शिव - शंकर
केश कर्तन शाला...
काठमाडौंमा संकेत–पाटिकाको जन्मदाता बालकृष्ण समज्यू हुनुहुन्छ । नयाँसडकमा सर्वप्रथम संकेत–पाटिका आयो : गणेश र भाइहरू, केश कर्तन शाला । पहिलोचोटि त्यसमा आँखा पर्दा कस्तोकस्तो अप्ठेरो लाग्यो : भाइहरू, अङ्गे्रजीको ‘द्यचयक’ को उल्था । ‘हेयर कटिङ सेलुन’का लागि केश कर्तन शाला । पढ्नलाई पनि हजामले चलाएको कैंचीझैं जिब्रो फट्कार्नुपर्ने । गणेशलाई सोधें, ‘यो नामकरण कसले गरिदियो ? ’ जवाफ पाएँ– ‘बाबुसाहेबले ।’ काठमाडौंमा बाबुसाहेब सिर्फ समज्यू मात्र हुनुहुन्थ्यो त्यस बेला, र उहाँ हुनुहुन्थ्यो नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष । कुरा स्पष्ट थियो ।
(संकेत—पाटिकाहरूबाट)
इतिहास...इतिहास
एउटै दृश्य वा तथ्य एक पाइलाको अन्तरबाट समेत फरक पर्न जान्छ । सगरमाथाको चुचुरा नगरकोटबाट देखिन्छ, फुलचोकीबाट देखिँदैन त के फुलचोकीको दर्शनका लागि सगरमाथाको अस्तित्व नै छैन अथवा नगरकोटको दर्शनको लागि त्यो एक दृष्टि–भ्रम मात्र हो ? बनिरहेको इतिहास सँगसँगै हुर्केर पनि हामी इतिहास नबुभ्mने भएर समाप्त हुन सक्छौं । र अर्कोतिर बन्न तम्सिएको इतिहासलाई समेत राम्ररी बुझेर पनि रोक्न असमर्थ हुन्छौं ।
यही तथ्य सबभन्दा बिझ्ने बन्न जान्छ, बुझ्नेका लागि । जीवनको नैराश्य, असफलताको आभास र हारेको भावना सायद त्यही अक्षमताको देन हो । मस्तिष्क जत्तिको जागरुक हुन्छ, भावना जत्तिको तीव्र हुन्छ, पीडा उत्तिकै गहिरो ।
नैराश्यमा डुबेको एक वा दुई पुस्ता देशको लामो इतिहासमा, एक प्रकारले, केही अर्थ राख्दैन । तर पनि, त्यसको प्रभावबाट मुक्ति पाउन नवीन पुस्ताले विद्रोहलाई क्रान्तिमा परिणत गर्नुपर्ने अवस्था पर्न जान्छ । निष्क्रियताको सुखलाई परित्याग गर्नु जस्तो कष्टप्रद अरु के होला ?
गर्ने, मरिमेट्ने भावना पनि उमेरसँग सम्बन्धित हुँदो रहेछ र लक्ष्यलाई खिया पारिहाल्दो रहेछ । जनता जनार्दनको जीवन स्टेनलेस स्टिलबाट निर्मित भएको हुन्न । साधारण फलामले बोल्न सके भन्दो हो, खिया परेर बेकम्मा भइदिनुमा बढी आनन्द छ, भाइ हो !
तर पनि, तर पनि... इतिहास गलत अंकित भए पनि बन्न छाडेको छैन । इतिहास गलत भए बुझिए पनि घट्न छाडेको छैन । सृष्टिको प्रारम्भदेखि दलित रहेको जनसाधारण मिट्न (वा मिटाइन) सकिएको छैन । यसैले गर्दा आशा लाग्छ, कुनै दिन उसको पनि पालो आउनेछ ।
म स्वयम्लाई निकै भाग्यशाली ठान्थें– गजबको सन्धिकालमा जन्मे, हुर्किन पाएँ तथा राणाकालीन उत्कर्ष, त्यसको पतन तथा प्रजातन्त्र एवम् पञ्चायतको अभ्युदय भएको देख्न र भोग्न पाएँ । आज कताकता आभास हुँदै छ : सबै काल एक सन्धिकाल हुँदो रहेछ, सबै कालमा महान् व्यक्तित्व जन्मिआउँदा रहेछन् । यत्ति हो, कालको गरिमाअनुरुप व्यक्तित्व जन्मिआउँदा रहेछन् । यत्ति हो, कालको गरिमाअनुरुप व्यक्तित्वको महानता तौलिँदो रहेछ । नहुनुभन्दा ... मामा बेस भनेझैं, आमाको भाइ वा दाजु त छ ः कत्रो आत्मसन्तुष्टि !
(इतिहास इतिहासबाट)
(निबन्धकार शंकर लामिछाने (१९८४ चैत १७—२०३२ माघ १०) को कृति ‘शंकर लामिछानेका निबन्ध’बाट । यसको संकलन/सम्पादन हालै दिवंगत अध्येता शिव रेग्मीले गरेका हुन् ।)