मिथ्या कुरा

मिथ्या कुरा

मानव सम्भ्यताको विकासक्रमले सत्यलाई पत्रपत्रमा उद्घाटित गरिरहेको इतिहास हामीसँग छ। समयसँगै नयाँनयाँ सत्य उद्घाटित हुन्छन्। भविष्यमा प्रमाणित हुनसक्ने सत्यबाट मानव समाज आज अनभिज्ञ हुन्छ। त्यसैले मानिस कल्पना गर्छ। भविष्य उन्मुख भएर कथा रच्छ। यथार्थभन्दा टाढाको संसारबारे कल्पना गर्न मानिसले यथार्थको परिवेशभन्दा परका कथाहरू रच्छ। हिजो पनि त्यसै गरिएको थियो। तिनै कथाहरूलाई मिथ्या भनियो। तिनै कथाहरूले मिथक बनाए।

मानिस मिथ्या निर्माण गर्ने प्राणी हो। मिथ्या बनाउन सबै कुरामा अर्थ बुझ्नु पर्छ। मिथ्याको भेद बुझ्न पनि धेरै कुराको अर्थ केलाउनुपर्छ। त्यस्ता कुराहरूसमेत जुन पहिलोपटक श्रवण गर्दा बेकार जस्ता लाग्छन्। मानिसलाई थाहा भएसम्म बाँदरले सबै कुराको अर्थ खोज्दैन। एउटा बाँदरले आफ्नो आकृति अर्को बाँदरसँग किन मिल्यो भनेर चिन्ता गर्दैन।

छिमेक टोलमा अर्को कुनै बाँदर भोकै अवस्थामा रहँदा चासो राख्दैन। त्यस्तो अवस्थालाई परिवर्तन गर्ने उपाएको खोजी पनि गर्दैन। बादरले आफ्नो जीवनलाई अर्कै दृष्टिकोणबाट हेर्ने लेठो गर्दैन। मान्छे भने संसारबारे चिन्ता गर्छ। कहिले निराश भएर कहिले पुलकित मुद्रामा संसारलाई कसरी न्यायसंगत बनाउने भनेर सोची बस्छ।

मानव सभ्यताको प्रारम्भ कालदेखि नै मानिसले आफूलाई आफ्नो परिवेशमा मात्र सीमित गरेन। बृहत् संसारभित्र मानवको स्थान कहाँ हुन्छ भनेर कथा रच्न थाल्यो। मिथ्याको जन्मबेगर त्यस्ता कथाहरू सिर्जना हुँदैनथे। त्यसैले मिथ्याको प्रारम्भ ब्रह्माण्डको ज्ञान हासिल गर्नलाई भयो। जगत् र जीवनको भेद बुझ्नलाई भयो। मिथ्याको जगमा रचेका कथाहरूको उद्देश्य मानव जीवनलाई संसारबारे सोच्न प्रेरित गर्नु थियो। सबै किसिमको निराशा र उथलपुथलका बीच मानव जीवनलाई मूल्य प्रदान गर्नु थियो। विशिष्ट अर्थ दिनु थियो।

मिथ्याको अर्को उद्देश्य मानवीय मस्तिष्कका त्यस्ता पत्रहरूलाई तरंगित गर्नु थियो जुन सामान्यतः निष्क्रिय रहन्थे। मानव मस्तिष्कको एउटा विशेषता अरू जनावरहरूभन्दा भिन्न तरिकाले सोच्नु हो। कल्पना गर्नु हो। मानव मस्तिष्कमा नयाँनयाँ विचारहरू जन्मन्छन्। तर नयाँ विचार र कल्पना किन आउँछन्, त्यसबारे आधुनिक विज्ञानले समेत युक्तिसंगत उत्तर दिन सकेको छैन। हामी त्यस्तो कुरा पनि कल्पना गर्छौँ जुन वर्तमान होइन। इतिहास मात्र पनि होइन। जुन हाम्रो यथार्थ मात्र समेत होइन। हाम्रो वरिपरि छैन। कतिपय अवस्थामा ती कल्पनाहरू मानसपटलमा आउँदा त्यसको वस्तुगत उपस्थिति थिएन। कल्पनाका तिनै पत्रहरूले धर्मको निर्माण गरे। मिथ्याहरू रचे। मिथक बनाए। कतिपय अवस्थामा आकार र स्वरूप रचिएनन्। ती मिथकहरूलाई मानवीय जीवनको अविभाज्य हिस्सा बनाइयो।

