिरहेको हरियो दूबो
चर्केको जीवनघरका भित्ताहरू टाल्न
कुनै गुमनाम कालीगढ खोज्दै हिँडेको मानिस
-मै हुँला अब !
मनलाई केन्द्रबिन्दु बनाएर
रातभरि पटकपटक गइरहेको
त्यो भुइँचालो त आफैँभित्रको रहेछ।
(रमेश क्षितिजका ‘घर फर्किरहेको मानिस’, ‘अर्को साँझ पर्खेर साँझमा’, ‘आफँै आफ्नो साथी भएँ’ लगायतका कृति प्रकाशित छन्।)