पम्फाको गर्भ–विद्रोह
नाटकमा पात्रसँगै मञ्च आफैँ पनि बोलिरहेको हुन्छ। कथाबाहेक मञ्चमा देखाइने साजसज्जा, संकेत, ध्वनि, रंग, प्रकाशदेखि मौनतासम्मले विशेष अर्थ राख्छ। ‘गर्भ छिटा’ नाटकमा यो पक्ष बलियोसँग गाँसिएर आएको छ। नाटकको हरेक पक्षमा आञ्चलिकता भेटिन्छ। लवज, भाषा, विम्ब, पहिरन, शृंगार, नृत्य, गायन, रंग र ढंग हरेकमा मुगु–कर्णाली देखिन्छ।
हालै सम्पन्न ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को सन्दर्भमा कर्णालीको प्रतिनिधित्व गर्दै काठमाडौँ आएको कर्णाली थिएटर मुगुको प्रस्तुति हो, ‘गर्भ छिटा’।
‘गर्भ छिटा’ अर्थात् छोराछोरी गर्भमै छँदा विवाह गरिदिने चलन। कर्णाली भेगमा प्रचलित ‘गर्भ छिटा’ बालविवाहभन्दा कठोर छ। औपचारिक कागजमा देशमा बालविवाह बन्देज छ, तर व्यवहारमा जारी छ। कर्णालीमा पनि औपचारिक रूपमा गर्भ छिटाको चलन पुरानो भइसक्यो, तर समाजमा यसका अवशेषहरू बाँकी नै छन्।
‘गर्भ छिटा’का लेखक÷निर्देशक हीरा बिजुली नेपालीले त्यही अवशेषको पीडा उतारेका छन् नाटकमा। आज पनि कर्णालीमा बिहे गर्दा जात र खानदानलाई केन्द्रमा राखिने अवस्था विद्यमान छ। परम्परागत प्रथाको छाया गडेर बसेको यस भेगमा परिवारको स्वार्थ र खुसीका खातिर अघोषित ‘गर्भ छिटा’ अझै अभ्यासमा छ। यस्तो अभ्यासले कर्णालीका युवकयुवती आफ्नो रोजाइको साथी र जीवन बाँच्न नपाउने स्थिति छ।
‘गर्भ छिटा’की मूल चरित्र पम्फा यस्तै पात्र हुन् जो गर्भमा छँदै कुटुम्बहरूको निर्णयको सिकार बन्छिन्। परिवारले रोजिदिएको पम्फाको लोग्ने बोल्न नसक्ने छ। पम्फा आफैं भने आफ्नो घरको कमारो चाउरोलाई प्रेम गर्छिन्। तर उनको प्रेममा जात धारिलो तगारो बनेर तेर्सिएको छ।
अरूले बुनेका योजना र अरूले बनाइदिएको बाटो कहिल्यै आफ्नो हुँदैन। त्यसमा न सन्तोष मिल्छ, न त अपनत्व नै। पम्फाको जीवनमा पनि न सन्तोष छ न त अपनत्व। उनी कुटुम्बको निर्णयलाई आत्मसात् गर्नै सक्दिनन्। समाजको चलनमा बाँधिन नसक्दा उनको जीवनमा जटिल अप्ठ्याराहरू आउँछन्। पम्फाको यही जटिल यात्रा नै ‘गर्भ छिटा’को मूल कथा हो।
गर्भ छिटाको कथालाई कर्णाली समाजमा जरो गाडेर बसेको जातीय उत्पीडनको मुद्दासँग मार्मिक रूपमा बुनिएको छ। नाटकको पहिलो दृश्यमा हुक्का तान्दै गरेका वृद्ध देखिन्छन्। नेपथ्यमा सहनाईको धुन बजिरहेको छ। घरमा उनकी श्रीमतीबाहेक कामदारहरू पनि छन्। तर कामदारहरू घरबाहिर छन्। भित्र र बाहिरको संकेतका लागि बार लगाइएको छ। बारभित्र घर छ र बारबाहिर समाज।
