उस्तै उज्याली उषा

उस्तै उज्याली उषा

‘तपाईं अझै नौ वर्ष पहिलेकै उषा हुनुहुन्छ। उत्तिकै राम्री। उत्तिकै फिट।’ एक महिला फोटोग्राफर नायिका उषा रजकको फोटो खिच्दा नोस्टाल्जिक हुँदै थिइन्। वर्षौंपहिले उषाको फोटो सुट गरेको दिन सम्झँदै थिइन् उनी।

‘धेरै धेरैले चर्चा गर्ने तिमी त अचेल नामी भएछौं’, हिमाल सागरको ‘मेरो माया मरेपछि’ बोलको यो म्युजिक भिडियोमा उषा रजकले गरेको अभिनय उनका फ्यानले अझै भुलेका छैनन्। एकताका नेपाली रजतपट, रंगमञ्च, मोडलिङमा उषाको जगजगी थियो तर विवाहपछि उनी विदेश हानिएकी थिइन्। हाल उनी पुनः नेपाल फर्किएकी छन्।

सात वर्षसम्म किर्गिस्तानमा आफ्नी छोरी र श्रीमान्को साथमा बस्दै आएकी उषा भन्छिन्, ‘अभिनयको भूतले नेपाल फर्कायो।’ यूएनडीपीको आकर्षक जागिर र सुविधा छाडेर उषा नेपाल किन फर्किन् त ? उनका फ्यानले अहिले यही प्रश्न गर्न थालेका छन्। उषा जवाफमा भन्छिन्, ‘अभिनयमा जस्तो सन्तुष्टि उनलाई अरू कुनै कामले दिन सकेन।’ खाइपाई आएको जागिर छाडेर उनी नेपालमै अभिनय यात्रालाई निरन्तरता दिन आएको बताउँछिन्।

१८ वर्षको उमेरमा अभिनय सुरु गरेकी उषालाई त्यति बेला बोल्ड हिरोइन भनिन्थ्यो। ‘त्योभन्दा पनि ज्यादा मलाई घमण्डी नायिका भनिन्थ्यो’, उनी बताउँछिन्। तर उषाको जीवनमा अभिनयको सम्बन्ध नङ र मासुजस्तो भएर बस्यो र बाँकी कुरा ‘गसिप’मा नै सीमित भए।

नाटक ‘कंकाल’बाट उनले रंगमञ्चमा पाइला टेकेकी थिइन्। आफ्नो क्षमतालाई अझै व्यापक बनाउन उनले मोडलिङ गरिन्। मिस युनिभर्सिटी नेपाल, २००६ मा समेत भाग लिएकी थिइन्। त्यसमा उत्कृष्ट हुँदै उनी नेपालको प्रतिनिधित्व गरेर कोरियासमेत पुगिन्।

उषाले मोडलिङसँगै चलचित्र क्षेत्रमा पनि पाइला टेकिन्। फलस्वरूप फिल्म ‘कुसुमे रुमाल २’, ‘कागबेनी’ र ‘इकु’मा काम गर्ने मौका उनलाई मिल्यो। अभिनयमा आफ्नो करिअर बनाउँदै गरेकी उषाको रुसी नागरिकसँग विवाह भएपछि भने नेपाली रजतपटबाट उनी हराउने धेरैले ठम्याए।

‘म र उनीबीच २००७ सालमा भेट भएको थियो। त्यसको दुई वर्षपछि नै हाम्रो विवाह भयो’, उनले भनिन्। गहिरो प्रेममा परेकी उषा आफ्नो करिअरलाई वास्ता नगरी सन्तान जन्माउन आतुर भइन्। भन्छिन्, ‘मलाई बच्चा जन्माउन खुब मन थियो।’ त्यसपछि आफ्नो करिअरलाई धरापमा राखेरै भए पनि उषाले बच्चा जन्माउने निर्णय गरिछन्।

उषाको साथमा अहिले नौ वर्षकी छोरी छन्। पछिल्लो समय आमाछोरीलाई विभिन्न कार्यक्रममा भेटिन्छ। जहाँ जाँदा पनि उषा आफ्नी छोरीलाई सँगै लिएर जान्छिन्। छोरीलाई पनि कला क्षेत्रमा नै ल्याउने योजनामा छिन् उनी। ‘छोरीले नेपाल र नेपालको संस्कृति बुझोस् भन्ने चाहन्छु’, उनी भन्छिन्।

