जहाँ ‘हाफ विडो’ जन्मिन्छन्

जहाँ ‘हाफ विडो’ जन्मिन्छन्

म सोच्थेँ, काश्मीरीहरू पनि भारतीय हुन् र उनीहरू भारतलाई आफ्नो मातृभूमि मान्छन्। तर, त्यहाँ पुगेपछि मात्र मैले बुझेँ— काश्मीर उपत्यकावासी अधिकांशले त भारतलाई मन पराउँदैनन्। उनीहरू काश्मीर छुट्टै मुलुक हो भन्ने मान्दा रहेछन्।


उच्च शिक्षाका लागि भारत प्रशासित काश्मीर जाने निर्णय लिनुपर्दा ममा उत्साहका साथसाथै डर पनि थियो।

हिन्दी चलचित्रहरूमा देखाइने मोहक दृश्य र कतिपय लेखकहरूको सुन्दरता बखानले मेरो मन उत्साहित थियो, काश्मीरमा पाइला राख्न। अनि भारतीय टेलिभिजन च्यानलहरूमा देखाइने द्वन्द्वका कथाहरूले पैदा गरिरहेको थियो मनभित्र एउटा सुषुप्त सन्त्रास।

आँट र आतसबीच काश्मीर जाने दिन आयो। त्यो थियो, २०१४ को अप्रिल ६।

म भारतको राजधानी दिल्लीमा करिब तीन घण्टाको ट्रान्जिट कटाएर त्यसै दिन साँझ पुगेँ, जम्मु र काश्मीरको गृष्मकालीन राजधानी श्रीनगर। जाडो सकिएर गर्मी चढ्दै गरेको काठमाडौँबाट दिल्ली पुग्दा निक्कै गर्मी चढेको महसुस भएको थियो। तर, श्रीनगर पुग्दा भने मौसम ठीक उल्टो थियो।

प्लेनबाट ओर्लनेबित्तिकै पुसमाघकै जस्तो जाडो महसुस भयो। दिल्ली र श्रीनगरमा मौसम मात्र भिन्न थिएन, हरेक कुरा भिन्न देखिन्थे। मान्छेका लवाइखवाइदेखि बोलीचालीसम्ममा फरकपन महसुस हुन्थ्यो। तर त्यो फरकपनभित्र पनि एकखालको आत्मीयता अनुभूत गरेँ। त्यसको कारण थियो— काश्मीरीहरूले देखाएको सहयोगी भावना।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिटका क्रममा चिनजान भएका केही काश्मीरी यात्रुले मलाई श्रीनगर विमानस्थलमा उत्रेर विश्वविद्यालयले पठाएको गाडी र ड्राइभर नभेटुन्जेलसम्म हरतरहले सहयोग गरिरहे।

म गाडीमा बसेर विश्वविद्यालयतर्फ लाग्दै गर्दा त्यसरी सहयोग गर्नेमध्ये एकजनाले आफ्नो फोन नम्बर लेखेर दिँदै भनेका थिए, ‘आपको कोही भी हेल्प चाहिए तो इस नम्बर पे कल किजिए।’

०००

श्रीनगर एअरपोर्टबाट गाडी हजरतबालका लागि दौडियो। केही बेरमै गाडी झेलम नदीको किनारामा पुग्यो। गोधूलि साँझमा झेलमको किनारैकिनार गाडी दौडँदै गर्दा मैले झ्यालबाट चियाएर बाहिर हेरँे। बाहिर सिमसिम पानी परिरहेको थियो। श्रीनगर उपत्यका वरिपरिका डाँडाकाँडा हिउँले ढाकिएका थिए। हिन्दी चलचित्रमा देखिने गरेको मनमोहक दृश्य आफ्नैअगाडि देख्दा मलाई संसारकै सबभन्दा सुन्दर स्थानमा पुगेजस्तो लाग्यो।

गाडीको झ्यालबाट चियाउँदै कल्पनाको संसारमा रमाइरहेकी मैले अकस्मात् गह्रुँगा हतियार बोकेका आर्मीको लस्कर देखँे। छेउछाउमा काँडेतार लगाएका घरहरू देखेँ। अनि सिमसिमे पानीमा भिज्दै भीख मागिरहेकालाई पनि देखेँ। तीमध्ये कोही आँखा देख्दैन थिए त कसैका हातखुट्टा चल्दैन थिए।