त्यसैले मिथकको ध्येय भौतिक लोक छोडेर त्यस्तो संसारमा जानु थिएन जसलाई मानवीय कल्पनाले रचेको थियो। त्यस्तो संसार जसलाई मावन समाजले देखेको थिएन। मानिसले यथार्थभन्दा परको आफूले नदेखेको संसारका कथाहरू रचे। ती कथाहरूलाई आफ्नो संसारमा लिएर आए। मानिसको उद्देश्य आफूले नदेखेको संसारका कथाहरू रचेर भौतिक संसार थप बस्नयोग्य बनाउनु, न्यायसंगत बनाउनु थियो। मिथक तिनै मानवीय आकांक्षाले रचेका कथाहरूको उपज थियो जसमार्फत भौतिक संसारमा नयाँनयाँ उपायको खोज गर्नु थियो। मिथ्याहरू नौलो कल्पनाका माध्यम थिए।

नेपाली भाषामा मिथ्यालाई असत्य वा झुटो बोल्ने अर्थमा बुझिन्छ। त्यसैले मिथ्या ज्ञानलाई भ्रमपूर्ण ज्ञान भनिन्छ। मिथकहरूलाई भ्रमपूर्ण संसारका प्रतीक मानिन्छ। नेपाली बृहत् शब्दकोशले मिथ्यामा विश्वास गर्नु भनेको असत्यलाई स्वीकार्नु हो भन्छ। भ्रममा बाच्नु हो ठान्छ। आखिर भ्रमपूर्ण संसारमा को नै पो बाँच्न चाहन्छ र ! सबै सत्यमा विश्वास गर्छन्। सत्यलाई अँगाल्न चाहन्छन्। त्यसैले मानवीय समाजको विविधतासँग सत्यका आआफ्नै किसिम छन्।

एकथरीका लागि ज्ञान सत्य हो। अर्काथरीका लागि ध्यान सत्य हो। कसैलाई अन्तस्करणदेखि आएको आवाज सत्य हो। कसैलाई अन्तस्करणलाई चुनौती दिने यथार्थ सत्य हो। विज्ञानको भाषामा मानव समाजले प्रमाणित गर्न सक्ने ज्ञान वैज्ञानिक सत्य हो। अनुभवजन्य ज्ञान युक्तिसंगत सत्य हो। जन्मजात प्रकृतिसँगै हासिल गरेको ज्ञान सहजप्रकृत सत्य हो। यसको अर्थ मानव मस्तिष्कले कुनै कुरा प्रमाणित गर्न नसक्ने बित्तिकै त्यो असत्य भइहाल्दैन। मस्तिष्कको सीमाले गर्दा सत्यका किसिम रचिएका हुन्।

एकथरीका लागि ज्ञान सत्य हो। अर्काथरीका लागि ध्यान सत्य हो। कसैलाई अन्तस्करणदेखि आएको आवाज सत्य हो। कसैलाई अन्तस्करणलाई चुनौती दिने यथार्थ सत्य हो। विज्ञानको भाषामा मानव समाजले प्रमाणित गर्न सक्ने ज्ञान वैज्ञानिक सत्य हो

नेपाली भाषामा जस्तो संस्कृत साहित्यमा मिथ्याको अर्थ भ्रमपूर्ण ज्ञान हुँदैन। वैदिक कालमा मिथकलाई मिथ्या भनिन्थ्यो। ऋषिहरूले मिथ्यालाई सत्बाट अलग राखेका थिए। सत् त्यस्तो सत्यलाई भनियो जसको तत्व कुनै सन्दर्भसँग जोडिएर आएन। अर्को वस्तुमा आ िश्रत रहेन। सत्को सत्य परम मुक्तिमा निहित थियो। तर मिथ्यामा निहित सत्य वा भनौँ मिथ्याको सारतत्व कुनै सन्दर्भसँग जोडिएर मात्र खुल्थ्यो। मिथ्या परम सत्य वा मुक्तिको आधार थिएन। मानवीय जीवनका अप्ठेरा, विकृति, अज्ञानता, खण्डित यथार्थ र कल्पनाशीलता मिथ्याका माध्यमबाट अभिव्यक्त हुन्थे। त्यसैले मिथ्या मानवीय वास्तविकताका विकृत स्वरूप थियो। सीमित ज्ञानको सारथि थियो। यथार्थ तोडमोड गरिएको ज्ञान थियो।

