मन्दिरतिर अनमोल

मन्दिरतिर अनमोल

नायक भएपछि फेसनेबल हुनुपर्छ। यो आवश्यकता मात्र होइन बाध्यता पनि हो। मेगास्टार अनमोल केसी भने यस्ता कुरामा खासै ध्यान दिँदैनन्। भन्छन्, ‘म फिल्म क्षेत्रमा नभएको भए फेसनको पछि दौडिन्नथेँ।’

उमेरले भर्खरै २४ टेकेका अनमोल बुवा भुवन केसी जति पनि रोमान्टिक छैनन्। बरु उनी भगवान्को दर्शन गर्न भन्दै मन्दिर धाउने गर्छन्। अनमोल हरेकपल्ट फरक कथावस्तुमा काम गर्न रुचाउँछन्। लभरबोइको ह्याङओभरबाट बाहिर निस्कन उनी नयाँ कथा छान्ने गरेको बताउँछन्।

‘जेरी’ फिल्मका रोमान्टिक हिरो अनमोल ‘कृ’मार्फत एक्सन ड्रामा लिएर दर्शकमाझ पुगेका थिए। यो उनको पाँचौँ फिल्म थियो। उनको छैटौं फिल्म ‘क्याप्टेन’मा उनी राष्ट्रिय खेलाडीका रूपमा दर्शकसामु आए। फुटबल खेलाडीको भूमिका सबैभन्दा उत्तम देखिएपछि क्याप्टेन फिल्म निर्माण गर्ने निर्णय भएको अनमोल बताउँछन्।

कहिल्यै फुटबल नखेलेका अनमोललाई फिल्ममा खेलाडी बन्न त्यति सहज थिएन। उनी भन्छन्, ‘क्याप्टेन बन्ने पक्का भएपछि नै मेरो काउन्टडाउन सुरु भएको थियो।’ फिल्ममा उनी ईशान खड्काको भूमिकामा थिए। यसका लागि १२ किलो वजन घटाएका थिए।

फुटबलर हरि खड्काले अनमोललाई फुटबल प्रशिक्षण गराएका थिए। तर फिल्मले खासै राम्रो रेस्पोन्स भने पाएन। एकपछि अर्को फिल्ममा आफैँलाई एक्सपेरिमेन्ट गर्दै आएका अनमोल रियल लाइफमा फरक अवतारमा देखिन्छन्। रियल लाइफमा उनी कस्ता छन् त ? उनका फ्यानहरूको यो ठूलो कौतूहलको विषय हो।

बुवा भुवन केसी आफूभन्दा पनि छोरो म्याचुअर्ड भएको बताउँछन्। उनी भन्छन्, ‘धेरै कुरामा अनमोल बुवा र मचाहिँ छोरा हुनु पथ्र्यो।’ बुवासँगै अनमोल थप्छन्, ‘मेरो रुममा खासै राम्रा लुगा हुन्नन् तर बुवाको रुममा सबै थरी लुगा छन्।’ बुवासँग एक्काइस वर्षे ठिटोले लगाउने लुगासमेत भएको उनी हाँस्दै सुनाउँछन्। ‘फेसनको मामलामा म बुवाभन्दा पछि नै छु’, उनले भने, ‘क्लब जानुभन्दा मन्दिर जान मन पर्छ।’

होस्टलबाट फिल्म नगरीको यात्रा गरेका अनमोलले आफ्नो लुक्स समय सुहाउँदो बनाउन दुई कानमा तीनवटा कालो टप लगाएका छन्। तर, यो फिल्म ‘ए मेरो हजुर ३’ लागि हो भन्छन् उनी। उक्त फिल्म चैत २९ गते रिलिज हुँदैछ।

उनको दायाँ हातमा ड्रायगनको ट्याटु छ। उनले उक्त ट्याटु प्लस टु सकिएपछि बनाएका हुन्। भन्छन्, ‘त्यो मैले रमाइलोका लागि बनाएको थिएँ।’ उनलाई अझै धेरै ट्याटु बनाउन रहर रहेछ तर फिल्ममा काम गर्ने भएकाले सम्भव भएन।

अनमोल आफ्नो लुक्समा खासै ध्यान नदिने बताउँछन्। भन्छन्, ‘म आफैँले अहिलेसम्म नयाँ लुक्स सोचेको छैन। फिल्मका लागि भने मेकअप आर्टिस्टसँग सल्लाह लिन्छु।’ अनमोल आफू जस्तो छन्, त्यसमै रमाउन चाहन्छन् रे। पेट लाग्यो भने पनि उनलाई मतलब हुँदैन रहेछ। भन्छन्, ‘बरु फिल्मका लागि फिट हुनु पर्‍यो भने मरिमेट्छु।’

अनमोल अचेल फुर्सदको समय नेपाली किताब र म्यागजिनहरू पढ्न थालेका छन्। उनलाई नेपाली भाषा सुधार्नु छ। शाकाहारी उनको मन पर्ने खाना दालभात हो रे। उनलाई भगवान् कृष्णको प्रार्थना गर्दै भजन जप्न मन पर्छ। उनले थपे, ‘म मन्दिर जान मन पराउँछु। ज्यादा समय मन्दिरमै बिताउन मन पराउँछु।’

अनमोलले एक दिन बिहानै आफू बनारस जान लागेको बाबालाई सुनाएछन्। त्यसपछि भुवनले सल्लाह दिएछन्— बनारस त म जान्छु, तिमी बनारसको साटो हङ्कङ, थाइल्यान्ड जाऊ। जवाफमा अनमोलले बुवालाई नै हङ्कङ जान भनेर आफू वनारस गएछन्। भुवन भन्छन्, ‘अनमोलले गंगामा डुबुल्की मारेछ र गंगाजल लिएर आएछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.