दुई वर्षको काश्मीर बसाइका क्रममा धेरैपछि मात्र मैले थाहा पाएँ— त्यसरी माग्न बस्नेमध्ये जो आँखा देख्दैनन्, तिनीहरू ‘पेलेट गन’ भनिने कतिपय देशमा प्रतिबन्धित तर भारतीय सेनाले काश्मीरमा प्रयोग गरिरहेको बन्दुकको छर्रा लागेकाहरू हुन्। अनि हात वा गोडा नचल्नेहरू पनि कि त गोली लागेर वा बम विस्फोटमा परी घाइते भएका हुन्।

करिब एक घण्टाको यात्रापछि मलाई काश्मीर विश्वविद्यालयको हातामा रहेको क्वारात–उल–एन–अल–हैदर छात्रावासको गेटमा छाडेर ड्राइभर फर्किए। त्यो छात्रावासको नामको उच्चारण सिक्न मलाई झण्डै एक साता नै लागेको थियो।

सधैं साँझ साढे ५ बजे बन्द हुने छात्रावासको गेट त्यस दिन मेरै लागि ७ बजेसम्म खुलै थियो। अनि मेरो स्वागतका लागि गेटमा पर्खिरहेकी थिइन्, एउटी काश्मीरी छात्रा— सकिना।

छात्रावासमा सकिना र ‘केयर टेकर’ले देखाएको आत्मीयताले मैले आफ्नै घरैमा पुगेजस्तो लाग्यो। भाषा र संस्कृति पूर्ण रूपमा भिन्न भए पनि काश्मीरी छात्राहरूको ‘केयर’ले म दंगदास भए। उनीहरूको आत्मीयतामा मैले भारतीय टीभी च्यानलहरू हेरेर बनाएको काश्मीरीहरूको एउटा डरलाग्दो छवि कतै पनि देखिनँ।

०००

काश्मीरीहरूको दुईवटा कुराले भने सुरुसुरुमा मलाई अनौठो लाग्थ्यो—

बाहिरबाट आएकालाई नामभन्दा अगाडि तेरो धर्म के हो भनेर सोध्नु र भारतलाई गाली गर्नु।

काश्मीर पुग्नुअघिसम्म म सोच्थँे, काश्मीरीहरू पनि भारतीय हुन् र उनीहरू भारतलाई आफ्नो मातृभूभि मान्छन्। तर, उहाँ पुगेपछि मात्र मैले बुझेँ— काश्मीर उपत्यकावासी अधिकांशले त भारतलाई मन पराउँदैनन्। उनीहरू काश्मीर छुट्टै मुलुक हो भन्ने मान्दा रहेछन्।

सबैभन्दा अचम्म त के थियो भने विश्वविद्यालयभित्र कतै पनि भारतीय झन्डा गाडिएको थिएन, न त कुनै विभागमा भारतीय झन्डाको फोटो राखिएको थियो। हामी अध्ययन गर्ने काश्मीर अध्ययन संस्थानमा दक्षिण एसियाका आठवटा देशका विद्यार्थीले पढ्न पाउँथे। त्यहाँ पनि कुनै देशको झन्डा राखिएको थिएन। त्यसको कारण थियो— अरू देशको झन्डा राख्न दिए पनि काश्मीरी विद्यार्थीले भारतको झन्डा राख्न नदिनु।

विश्वविद्यालयमा हुने औपचारिक कार्यक्रममा त्यहाँका मुख्यमन्त्री वा गभर्नरलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ भने भारतको राष्ट्रिय गान बजाइन्थ्यो। तर काश्मीरी विद्यार्थी भारतीय राष्ट्रिय गान बजाउँदा उठेर सम्मान व्यक्त गर्दैन थिए। र, त्यस्तो गर्नेमा छात्र मात्र होइन छात्रासमेत थिए।

सुरुसुरुमा त मैले यी विषयमा छात्रावासमा सँगै बस्ने साथीहरूलाई पनि सोध्न सकिनँ। केही महिनापछि भने हिम्मत जुटाएर एक दिन एउटी साथीलाई सोधेँ, ‘तिमीहरू किन भारतलाई यति धेरै घृणा गर्छौ रु ’

उसले भनी, ‘तिमीलाई के थाहा, भारतले हामीलाई कतिसम्म गरेको छ भनेर रु अनि महिलामाथि हुने हिंसा र हामीले भोग्ने पीडाको त कुरै नगरौँ।’