मिथ्याभन्दा फरक, सत् असीमित ज्ञान थियो। जीवन र जगत्को सत्य थियो जसबारे मानव समाज सम्पूर्ण रूपमा आजको युगमा समेत अवगत छैन। सत् अनन्त थियो। आफैँमा पूर्ण र चिरकालिक। सत्यको त्यो आयाम यथावत् छ। सत् असीमित, परम र अनादि भएकाले त्यसलाई निश्चित स्वरूप र आकार दिन मानव समाज असमर्थ रह्यो। शब्दहरूले सत्लाई आफूमा समाहित नगर्ने भए। त्यसैले मिथ्याहरू रचिए। कथाहरू बनाइए। मिथ्या नै सत्लाई अंशअंशमा ठम्याउने आधार बन्यो।

मिथ्या अर्थात् मिथक। मानिसले आफ्ना अनुभवहरू, आपसी संवादहरू साटासाट गर्न मिथकमा समेत भर पर्नु पर्‍यो। त्यसैले मिथक संवादको माध्यम बन्यो। मानिसहरूलाई आपसमा बाँध्ने साधन बन्यो। मिथकको सहयोगमा भविष्यबारे कल्पना गर्न सकिने भइयो। भविष्यको कल्पना गर्नु भनेको मानवीय जीवनको क्षणभंगुरताबारे समेत सोच्नु थियो। मृत्युबारे विचार गर्नु थियो। त्यसैले मृत्युपछिको अवस्थामा मानवीय समाज कस्तो रहन्छ भनेर बोध गर्नु थियो। त्यसैले मिथकका अनेकौँ महत्व थियो।

मानव समाजमा मिथकको पाँच किसिमको महत्वलाई प्राथमिकता दिने गरिन्छ।

पहिलो, मिथकको जन्म मूलतः मानवीय समाजको विनाश र अन्त्यसँग जोडिएको छ। मिथकद्वारा मानव समाजले अर्को लोकको रचना गर्‍यो। तर अर्को लोकमा जानका लागि मानव जातिले परलोकको कल्पना गरेको थिएन। यही लोकमा सबै सुख भोग्न चाहेकाले अर्को लोकलाई आधार बनाएको थियो। आफ्नो परिवेश, पृथ्वी र सम्पूर्ण बह्माण्डलाई जोगाउने उपायका रूपमा अर्को लोक खडा गरिएको थियो। मिथकमार्फत मानिसले विजय र पराजयका धेरै कथा रचे। सत्य र असत्यमा भाष्य निर्माण गरे। मानव जीवन जय–पराजयको चक्रमा अघि बढिरहन्छ भनेर अथ्र्याउन त्यसो गरियो।

दोस्रो, धेरै मिथकहरूले सत्लाई सत्तासँग जोडेर व्याख्या गरे। मिथकहरू कर्मकाण्डसँग छुट्याउन गाह्रो भयो। सत्लाई सत्ताको पक्षमा व्याख्या गरिएकाले कर्मकाण्ड शक्ति आर्जन गर्ने माध्यम बन्यो। मिथकहरू सत्ताको स्वार्थमा रचिएकाले कर्मकाण्डलाई स्थापित गर्ने साधन बने। त्यसैले त्यस्ता धेरै मिथकहरू छन् जसको उदय खास सन्दर्भमा सत्तालाई बलियो बनाउन भएको थियो। कर्मकाण्डको आवरणमा पवित्र अपवित्रको संसारलाई मिथकहरूले मान्यता दिए। ती सत्ताको मरणोत्तर त्यस्ता वृत्तबाहिर खास किसिमको मिथकको आयु सकियो। त्यस्ता धेरै मिथकको अन्य सन्दर्भमा अर्थ रहेन।