विवाहपछि कामको सिलसिलामा श्रीमान्सँगै किर्गिस्तान जानुपर्दा उषाले अभिनय यात्रालाई निरन्तरता दिन सकेकी थिइनन्। प्रशान्त रसाइलीको पछिल्लोे फिल्म ‘कथा’बाट राम्रो रेस्पोन्स आएपछि उनी नेपाल फर्कन लालायित भएकी थिइन्। भन्छिन्, ‘कथा फिल्म रिलिज भएपछि आएको प्रतिक्रियाले नेपाल फर्कन उक्सायो।’

नेपाली कला क्षेत्रले आफूलाई बिर्सिसकेको ठान्छिन् उषा। तर, यही क्षेत्रका फिल्म निर्देशक निमार्ताहरूले अझै उनलाई खोज्ने गरेकोमा उनी दंग छिन्। अहिले नेपाल फर्कनुमा धेरै कारण भएको उनी बताउँछिन्। छोरीलाई लिएर नेपाल फर्कन श्रीमान्को पूर्ण समर्थन भएको पनि बताउँछिन्। आफ्नो श्रीमान्लाई पहिलोपल्ट भेटेको दिन सम्झँदै उषा भन्छिन्, ‘हाम्रो भेट ढोकैमा क्याफेमा भएको थियो।’

उषा हाँस्दा, बोल्दा देब्रे गालामा गहिरो खाल्डो (डिम्पल) पर्छ। उषा भन्छिन्, ‘मेरो हाँसोमै मोहित भएका थिए उनी।’ आफ्नो लभस्टोरीको रमाइलो किस्सा सुनाउँदै उनी भन्छिन्, ‘त्यसपछि हाम्रो धेरैपल्ट ब्रेकअप भो, धेरैपल्ट प्याचप भो, अन्त्यमा विवाह नै भो।’

विदेशमा बस्ता पनि उषाले कलाकारितालाई चट्टै छोडेकी भने थिइनन्। नाटक बनाउनेदेखि बेली डान्स सिक्ने, आफ्नो शरीरलाई सधैं फिट राख्ने कार्यलाई उनले आफ्नो जीवनको अभिन्न अंग ठानिन्।

उषालाई रंगमञ्चको चमकधमक निकै मन पर्दो रहेछ। ‘हामी कलाकार चिरिच्याट्ट भएर रंगीन पर्दामा हराउन औधी मन पराउँछौं’, उनी आफ्नो रुचि खुलस्त गर्दै भन्छिन्। राम्रा कथामा अभिनय गर्न लालायित हुने गरेको उनी सुनाउँछिन्। क्यामेरा उनीतिर तेर्सिनेबित्तिकै उषाको अनुहार उज्यालो हुन्छ। जीउडाल आफंै लच्कन थाल्छन्। भन्छिन्, ‘अरू जुनसुकै काम गरे पनि अन्त्यमा क्यामेराको अगाडि कलाकार नै देखिन मन लाग्छ।’

रंगमञ्चको दुनियाँ आफ्नो मनको आवाज भएको उषा ठान्छिन्। उनले विवाहको निर्णय पनि मनको आवाज सुनेर गरेकी थिइन् रे। अहिले नेपाल फर्कने निर्णय पनि मनैबाट गरेकी हुन् रे। भन्छिन्, ‘म सधैं मनको आवाज सुन्छु।’

फिल्म कथामा उषा बोल्न नसक्ने पात्रको भूमिकामा छिन्। हाल उनी ‘कठपुतली’को सुटिङ सकाएर बसेकी छन्। यो फिल्म हरर विधामा बनेको छ। यसका साथै उषा नाटक खेल्ने तयारीमा छिन्। सर्वनाम थिएटरमा देखाइने उक्त नाटक अशेष मल्लले निर्देशन गर्ने छन्। उमेर ढल्कँदै गए पनि उषाको अभिनय प्रतिको रुचिले बिट मारेको रहेनछ। उनी आफ्नो उज्यालो बाटो यही कला क्षेत्रमा देख्छिन्। नेपाल फर्किएसँगै उनको हातमा हाल स्क्रिप्ट पर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.