निर्वासन
(सन् १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्रियो र विश्व मानचित्रमा बंगलादेशको उदय भयो। भारत–पाक विभाजनको समयमा सन् १९४७ मा लगभग ३० प्रतिशतको जनसंख्या रहेको बंगाली हिन्दूहरूको संख्या यति बेला आठ प्रतिशतभन्दा कम छ। बाबरी मस्जिद विवाद होस् वा गुजरात दंगा भारतमा हुने साम्प्रदायिकताका बाछिटाहरू बंगलादेशसम्म पुग्छन् र बंगलादेश निरन्तर अस्थिर बन्छ। सन् १९३० देखि अहिलेसम्म सानाठूला सयैां यस्ता साम्प्रदायिक हिंसाहरू बंगलादेशले बेहोरिसकेको छ। धार्मिक अतिवादीहरूले अल्पसंख्यकमाथि गर्ने विभेद, अन्याय, बलात्कार, हिंसा, सम्पत्तिमाथिको अनधिकृत कब्जा र देश निकालासम्मका अमानवीय अपराध निरन्तर बढ्दो क्रममा छन्। अल्पसंख्यक माथि भइरहेको यही अमानवीय दमनका विषयमा सलाम आजादले थुप्रै पुस्तक लेखेका छन् जसमध्ये यो कथा, ‘निर्वासन’ उनको कथासंग्रह ‘देश विभाजनकी कहानियाँ’बाट लिइएको हो।)
सलाम आजाद
अशोक चक्रवर्तीसँग मेरो भेट यादवपुरमा भएको थियो। बांग्लादेश र पश्चिम बंगालका दुईजना विशिष्ट बंगाली विभूतिहरूलाई यादवपुर विश्वविद्यालयको तर्फबाट डिलिटको उपाधि दिने घोषणा गरिएको थियो। यसै सन्दर्भमा विश्वविद्यालयको ओपन एयर थिएटरमा उपाधि प्रदान गर्नका लागि समारोह आयोजना गरिएको थियो। यसै समारोहमा विश्वविद्यालयका छात्रछात्रालाई डिग्री पदक दिने कार्यक्रम पनि राखिएको थियो, जसले गर्दा दीक्षान्त समारोह केही लम्बिएको थियो। तर, थोरै समयको अन्तरालमा चुरोट पिउनुपर्ने एउटा नराम्रो बानी छ मेरो। यसमा मेरी श्रीमती सधैँ कचकच गरिरहन्छे। मलाई पनि नराम्रो लाग्छ, श्रीमतीलाई मन नपर्ने एउटा मात्रै यो नराम्रो काम गरिरहँदा।
दीक्षान्त समारोह मेरो लागि झन्झन् लम्बिँदै गएको थियो। हुँदाहुँदा मलाई चुरोटको लतले बेसरी अँठ्याउन थाल्यो। बाहिर आएर हेरेको त, तीनजना मान्छे सँगै उभिएर निकोटिन तान्दै धुवाँ उडाइरहेका रहेछन्। चुरोट पिउन मलाई त्यही ठाउँ उपयुक्त हुन्छजस्तो लाग्यो। खल्तीबाट चुरोट झिकेर एक स्वाँट तानेको मात्र के थिएँ कि ती तीनमध्ये एकजनाले मेरो हातमा रहेको चुरोटको बट्टालाई एकटक हेरिरहेको देखेँ। त्यो मान्छेले मलाई यसरी हेरिरहेको देखेर म केही हच्किएको थिएँ। म हच्किएको कुरा उसको आँखाबाट लुक्न सकेन। ओठमा हल्का मुस्कान लिएर उसले मलाई सोध्यो, “तपाईं बांग्लादेशबाट हो ? ”
–हजुर !
–बांग्लादेशको कुन ठाउँबाट ?
–ढाका !
–ढाका ? ढाकाको कुन ठाउँबाट ?
–बांग्लाबजार !
– श्रीदास लाइनको वरपरबाट ? !
–म श्रीदास लाइनमा नै बस्छु।
–तपाईँलाई ‘सृजनी प्रेस’ थाहा छ ?
मैले कुनै जवाफ दिइनँ। बरु सोधेँ, “किन र ? के कुरा छ ? ”
“ती बितेका कुरा सुनाउँदा के फाइदा छ र भाइसाहब !”