तेस्रो, धेरै शक्तिशाली मिथकहरू कालजयी छन्। त्यसले मानवीय सीमालाई झल्काउँछ। मानव जीवनलाई आफ्नो तत्कालको अनुभवभन्दा बृहत् तवरमा सोच्न बाध्य बनाउँछ। मावन सभ्यतामा त्यस्तो धेरै अवस्था आएको छ जहाँ मानवीय पुर्खाले नगरेको कार्य उसको सन्ततीले गरेको छ। त्यसैले मानवीय समाजमा पहिला नगरेको केही अद्भुत कार्य गर्ने सम्भावना जहिले पनि रहन्छ। मिथकले मानवीय अज्ञानताबारे बोल्छ। हामीले कल्पना गरेको तर हामीलाई ज्ञात नभएको कुराबारे मिथक रचिएकाले प्रारम्भमा त्यसबारे हामीसँग शब्द नहुन सक्छ। त्यसैले मिथकमा मानवीय अज्ञानता झल्कन्छ। मानवीय समाजमा विद्यमान बृहत् मौनताबारे समेत ती मिथकले धेरै कुरा भनिरहेछन्।

चौथो, मिथ्या कथा भन्नका लागि मात्र मिथक रचिएका होइनन्। मानिसले आफूसँग, अन्य मानव समुदायसँग कसरी व्यवहार गर्नु पर्छबारे मिथकमार्फत धेरै कथा रचिएका छन्। त्यसैले मिथकको उद्देश्य मानव समाजलाई अर्थपूर्ण मानवीय जीवनतर्फ डोर्‍याउनुथ्यो। भौतिक मात्र नभएर आध्यात्मिक जीवनलाई समेत अर्थ दिनुथ्यो। मूलतः यही लोकमा। त्यसैले मिथकले परलोकको कथा रचेर इहलोकलाई अर्थपूर्ण बनाउन चाह्यो।

पाचौँ, मिथकले हामीले नथापाएको अर्को संसारको कथा सुनाइरहेका हुन्छन्। झट्ट सुन्दा मिथ्याका कुरा। तर ती कथाहरू यसरी रचिएका छन् कि हाम्रो अनुभवसँग मेल खाने प्रसंगहरू छन्। हाम्रो संसारसँग मिल्दाजुल्दा कुराहरू छन्। त्यस्ता सन्दर्भहरूले हामीलाई मानव जीवनको परिवेशबारे बोध गराउँछ। जीवनको अवस्थाबारे नयाँ अर्थ दिन्छ। कतिपय अवस्थामा मिथकले ईश्वरको रचना गर्छ। राक्षसको पनि गर्छ। तिनीहरूका संवाद, वादविवाद र संग्राममार्फत मानवीय जीवनको नित्य वास्तविकताबारे धेरै कुरा भन्छ। मानवीय समाजमा खास किसिमको भाष्य स्थापित गर्न खोज्छ।

मिथकका महत्वहरूका आधारमा नै मिथ्याका कथाहरूमा चिरस्थायी दर्शन छ भनिन्छ। विज्ञानको उदयभन्दा पहिला सबै मानवीय समाजमा मिथकले अनेक सांकेतिक आकृति, कर्मकाण्ड र सामाजिक रीतिरिवाजको भेद खोल्थ्यो। मिथकले मानव समाजले भोग गरेका सबै कुरा, उसले देखिरहेका सबै कुराको समानान्तर कल्पना परलोकमा समेत गरेका छन्। परलोकमा ती कुराहरू थप प्रभावशाली छन्। अधिक आकर्षक र बलशाली छन्। उन्नत पनि छन्। चिरस्थायी दर्शनको आधारमा भन्न सकिन्छ, भौतिक संसारमा उपलब्ध सबै वास्तविकता मिथकमा सिर्जना गरिएको संसारमा उपलब्ध मूल स्वरूपको कमसल प्रतिविम्ब मात्र हो।