उसको जवाफले मलाई केही दिनसम्म घोत्लिन र विश्वविद्यालयको अलामा इकबाल केन्द्रीय पुस्तकालयबाट केही पुस्तक ल्याएर काश्मीरबारे थप अध्ययन गर्न बाध्य पा‍¥यो। स्वअध्ययनबाट सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र हुँदा काश्मीर कसरी छुट्टै देशका रूपमा रहन चाहन्थ्यो र पछि भारत एवं पाकिस्तान दुवैको स्वार्थले कसरी दुई देशमा बाँडिन पुग्यो भन्ने जानकारी पाएँ। अनि त्यस बेलादेखि चल्दै आएको काश्मीरको स्वतन्त्रता आन्दोलन र माग कसरी कहिले शिथिल र कहिले तीव्र कसरी बनिरहेको छ भन्ने पनि थोरबहुत ज्ञान भयो।

सन् १९९० ताकादेखि काश्मीरमा चलेको सशस्त्र संघर्ष (भारतका भाषामा आतंककारी गतिविधि)ले भारत, पाकिस्तान र त्यस्तो गतिविधि गर्ने विद्रोहीहरू सायद आफ्ना निश्चित स्वार्थ पूरा गरे होलान्। तर सामान्य काश्मीरीले के पाए रु त्यसको उत्तर खोज्न सहज छैन।

त्यसको उत्तर खोज्न, काश्मीरका गाउँहरूमा बनेका सामूहिक चिहान खोतल्न जानुपर्छ, गाउँभरका महिला बलात्कृत भएको कुनान पोसपोरा पुग्नुपर्छ, हरेक शुक्रबार मस्जिदबाहिर भीख माग्न लाम लाग्ने मातापिता गुमाएका बालबालिकालाई चुम्नुपर्छ अनि वर्षौंदेखि आफ्ना पति बेपत्ता भएर अर्धविधवा ९हाफ विडो० का आँसु हेर्नुपर्छ।

०००

काश्मीर पुगेको केही महिनापछि एक दिउँसो त्यहाँको मुख्य बजार लालचोकमा किनमेलका लागि गएकी थिएँ, साथीहरूसँग। त्यहाँको प्रेस कोलोनीनजिकै केही महिलाले प्लेकार्ड बोकेर शान्त प्रदर्शन गरिरहेका थिए। उनीहरूका प्लेकार्डमा ‘हाफ विडो’ देखेपछि मैले छात्रावास फर्केर इन्टरनेटमा ‘हाफ विडो’ को रहेछन् भनी खोजेँ।

त्यसपछि थाहाँ पाएँ— उनीहरू त द्वन्दका क्रममा पति बेपत्ता पारिएका महिला रहेछन्। भारत–पाकिस्तान र काश्मीरी पृथकतावादी सशस्त्र विद्रोहीको भुमरीमा परेर काश्मीरमा महिलाहरू ‘हाफ विडो’ मात्र बनिरहेका छैनन्स कैयौँ महिला बलात्कृत भइरहेका छन् भने कैयौँले आफ्ना पिता, पति र पुत्र गुमाइरहेका छन्।

काश्मीरमा जारी पृथकतवादी आन्दोलमा नेपालको माओवादी द्वन्दमा जस्तो हतियार नै बोकेर हिँड्ने महिला त खासै छैनन् तर त्यो द्वन्द्वबाट पिल्सिनेमा चाहिँ पुरुषभन्दा महिला नै बढी देखिन्छन्।

भनिन्छ, जहाँ द्वन्द्व र युद्ध हुन्छ त्यहाँ सबैभन्दा जोखिममा महिला र बालबालिका हुने गर्छन्। कतिपय द्वन्दमा त महिला र बालबालिकामाथिको हिंसालाई समेत हतियारका रूपमा लिने गरेको पाइन्छ। त्यसको उदाहरणका रूपमा मानवअधिकारवादी संस्थाहरूले बोस्निया हर्जगोभिना र रुवान्डाको उदाहरण दिने गर्छन्। काश्मीर पनि त्यसबाट अछूतो छैन।

आतंककारी गतिविधि नियन्त्रण गर्ने नाममा भारतले काश्मीरसहित पूर्वोत्तर भारतका केही राज्यमा आर्मीलाई असीमित अधिकार दिएको ‘आर्म फोस्र्ड ९स्पेसल पावर्स० एक्ट’ अर्थात् ‘आफ्स्पा’ लगाएको छ। त्यस्तो असीमित अधिकारले आर्मीलाई महिलामाथि ज्यादती गर्न छुट दिएको जस्तै भएको छ।