“तपाईँको घर पनि ढाकामा नै हो ? ”
“कुनै समयमा थियो। अहिले शरणार्थी छु। साठी साले साम्प्रदायिक दंगापछि मेरो बाबा आमा यहाँ आउनुभएको हो। रित्तो हात ! अहिलेसम्म यस ठाउँमा टाउको लुकाउने कुनै छत बनाउन सक्नुभएको छैन। शाहिदनगर कोलोनीमा बस्छु। यादवपुर स्टेसनबाट दस मिनेटको बाटो छ।”
“तपाईँ पनि दीक्षान्त समारोहमा भाग लिन आउनुभएको हो ? ”
“हो भन्नै पर्यो। टेलिभिजनमा काम गर्छु। क्यामेरा विभागमा। यो कार्यक्रम कभरेज गर्न आएको हुँ।”
अशोक चक्रवर्तीले आफ्नो भिजिटिङ कार्ड दिनुभयो। मैले कार्ड लिँदै गर्दा उहाँले मलाई सोध्नुभयो, म कुन होटेलमा बसेको छु। मैले पनि उहाँलाई होटेलको ठेगाना दिँदै फुर्सद भएमा आउनका लागि भनेँ।
कलकत्ताको व्यस्ततामा मैले अशोकलाई लगभग पूरै बिर्सिएको थिएँ। दुई दिनपछि उहाँको फोन आयो। अशोक चक्रवर्तीले मलाई भेट्न चाहेको बताउनुभयो। अर्को दिन बिहान नौ बजेको समयमा मैले उहाँलाई होटलमा आउनका लागि आमन्त्रित गरेँ।
अशोक चक्रवर्तीले मलाई भेट्नुभयो र कुनै भूमिका नबाँधेर मलाई आफ्नो घर लिन चाहनुभयो। उहाँको बिरामी बुवाले छोराको मुखबाट कलकत्तामा कुनै बांग्लादेशीसँग भेट भएको कुरा सुनेपछि मलाई भेटने इच्छा गर्नुभएको रहेछ। उहाँ मसँग कुरा गर्न चाहनुहुन्छ। अशोकबाट उहाँको बुवाको यस्तो इच्छाबारे थाहा पाएर म चकित परेँ।
कलेजको काम दबाबले गर्दा समय निकाल्न सम्भव भएन। अर्को दिन मात्रै उहाँको बुवालाई भेट्ने वाचा गर्दै उहाँलाई बिदा गर्नुपर्यो। जाने बेलामा उहाँले फेरि एकपटक विशेष रूपले मलाई आफ्नो घरमा आउन अनुरोध गर्नुभयो।
चौरंगीको एउटा होटेलमा म बसेको छु। यहाँबाट यादवपुर जान करिब तीस मिनेटभन्दा बढी समय लाग्दैन। यही विचारका साथ म होटेलबाट निस्केँ तर ट्याक्सी जाममा फसेपछि यादवपुर स्टेसन पुग्न एक घण्टा लाग्यो। स्टेसनबाहिर नै अशोकलाई देखेँ। कुनै पनि ठाउँमा सही समयमा पुग्न नसके मलाई साहै्र टेन्सन हुन्छ। कस्तो कस्तो उखरमाउलो हुन्छ। जबसम्म म ढिला हुनुको कारणबारे जानकारी दिन्नँ, मेरो मनलाई शान्ति हुन्न। अशोक चक्रवर्तीलाई पनि ढिला हुनुको कारण प्रस्ट्याउँदै थिएँ, उहाँले मलाई बिचैमा रोकेर भन्नुभयो, “यतिखेर त जाम हुन्छ नै, ‘पिक आवर’ हो। सबै मान्छे अफिसका लागि हतारिँदै जाँदै हुन्छन्।” अशोकले यति भनेपछि मेरो मनलाई राहत अनुभूति भयो।
यादवपुर स्टेसनबाट हामीहरू एउटा रिक्सामा सवार भयौं। यस भेगमा चल्ने रिक्सा ढाकामा चल्ने रिक्साजस्तै छ। कलकत्ताको हाते–रिक्सा जस्तो होइन। कलकत्तामा मान्छेले पैडल मार्दै चलाउने खालको रिक्सा पाइन्छ भनेको धेरै सुनेको थिएँ। यस्तो रिक्सामा बस्ने कहिलै मौका मिलेको छैन। आज यो रिक्सामा सवारी गर्दा साहैै्र राम्रो लागिरहेको छ। यस्तो लागिरहेको छ, मानौं म ढाकामै छु। रिक्सा सहिदनगर कोलोनीमा आएर रोकिएपछि एउटा पहेँलो रङको लामो घर देखाएर अशोकले बताउनुभयो, ‘यो घर हाम्रो हो।’ यस घरमा धेरै परिवारको बसोबास रहेछ। यस घरमा मात्रै होइन, पूरै सहिदनगर कोलोनीमा बसोबास गर्नेको पुख्र्यौली घर पूर्वी बंगाल अर्थात् अहिलेको बांग्लादेश हो। जसको जन्म यहाँ भएको छ, उनीहरूको मनमा पनि बांग्लादेशप्रति एउटा लगाव छ। पूर्वजहरूको घर, जमिन, जायजेथा आदिप्रति आकर्षण छ। आफ्नो मूलप्रति एउटा बिछट्टै आकर्षण छ।
अशोक चक्रवर्ती पत्नी र केटाकेटीहरूसँगै एउटा कोठामा बस्दा रहेछन्। यस घरको पश्चिमतिर एउटा बार्दली रहेछ। बार्दलीको एउटा भागमा बाँसको घेरा लगाएर प्लाइउड हालेर एउटा कोठाजस्तो निकालिएको छ। यहाँ एउटा सानो खाट राखेर अशोकको बुवालाई सुत्ने व्यवस्था मिलाइएको छ। अशोकसँग म सीधै उहाँको बुवाको कोठामा पसेँ। उहाँ पल्टिनुभएको थियो। मलाई देखेर उहाँ उठेर बस्न चाहनुभयो। मैले उठ्नु पर्दैन भनेँ तर म असफल रहेंँ, उहाँ उठेर बस्नुभयो। अशोकले उहाँलाई उठेर बस्न सघाउनुभयो। विवाहभन्दा पहिला यस कोठीमा अशोक बस्ने गर्नुहुन्थ्यो। त्यति बेला अशोककी आमा जीवित हुनुहुन्थ्यो। आमा बितेको डेढ वर्षपछि अशोकले बिहे गर्नुभएको हो। बुवालाई दमको रोग छ। दिनभरि लगभग सुतेरै समय बिताउनुहुन्छ। स्वास्थ्यमा थोरै सहज अनुभव हुँदा भने यसो उठेर वरपर हिँड्ने पनि गर्नुहुन्छ। अशोककी छोरीसँग मन भुलाउनुहुन्छ।
अशोकका बुवा परेश चक्रवर्ती। उहाँले कहिल्यै जागिरी खानुभएन। ढाकामा छँदा व्यापार गर्नुहुन्थ्यो। उहाँको एउटा प्रेस थियो। बांग्ला बजारबाट श्रीशदास लाइनमा मुखैनेर दाहिनेपट्टि परेश चक्रवर्तीको ‘सृजनी छापाखाना’ थियो। घरको अघिल्लो भागमा प्रेस थियो, पछाडि बस्ने घर। प्रेस भएको कोठासँगै सटेको एउटा ताडको रूख थियो। परेश बाबु जहाँनेर बस्नुहुन्थ्यो, त्यहाँबाट सजिलैसँग छोइन्थ्यो त्यो रूख।
यी सबै कुरा बताइरहँदा उहाँले मेरो नाम सोध्नुभयो। मैले मेरो नाम बताइसकेपछि उहाँले मेरो बुवाको नाम सोध्नुभयो। त्यही बेला उहाँको निधारमा एउटा मच्छर बसेको देखेर म मच्छर भगाउनतिर लागेँ। वास्तवमा बुवाको नाम भन्नु नपरोस् भनेर मैले मच्छर भगाउने बहाना गरेको हुँ। परेश चक्रवर्तीले यो कुरा बुझ्नुभयो वा भएन, मलाई थाहा छैन। तर त्यो बेला मभित्र ग्लानि र पश्चात्तापको भावनाले काम गरिरहेको थियो। यसबाट निस्कन मैले सोधेँ, “तपाईँ ढाकाबाट कहिले आउनुभयो ? ”
परेश बाबुले बताउनुभयो, “पैंसट्ठीको युद्धपछि। अब त्यो युद्धको विषयमा म के भनूँ ? ” त्यसपछि उहाँ केही पनि बोल्नुभएन। आँखा झुकाएर, टाउको निहुराएर बसिरहनुभयो। यसबीच मलाई पनि केही बोल्ने हिम्मत आएन। भित्रबाटै मलाई एक किसिमको अपराधबोधले जकडेको थियो। त्यहाँबाट म चाँडै भाग्न चाहन्थेँ, तर यो सम्भव भएन।