घरमा थोरै सदस्य छन् तर उनीहरू बाँच्ने ठाउँ फराकिलो छ। किनकि उनीहरू गाउँका ठालु हुन्। धेरै जना बाँच्ने समाजका अन्य पात्रको परिधि भने साँघुरो छ। किनकि घरबाहिर देखिने पात्र दलित हुन्। जो मान्छे हैनन् कमारा हुन्। नाटकमा देखाइने त्यही साँघुरो परिवेशमा खुम्चिएर चाउरिएको पात्र हो चाउरो दमाई। चाउरो दमाईका लागि गोठ नै घर हो र घर नै गोठ।
हुनलाई त, चाउरो दमाई नाटककी मूल पात्र पम्फाको प्रेमी हो। तर समाजको नजरमा ऊ पम्फाको प्रेमी हुन अयोग्य छ। उसको अयोग्यताको कसी उसको जात हो। समाजले जातलाई प्राथमिकता दिए पनि प्रेमले जात मान्दैन। पम्फा प्रेममा यति आशक्त छिन् कि अर्को व्यक्तिसँग विवाह भइसक्दा पनि उनको चाउरोप्रतिको माया घट्दैन।
तर चाउरे दमाई भने आफ्नो नाम झैं दबिएको छ। कतिसम्म दबिएको छ भने पम्फाको माया र आँट पाउँदा पनि ऊभित्र हौसला भरिँदैन। यस्तै संकटबीच रुमल्लिएको छ नाटक, ‘गर्भ छिटा’।
लेखकले आफ्नो कथा भन्ने साहस गर्नुपर्छ भन्ने मान्यता राख्ने निर्देशक हीराको जीवनकै पनि नजिक छ नाटकको कथा। उनी भन्छन्, ‘मेरा बाले पनि एक जनासँग गर्भछिटा हान्नुभथ्यो। एसएलसीपछि म काठमाडौँ पढ्न आएँ। मेरो परिवारले जारी तिराउने कुरा गरे पनि मैले मानिनँ।’ गर्भ छिटाकै असर हो, हीरा आज पनि भावनात्मक रूपमा ती केटीसँग जोडिएको पाउँछन्।
मुगुमै जन्मेका हीराले आफ्नो अनुभव र सामाजिक प्रचलनलाई मिसाएर यो नाटक लेखे। महोत्सवका क्रममा थिएटर मल, कीर्तिपुरमा मञ्चन भएको नाटक मण्डला थिएटर, काठमाडौंमा दुई हप्तासम्म प्रदर्शन भयो। धेरैले प्रतिक्रिया दिए, ‘कर्णालीको सांस्कृतिक चित्रण जीवन्त लाग्यो।’
लोकसंस्कृतिमा सम्पन्न छ, कर्णाली। ‘गर्भ छिटा’ हेरिरहँदा पलपलमा त्यो सम्पन्नता झल्किन्छ। सांस्कृतिक रूपमा कर्णाली सम्पन्न त छ तर यहाँका धेरै भाका, लय र धुनहरू मर्दै गएका छन्। कर्णाली थिएटर मुगुले अनुसन्धानका क्रममा संकलन गरेका धेरै भाका यस नाटकमा प्रयोग भएका छन्। नाटकको एउटा विशेषता यो पनि हो।
पुरानो पुस्तामाझ जसोतसो बाँचेको कर्णालीको पुसे भैलोलाई नाटकको थिम संगीत बनाइएको छ। मूल पात्र पम्फाको नाटकभित्रको यात्रा यही थिम संगीतको जगमा अघि बढ्छ।
बीचबीचमा प्रयोग भएका देउडा र मागलजस्ता स्थानीय भाकासँगै दमाई लड्कन्या, छोटी र बाक्टे नृत्यको समायोजनले दर्शकलाई कर्णालीकै परिवेशमा पु¥याउँछ। दमाहा, सहनाई, मुजुरा आदि बाजाको धुनले मन हर्छ।