मूल आकृतिको अपूर्ण छायाँ मात्र हो। मानवीय कल्पनाले रचेको मिथकमार्फत एक वा अर्को तवरमा दैविक खेलमा सामेल भएर मात्र मानिसले मानव जीवनको पूर्ण आनन्द लिन सक्छ भनियो। जीवनको सम्भाव्यलाई पूर्णता दिन सक्छ भनियो। त्यसैले मिथकले त्यस्ता आकृति र स्वरूप ग्रहण गरे जुन मानवीय वास्तविकताभन्दा धेरै टाढा थिएनन्। त्यसरी रचना गरिएका आकृति कि त सांकेतिक थिए कि सरल।

दुवै अवस्थामा मानिसले सहज अनुभूत गर्नसक्ने किसिमका। मिथकमा देवदेवीहरूले कस्तो व्यवहार गर्छन् भनियो। मिथ्या कथाहरूलाई मनोरञ्जनात्मक बनाउन त्यसो गरिएको थिएन। मानिसका चरम उत्सुकताको परिपूर्तिका लागि मात्र पनि थिएन। देवीदेवताका कथा यसकारण रचिएका थिए ताकि मानिसहरू ती शक्तिशाली पात्रको नक्कल गरून्। आफैँमा दैविक अनुभूति अनुभव गर्ने चेष्टा गरून्। आजको भाषामा भन्दा आफ्नो रोडमोडल निर्माण गर्ने क्रममा देवीदेवता सिर्जना गरियो ताकि आफ्नो व्यवहारमा समेत उनीहरूमा जस्तो शील हासिल होस्। विवेक प्राप्त होस्।

विज्ञानको उदयसँगै मिथकको आधारभूत अर्थ विस्थापित भयो। विज्ञानको प्रभाव बढ्दै जाँदा मिथकलाई सामान्य अर्थमा बुझ्न खोजियो। वा भनौँ पश्चिमा दृष्टिकोणबाट मात्र हेरियो। व्यावहारिक ज्ञान पश्चिमा चिन्तनको अभिभाज्य हिस्सा हो। वैज्ञानिक आकांक्षामा सबै व्यावहारिक ज्ञान प्रभावकारी हुनुपर्छ भन्ने मान्यता हावी भयो। अर्को शब्दमा भन्दा प्रयोगजनवादको वर्चश्य कायम भयो। प्रत्येक नयाँ विचार वस्तुगत हुनुपर्ने, प्रमाणित गरिनुपर्ने ठानियो। प्रत्येक नयाँ आविष्कारले मानवीय समाजको भौतिक संसारलाई पुनः मान्यता दिइरहनुपर्ने मानक स्थापित गरियो। ग्रिक मान्यताको मिथोस् यस्तो थिएन। तर ग्रिक मान्यताको लोगोस जस्तै वस्तुगत ज्ञान नै वैज्ञानिक ज्ञान भयो। व्यावहारिक ज्ञान नै कल्पनाको आधार भयो।

यस्तो व्यावहारिक वैज्ञानिकताले निरन्तर रूपमा भविष्यको कल्पना गरिरहे पनि नियमित रूपमा हाम्रो परिवेशलाई, मानवीय वातावरणलाई नियन्त्रणमा लिइरह्यो। कुनै नयाँ आविष्कार गर्नसमेत सम्पूर्ण जगत्लाई पहिल्यै नियन्त्रणमा लिनुपर्ने मान्यता राखियो। भविष्यलाई समेत नियन्त्रिण बनायो। जगत्भन्दा बाहिरको कल्पनामार्फत मानवीय जीवनको भेद खोल्ने कथाहरू भ्रामक हुन थाले।