विश्वविद्यालमा सँगै पढ्ने र छात्रवासमा बस्ने साथीहरूले आर्मीका ज्यादतीका धेरै किस्सा सुनाउँथे। तर यस्ता अधिकांश कुरा बाहिर आउने गर्दैनन्। कतिपय अवस्थामा बलात्कृत महिलाले समेत त्यसबारे उजुरी गर्न सक्ने अवस्था नरहेको स्वयं काश्मीरी साथीहरूले बताउँथे। यसै पनि बढी नै धार्मिक देखिने समाज र त्यसमाथि घरपरिवारले बेइज्जत हुने डरले यस्ता घटना बाहिर ल्याउन चाहँदैनन्।

नेपालसँग नै तुलना गर्दा पनि नेपालभन्दा बन्द समाज काश्मीरको द्वन्दमा परी पिता पति वा पुत्र मारिने महिलाले भोग्ने पीडा थप बढ्ता हुने रहेछ। अझ कसैको पति सशस्त्र समूहमा लागेर हिँडेको वा मारिएको छ भने सम्पूर्ण पारिवारिक दायित्व ती महिलामा आइपर्छ। अनि सरकारले चाहिँ आतंककारीकी श्रीमतीका रूपमा व्यवहार गर्छ।

पछिल्लो पटक काश्मीरमा बढेको तनाव र त्यससँगै भारत र पाकिस्तानबीच देखिएको मनमुटावलाई लिएर धेरैले काश्मीरमा जारी सशस्त्र संघर्षलाई धर्मसँग जोडेर हेरेको देखिन्छ। तर, त्यहाँको सशस्त्र गतिविधि धार्मिकभन्दा पनि पृथकतावादी हो। त्यसमा मुस्लिम बहुल काश्मीरका युवा सक्रिय हुँदा धेरैलाई यो धार्मिक युद्ध हो जस्तो लागेको हो।

त्यसलाई अथ्र्याउँदै काश्मीरको द्वन्द्व धार्मिक होइन भन्दै केही दिनअघि काश्मीरी पण्डित ९हिन्दू० मूलकी लेखिका नितासा कौलले गरेको एउटा ट्विटमा उनलाई धेरै भारतीयले दुव्र्यवहारपूर्ण प्रतिक्रिया दिएका थिए।

खासमा काश्मीरको द्वन्द्व दुइटा राष्ट्रियताबीचको हो, भारतीय र काश्मीरी। अनि त्यही राष्ट्रियताको लडाइँमा सबैभन्दा धेरै पिल्सिन पुगेका छन्, महिला। काश्मीर द्वन्द्वको कुरा आउँदा अरू विषयमा जति बहस र छलफल हुन्छन्, महिलाका विषयमा भने धेरै कम मात्र छलफल हुने गरेको छ।

काश्मीरको द्वन्द्वमा सशस्त्र विद्रोही पुरुष मारिँदा काश्मीरकै महिला विधवा वा टुहुरी बन्छिन् भने भारतीय सेना वा सुरक्षाकर्मी मारिँदा भारतीय महिला नै विधवा वा टुहुरी हुन्छिन्। तर पनि भारत र काश्मीरका पुरुषहरू भने आफ्नी आमाका लागि बलिदान गर्न हिँडेको ठानिरहेका छन्। भारतीयले ‘भारत माता’ र काश्मीरीले ‘मौज कसिर’ अर्थात् मातृभूमि काश्मीरका नाममा एकअर्कालाई मारे पनि आखिर कसैकी आमा पुत्रवियोग, पत्नी पतिवियोग र छोरी पितावियोगमा पर्छिन् भन्ने हेक्का राखेको देखिँदैन।

हुन त चर्चित महिलावादी लेखिका सिन्थिया एन्लोको भनाइ सापट लिएर भन्ने हो भने राष्ट्रियता आफैँ पुरुषवादी सोचको उपज हो। त्यसले देशलाई महिला ९माता०का रूपमा हेर्छ र संरक्षण गर्नुपर्ने पुरुषवादी सोच प्रस्तुत गर्छ। यस्तो अवस्थामा काश्मीरका विषयमा भारत र पाकिस्तानबीच पौंठेजोरी चलिरहँदा म भने काश्मीरमा अरू विधवा र अर्धविधवा नथपिऊन् भन्ने कामना गरिरहेकी छु।

लेखक काश्मीर विश्वविद्यालयबाट काश्मीर तथा दक्षिण एसियाली अध्ययनमा स्नातकोत्तर हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.