हाम्रा अधिकांश नाटकमा सांस्कृतिक पक्षलाई देखाउनकै लागि भनेर बीचबीचमा ‘फिलर’का रूपमा प्रयोग गरिन्छ। तर गर्भ छिटाका घटनाहरू नै सांस्कृतिक छन्। मञ्चमा जे देखिन्छ, कृतिमताविहीन र जीवन्त लाग्छ। दैनिक जीवनमा जे जसरी बाँचिन्छ, उसरी नै मञ्चमा उतारेजस्तो।
२०६४ सालदेखि कर्णालीको रंगमञ्च र संस्कृतिका क्षेत्रमा काम गर्दै आएको छ कर्णाली थिएटर मुगुले। परम्परागत कुरीतिमाथि टिप्पणी गर्दै संस्कृतिका सुन्दर पक्षको संरक्षण र प्रवद्र्धन गर्ने अभ्यासको महŒवपूर्ण कडी हो गर्भ छिटा।
आफू बाँचेको समाजका विकृतिमाथि प्रश्न गर्ने दृष्टि दिनु कला र कलाकारको काम हो। ‘गर्भ छिटा’मार्फत यो समूहले त्यही काम गरेको छ। कर्णालीको सांस्कृतिक सम्पन्नतालाई उजागर गर्दै परम्पराको असल र खराब पक्षबारे घोत्लिनलाई नाटकले प्रशस्त ठाउँ दिएको छ।
मुगुबाट आएको नाट्य टोलीको काठमाडौँ आगमन यात्रा भने सहज रहेन। मुगुबाटै १८ जनाको कलाकार र नाटकमा प्रयोग हुने सबै सामग्री ल्याउने काम स्वाभाविक रूपमा झन्झटिलो थियो। त्यसमाथि हिँड्ने बेला परेको तीव्र हिमपातले गाडीमा आउने योजना विफल भयो। यात्रा–पीडा सुनाउँदै हीरा भन्छन्, ‘हिउँ पर्यटकका लागि आकर्षण र हामी मुगुवासीका लागि दुःखको प्रतीक हो। गाडीमा आउँदा महोत्सव छुट्ने भएपछि यहाँसम्म आइपुग्न सहयोग मागेरै प्लेनमा आइयो।’
हिमाली भेगका मान्छेको दुःखको प्रतीक हिउँ नाटकको अन्तिम दृश्यमा पनि देखिन्छ जहाँ पम्फाका पाइतालाले गन्तव्य पहिल्याउने संघर्ष गरिरहेकी छन्।
दुःखरूपी हिउँको रङ सेतो छ। नाटकमा पुसे भैलो खेल्दै ‘भैलेरा आया ऋतु जनाया’ गाउँदै हिँड्ने युवतीहरूको पहिरन पनि सेतै छ। नाटकभित्रका विवाहित युवतीहरूले कालो वा रातो लुगा लगाउँदा अविवाहित युवतीहरूले पनि सेतो पहिरन नै लगाउँछन्। पम्फा भने विवाहित भएरै पनि सेतो पहिरनमा देखिन्छिन् सुरुदेखि अन्तसम्मै।
त्यहाँको समाजमा विवाहित भएर पनि सेतो लगाउनु ‘गर्भ छिटा’प्रतिको अस्वीकृति हो। त्यही अस्वीकृतिले पम्फालाई विद्रोही चरित्रका रूपमा स्थापित गरेको छ। ‘सामाजिक रूपान्तरणका लागि नाटक’ थिममा सम्पन्न ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा यो नाटक छनोटमा पर्नुमा पम्फाको यही विद्रोहीपना मुख्य आधार मानिएको हुनुपर्छ। @meeprabhakar स्वतन्त्र कला अनुसन्धाता हुन् ।