स्यापियन्स द‍ृष्टि (फोटोफिचर)

स्यापियन्स द‍ृष्टि (फोटोफिचर)

ती मान्छे भाग्यमानी हुन् जसले प्रकृतिको भव्य, भीषण र अनगिन्ती स्वरूपहरूमा आफू रमाउने कारण भेटन सक्छन्। र, स्नेहले चुम्न सक्छन्। प्रकृतिका अद्भुत छटाहरूमा आल्हादित हुन सक्छन् र प्रकृतिप्रति असीम श्रद्धा जगाउन सक्छ। त्यस्ता मान्छेका लागि जीवन पुनर्ताजगीको डोज हर पल उपलब्ध छ।

अफ्रिकाको घाँसे मैदानमा शत्रुको आँखामा छारो हाल्न लाखौं वर्ष लगाएर शरीरमा अनौठो रंग/ढाँचाको विकास गरेका जेब्राको अध्ययन गर्दा छक्क परेका प्राणीशास्त्री ह्यु बी कटले यस्तै केही भनेका थिए।

भीमकायदेखि हाम्रो नांगो आँखाले नदेखिने आकारका सालाखाता ५० लाखभन्दा बढी जीवनका स्वरूप छन् यो दुनियाँमा। अस्तित्वमा आएका प्रजातिमध्ये एक प्रतिशत मात्रै हो यो संख्या। बाँकी हामीलाई केही अवशेष सुम्पेर लोप भएछन्। मान्छे नामको स्यापियन्स मझौला आकारको प्राणीमा पर्ला। औसत ६ फिट उचाइ र जम्माजम्मी ४०/५० को चेतनशील औसत आयु लिएर विकसित यो स्यापियन्सको संसार हेर्ने, देख्ने र बुझ्ने आफ्नै इन्द्रिय/मस्तिष्क जनित सीमाहरू छन्। यही सीमासहितको दृष्टिले ठूलासाना जीवको परख गर्नु चुनौती र रोमाञ्चक अनुभूति पनि हो। हाम्रो आमआँखाले देख्दै आएका औसत आकारभन्दा केही ठूला र साना वस्तु देख्न हामीले अलि जोडबल गर्नुपर्छ। यस्तै आमआँखाबाट अनदेखा हुने केही मसिना दृश्य हुन् यी।

यस्ता फोटोहरू देखेर आममान्छेमा आउने पहिलो प्रतिक्रिया हो— यस्तो पनि देखिन्छ र ! मैले त ध्यानै दिएको थिइनँ। देखिन्छ। मात्र परख गर्ने आँखा र रमाउने रुचि हुनुपर्छ। कहिलेकाहीँ रुचि हुँदाहँुंदै पनि प्रकृतिका अद्भुत दृश्य नदेखिन सक्छन्। कहिले हाम्रो इन्द्रियको सीमाको कारण त कहिले केही दृश्यको निमेषभरको आयुको कारण।

फोटोग्राफीमार्फत म यही एक निमेषका दृश्यलाई अनन्तका लागि कैद गर्छु। तपाईंको नजर नपरेको कोणबाट म ती दृश्यलाई उतार्न खोज्छु। हुन सक्छ, यो हेरेर तपाईं अर्काेपटक कुनै शीतको थोपामा छेवैमा रहेको फूलको परावर्तन खोज्नुहुनेछ। सेताम्मे फूलमा रातो सुनपंखी कीराको कन्ट्रास्टमा तपाईँलाई कुनै तैलचित्रको झल्को देख्नुहुनेछ। पराग बटुलिरहेको पुतलीको क्रीडा हेरेर रमाउनु हुनेछ।

सबैभन्दा ठूलो कुरोचाहिँ के भने तपाईं यसरी रमाउन सक्नुभयो भने; यस प्रकृतिका जीवहरूको विविधता र विकास देखेर दंग पर्न सक्नुभयो भने यस सृष्टिको उन्नत प्राणी आफू मात्रै हो भनेर पाल्नुभएको अहं वाफिएर उड्छ। यो बृहत् जीवन वृक्षमा आफू कुनै एक सानो हाँगो मात्रै हो भनेर बोध गर्नु एक असीम आनन्द हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.