उहाँले टाउको उठाउनुभयो र मेरो आँखामा आँखा गाडेर गहिरो भावावेगमा भन्नुभयो, “बाबु माइन, मेरो घर नजिकै रहेको ताडको रूख छ छैन, मलाई थाहा पाउन साह्रै मन लागेको छ। मेरी श्रीमतीले दिनहुँ त्यस ताडको रूखमा सिन्दूरको टीका लगाउने गर्थिन्। धर्मकर्ममा मेरो कुनै चासो थिएन। त्यसैले उसले सिन्दूर लगाएको देखेर म उसको साह्रै खिसी गर्थेँ, उसको मजाक उडाउने गर्थेँ। ऊ साह्रै रिसाउँथी।
तिमीलाई यति दुःख दिएर मैले यही कारणले बोलाएको हुँ।” यति भनेर उहाँले आफ्नो सिरानीमुनिबाट एउटा सिन्दूरको बट्टा झिक्नुभयो मलाई देखाउँदै भन्नुभयो, “के यो सिन्दूरको बट्टा लगेर मेरो तर्फबाट त्यस ताडको रूखमा तीनपटक टीका लगाइदिन सक्छौ बाबु ? ” एउटा वृद्ध मान्छेको यस्तो अनुनय सुनेर मेरो मनमा साह्र्रै पीडा भइरहेको थियो। मैले उहाँको हातबाट सिन्दूरको बट्टा लिएँ र जतनसाथ आफ्नो झोलामा राखेँ। तर मैले केही भन्न सकिनँ। मैले त्यसरी जतनसाथ त्यो बट्टा आफ्नो झोलामा राखेको देख्दा उहाँलाई पक्कै सन्तोष लागेको हुनुपर्छ। आफ्नो मनको अन्तिम इच्छा पूरा भइरहेको देखेर परेशबाबु साह्रै खुसी हुनुभयो होला। त्यो सिन्दूरको बट्टालाई त्यसरी जतनसाथ राख्नु मेरो एउटा नाटक मात्र थियो।
यो सिन्दूरको बट्टालाई सायद मैले जतनका साथ राख्न सकूँला। बट्टा खोलेर सिन्दूर झिक्न सायद मेरो लागि सम्भव छैन। सिन्दूर झिकेर आखिर मैले टीका लगाउने कहाँ ? त्यो ताडको रूख त मेरो बुवाले धेरैअघि काटिसक्नुभएको छ। साठीको दशकमा चक्रवर्तीहरूले घर छोडेर गएको केही दिनपछि बुवाले ताडको त्यो रूख काटेर पूरै घरको कायाकल्प नै फेरिसक्नुभएको छ। बुवाले मलाई बताएअनुसार उहाँले त्यो घर एउटा हिन्दूसँग किन्नुभएको थियो। बुवाको त्यो कुरामा मलाई विश्वास गर्न कुनै गाह्रो भएको थिएन। तर, परेश चक्रवर्तीले मलाई बताउनुभयो कि उहाँले आफ्नो घर बेच्नुभएको थिएन। यस्तो कुनै सोच पनि थिएन उहाँको। आफ्नो जन्मभूमि छोडेर जाने विषयमा उहाँले कहिल्यै सोच्नुभएकै थिएन।
जुन दिन श्रीशदासको घर छोडेर जान उहाँ बाध्य हुनुभयो, त्यसको ठीक एक दिनपहिला ढाका सहरका हिन्दूहरूमाथि केही मान्छेले सांघातिक हमला गरेका थिए। नवाबपुरमा हमला भएको केही घण्टापछि उहाँ आफ्नो छिमेकी मोहसिन खानकहाँ सल्लाह लिन जानुभयो, कि यस्तो स्थितिमा उहाँले के गर्नु उचित हुन्छ। मोहसिन खानको मुस्लिम नेताहरूसँग राम्रो सम्पर्क थियो। मोहसिनले उहाँलाई सल्लाह दिनुभएछ-तत्कालको परिस्थति सामान्य हुन्जेलसम्म आफ्नो जायजेथा, घर, प्रेस आदि उहाँको जिम्मेवारीमा छोडेर आफ्नो परिवारलाई लिएर कतै सुरक्षित ठाउँमा जानु राम्रो होला।
परेशबाबु आफ्नो शक्तिशाली छिमेकीको सल्लाहअनुसार आफ्नो प्रेस र घर मोहसिन खानको जिम्मामा दिएर घर र प्रेसमा ताल्चा झुन्ड्याएर केही दिनका लागि मामाघर विक्रमपुर जानुभयो। जानुभन्दा पहिला मोहसिन खानकहाँ उहाँले आफ्नो घरप्रेसको चाबी छोड्नुभएको थियो।