तर वैदिक कालमा देवदेवीलाई अलौकिक पात्रका रूपमा लिइँदैन्थ्यो। मानिसको जीवनभन्दा बाहिर ईश्वरको कुनै असत् थिएन। न छुट्टै कुनै अस्तित्व थियो। दर्शनको भाषामा मानिसको जीवनभन्दा बाहिर ईश्वरको जीवनको कुनै स्वअस्तित्व थिएन। आधुनिक अर्थमा धर्मशास्त्रलाई जसरी बुझिन्छ मिथक त्यसबारे थिएन। मिथक मूलतः मानवीय अनुभवबारे, जीवनलाई अर्थपूर्ण बनाउनेबारे थियो। जसरी मानिस प्रकृति र अन्य प्राणीसँग अनन्य प्रकारले जोडिएको छ, त्यसरी नै ईश्वरसँग पनि जोडिएको छ भनियो। देवदेवीलाई प्रकृतिको मानियो। मानिस पनि प्रकृतिकै हिस्सा थियो। प्रकृति र त्यससँग गाँसिएको जगत् एउटै थितिमा बाँधिएको थियो।

मानिसले मिथकद्वारा सिर्जना गरेको ईश्वर मानवीय जीवनका अभिन्न हिस्सा थिए। देवता र राक्षसमा समेत मानवमा पाइने सम्पूर्ण भाव थिए। उनीहरूका पनि सन्तान र बालबच्चा थिए। उनीहरू उस्तै तत्वले बनेका थिए। राक्षसको मृत्यु हुन्थ्यो। देवताले आफ्नो प्रयोजन सकिएपछि अर्कै रूप धारण गर्थे। देवता र मानिसबीच लामो समयसम्म सत्वको अस्तित्वलाई लिएर खाडल थिएन। दुवै कथाका पात्र थिए। दुवै प्रकृतिका हिस्सा थिए। कतिपय अवस्थामा मानिसले भगवान्को चर्चा गरिरहँदा आफ्नो नित्य कार्यको चर्चा गरिरहेका हुन्थे।

ईश्वरको उपस्थिति उनीहरूका लागि प्रकृतिमा अवस्थित हिमाल, नदी, समुद्र, आँधी, गुफा, जंगलभन्दा फरक थिएन। अन्य मानवीय भावना पनि परलोकमा प्रचुर थियो। माया, क्रोध, काम आदि जसले नरनारीलाई क्षणिक कालका लागि अर्कै अवस्थामा पुयाउँछ। परलोक पनि त्यस्ता भावनाबाट मुक्त थिएन। मिथक विज्ञान पूर्वको मानवीय समाजमा कल्पनाको सारथि थियो।

मानवीय जीवनका जटिलतालाई विशिष्ट रूपमा जुध्न मिथकले सहयोग गर्थे। सम्पूर्ण जगत्का आफ्नो ठाउँ ठम्याउन मिथकले सघाउँथ्यो। मानवलाई जगत्को सृष्टिबारे जान्न मन छ। आफ्नो उत्पत्तिबारे थाहा पाउन मन छ। तर इतिहासको गर्तमा हाम्रा पुर्खाका उत्पत्ति हराएको छ। हामीले हाम्रा पुर्खाबारे केवल मिथक रचेका छौँ। प्रत्येकपटक एउटा नयाँ पुरातात्िवक खोजले हामीले कथेको कुनै मिथकको उपादेयता सकिन्छ। त्यसैले मिथकहरू कतिपय अवस्थामा ऐतिहासिक छैनन्।

त्यसो त हाम्रो इतिहाससम्बन्धी ज्ञानलाई समेत कुनै नयाँ ऐतिहासिक खोजले विस्थापित गर्छ। जसरी सीमित ऐतिहासिक ज्ञानको आधारमा वा कतिपय अवस्थामा वर्तमान स्वार्थको आधारमा हामी इतिहासको चर्चा गर्छौँ त्यसरी नै मिथकले पनि आफ्नो सीमा रचेका छन्। यद्यपि लामो समयसम्म मिथककै सहारामा हामीले मावन उत्पत्तिबारे घोत्लिने मौका पायौँ। मिथकले मानवीय जीवन बुझ्न कथाहरू रचे। प्रकृति र ब्रह्माण्डबारे भेद खोज्ने चेष्टा गरे। मानवीय स्वभाव अनि हाम्रा रीतिरिवाज, छिमेकी र परिवेश बुझ्न मिथकहरूले सघाए।