ढाकाको अवस्था केही सुध्रिएपछि उहाँ बांग्लाबजारको श्रीशदास लाइनमा रहेको आफ्नो घर फर्किनुभयो। आफ्नो घरनजिकै पुग्दा उहाँलाई अचम्भ लाग्यो। प्रेसको ढोका खुलेको थियो। भित्र कम्पोजिङ र छपाइको काम चलिरहेको थियो। घरको ढोका पनि उघारै थियो। भित्र मोहसिन साहब कुवानजिकै बसेर मुख धोइरहेका थिए। मोहसिन साहबलाई केही पनि नभनेर उहाँ सीधै आफ्नो प्रेसमा जानुभयो। एक जना कम्पोजिटर अलाउद्दिनले सोध्यो, “बाबैलाई भारतमा मन लागेन कि के हो ? ” उसको प्रश्नको कुनै उत्तर नदिएर उहाँ दौडिँदै भित्र मोहसिनसामु जानुभयो। परेश चक्रवर्तीलाई देखेर मोहसिन खानले अन्तिम कुल्ला गर्दै भने, “तिमी ? ”
त्यो दिन पहिलोपटक उहाँले परेश बाबुलाई ‘तपाइँ’ नभनेर ‘तिमी’ भनी सम्बोधन गर्नुभएको थियो। परेश चक्रवर्ती साह्रै सहज ढंगमा बोल्नुभयो, “चाबी लिन तपार्इँको घर जाँदै थिएँ।” मोहसिन खान साह्रै आगो हुनुभयो परेश चक्रवर्तीको कुरा सुनेर।
“चाबी ? कस्तो , केको चाबी ? ”
“आफ्नो घर र प्रेसको चाबी।”
“आफ्नो जायजेथा सम्पत्ति मलाई बेचेर तिमी यहाँबाट बसाइँ सरेका होइनौ ? ”
“तपार्इँ यो के भनिरहनुभएको छ ? ”
“सबै कागजातमा तिमी आपैmँले हस्ताक्षर गरेर मलाई बेचेर गएको कुरा भूmठो हो ? ”
परेश चक्रवर्तीले अब कुरा अगाडि बढाउनुभएन बरु मोहसिन खानको खुट्टा छुन पुग्नुभयो।
“यी अधर्मी पापी हरामीहरूले छोइदिएर मेरो अजू (धर्म) नष्ट भयो”, यो भनेर उहाँले परेशबाबुलाई लात्तीले हिर्काउनुभयो अनि अलि अगाडि बढेर भन्नुभयो, “आफ्नो जीवनको सुरक्षा चाहन्छौ भने छोराछोरीलाई लिएर यहाँबाट गइहाल। तिमीहरूका लागि घर भारत हो, त्यहीँ गएर बस।”
परेश चक्रवर्तीले मोहसिन खानलाई अरू केही कुरा भनेनन्। त्यसपछि श्रीमती र छोराछोरीका साथ गन्तव्यहीन लक्ष्यमा निस्कनुभयो। धेरै ठाउँको हन्डर ठक्कर खाएपछि उहाँ यस सहिदनगर कोलोनीमा आएर बस्नुभएछ।
परेश चक्रवर्तीलाई आफ्नो बुवाको नाम नबताएर के मैले कुनै अपराध गरेँ ? या फेरि आफ्नो बचाउका लागि मैले आफ्नो बाउको नाम बताइनँ ? तर जुन अप्ठ्यारो प्रश्नले मलाई पछ्याइरहेको छ, त्यो हो, ‘म अब बुवाको त्यस घरमा बस्नु हुन्छ कि हुँदैन ? ’ विश्वविद्यालय पढ्ने बेला विद्यार्थी राजनीति गर्थेँ, जसको कारणले बुवाले मलाई घरबाट निकालिदिने धम्की दिनुभएको थियो। त्यो बेला साह्रै नराम्रो लाग्यो। मनमा साह्रै पीडा भयो। आज अनुभूति भइरहेको छ-त्यस दिन मैले घर त्यागेको भए आज आपैmँप्रति यति निन्दित त हुनुपर्ने थिएन। एउटा मान्छेको रूपमा जीवित रहन पाउने अधिकारबाट वञ्चित त हुनुपर्ने थिएन।
बुवाको चिहाननेर उभिएर चिच्याएर भन्न मन छ, तपाईँ मलाई छोराको अधिकारबाट वञ्चित गरेर मैले जीवित रहन पाउने अधिकार फर्काइदिनुहोस् बुवा !
अनुवाद : महेन्द्र महक