मानव समाज कहाँ जान्छ भन्ने हामी बुझ्न चाहन्छौँ। हाम्रा चाहनाअनुरूप मिथकमा मृत्युपर्यन्तको अवस्थाबारे कथाहरू रचिए। यद्यपि मिथकले मानिस अविनाशी छ, मानवीय समाजको विनाश हुँदैन भनेर भनिहाल्दैन। त्यस्ता मिथकहरू भए पनि अपवाद हुन्। मानिस त्यस्तो दिव्य अवस्था अनुभूत गर्न लालायित छ जहाँ उसले सामान्य दिनचर्याभन्दा बृहत्तर आनन्दको अनुभूति गरोस्। मिथकको माध्यमबाट मानिसले आफ्नो अवस्थाभन्दा बृहत्तर संसारको आनन्द लियो। मानवीय भोगाइलाई सार्वभौम बनायो।

मिथकमार्फत मानिसले चिरस्थायी दर्शनको जग बसाल्यो। त्यसैले मिथकहरू मानिसमा निहित जन्मजात बोधका बहुरंगी अभिव्यक्ति हुन्। मिथकले आँखाले जे देखिन्छ मानवीय जीवनको अर्थ त्योभन्दा विशाल छ भन्यो। मिथकले निर्माण गरेको संसारमा भौतिक जगत् मात्रको अभिव्यक्ति छैन। मिथकभित्र सम्पूर्ण खगोल अटाउँछ। त्योभन्दा बाहिर केही छ भने त्यो पनि समेटिन्छ।

आधुनिक समाजले मिथकलाई भ्रमपूर्ण ज्ञान मान्छ। किनकि आधुनिकता ग्रिककालीन लोगोस्को आधुनिक अभिव्यक्ति हो। आधुनिक लोगोस् फरक किसिमको आर्थिक जगमा निर्माण भएको छ। अहिलेको समाज कृषिबाट उत्पादित अतिरिक्त मूल्यमा आ िश्रत छैन। अहिलेको समाज प्रविधिको पुनरावृत्तिमा निर्माण भएको छ। स्रोतको व्यापक परिचालन गर्न प्रविधिले आफूलाई रूपान्तरित गर्दै निरन्तर पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ। त्यसरी विस्तार गरिएन भने नयाँ अर्थतन्त्रको जग खस्किन्छ। यस्तो आधुनिक समाजले मानवीय सभ्यताको परम्परागत संस्कृतिमाथि निरन्तर प्रहार गरिरहेको हुन्छ। आजको स्थितिमा नयाँ विचार निरन्तर प्रयोजनवादी हुनैपर्छ। तर प्रत्येक नयाँ कल्पनालाई व्यावहारिक ज्ञानमा रूपान्तरण गर्न, समाजमा उपयोग हुने पूर्वाधारमा बदल्न ठूलो धनराशि चाहिन्छ।

धेरै स्रोतसाधनको सहयोगमा मात्र कल्पनामा निहित प्रविधिलाई ठोस प्रयोजनका लागि रूपान्तरण गर्न सकिन्छ। यस्तो ज्ञानले कृषिमा आधारित समाजलाई रूपान्तरित गर्न चाह्यो। औद्योगिक समाजमा रूपान्तरण। कृषिको आधुनिक रूपान्तरण। ताकि नयाँ राजनीतिक र सामाजिक क्रान्तिका लागि नयाँ किसिमका कल्पना सहायक बनून्। यस्तो अवस्था हासिल गर्न नयाँ किसिमको वौद्धिक जागरणको माग गरियो।

त्यस्तो जागरण जहाँ मिथक प्रयोजनविहीन रह्यो। भ्रमपूर्ण र गलत ठहरियो। मिथक केवल मिथ्याको कुरामा परिणत भयो। तर यस्तो आधुनिक मान्यताले समेत नयाँ मिथक रच्यो। विज्ञानले लिएर आएको वा आइरहेको मानवीय संकटले त्यसतर्फ इंगित गर्छ। भनौँ न, आधुनिकतालाई सहयोग गर्ने किसिमका मिथक हामीले रचिरहेका छौँ।

( @gabhaskarविराटनगरस्थित सामाजिक तथा नीतिगत अनुसन्धान गर्ने नर्थ साउथ कलेक्टिभ्ससँग आबद्ध राजनीतिशास्त्री हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.