अघोरी कामरेडको सपना
सिंहदरबारको धुरीमा टाङ फारेर
अश्लील देशदर्शनमा छन् अघोरी कामरेड।
ढकनी बन्द समृद्धिको दूरबिन घुमाउँछन्
देखिन्छ-अत्याधुनिक सपिङ सेन्टर
जहाँ आफैँले आफैँलाई बिक्री गर्न मानिस तम्तयार छन्
ठीक हो आफैँले आफैँलाई नबेचे कसरी हुन्छ क्रान्ति ?
क्रमशः दूरबिनले फन्को लाउँछ
चन्द्रागिरि, स्वयम्भू, बौद्ध, पशुपतिनाथ...
लाऽऽऽ शिवजी फेरि पार्वतीको सम्झनामा हस्तमैथुन गरिरहेछ
च्व ! च्व ! वीर्य त्यसै खेर गइरहेछ
बुटीमा मिसाएर खुला बजारमा पठाइदिए त चमत्कार हुन्छ !
दूरबिनलाई विस्तारै बाग्मतीमा डुबाउँछन्
स्क्रिनमा उल्टो देखिन्छ आर्यघाट
मुर्दाले जिउँदालाई श्रद्धाञ्जलि चढाइरहेछन्
गुहुमुतको दलदलमा मुर्दाले मुर्दा जन्माइरहेछन्ध
न्य छन् दैव, आफ्नो काम गरी नै रहेछन् !
ठीकठाक चलिरहेको छ सृष्टि
ओभरकोटबाट वीरमसानको नलीहाड झिक्छन्
सल्काउँछन् तानेर धुवाँ दुई तिहाइ
एक तिहाइ ठुटो संसद्भवनतिर मिल्काउँछन्
पाप धुरीबाट कराउँछ भन्थे, खोइ त ?
इतिहास धमिलो चलमलाउँछ सम्झनाको दूरविनमा-
आन्दोलन, युद्ध, घोषणापत्र, चुनाव...
सहिद, घाइते कार्यकर्ता, लडाकु दस्ता...
सत्ताको इन्द्रजालमा पाप न साँप !
विजेता भावमा आफ्नो काँधमा मार्छन् धाप।
तब ढकनी बन्द दूरबिन जो छ समृद्धिको
रासायनिक हतियारझैँ चार भञ्ज्याङपारि सोझ्याउँछन्
पूर्व–पश्चिम, उत्तर–दक्षिण
टाढा–टाढासम्म अवलोकन गर्छन् वाह रे वाहऽऽऽ
रेल हो कि गोरुगाडा हो देहातमा कुदिरहेको !
नारायणी किनारमा गिठ्ठा पखालिरहेकी चेपाङ आमालाई
चन्द्रसूर्य ध्वजावाहक पानीजहाज देख्छन्।
खबरदार ! को हो त्यो सुदूरपूर्वबाट
धनुकाँड सिंहदरबारतिर ताकिरहेको ?
त्यसको सास फेर्ने हावा
जरसाबको ट्यांकको चक्कामा कैद गरिदेऊ।
रिसले दूरबिन पूरै पश्चिम दिशामा फर्काउँछन्
छाउगोठ भत्काइरहेछन् किशोरीहरू
मूलबाटोमाथि खुकुरीसँग उभिएका छन् विश्वकर्मा बाबा
एउटा कमैया राजासाबको आँगनमा चम्काइरहेछ भाला
रिसले रन्थनमा हुकुम गर्छन्-
यी सप् चिम्पान्जीलाई पर्यटनमा लाइदेऊ
राजधानीको चिडियाखानामा पठाइदेऊ !
तनाव हटाउन
पहाडै पहाड कल्पनाको प्याराग्लाइडिङ सयर गर्छन्
क्या स्वच्छन्द !
चरा हुनुपथ्र्यो मानिस
त्यसमा पनि गिद्ध हुनुपथ्र्यो गिद्ध
सिनु लुछेरै संसार हुन्थ्यो समृद्ध
मान्छे हुनुको दुःखभावमा ओर्लन्छन् रारा ताल
आहा, क्या चञ्चल, क्या स्निग्ध !
पानीजस्तो पातलो हुनु पर्दैन मानिस ?
विचार, सिद्धान्त, आदर्श, मूल्य, चेतना...
छ्या ! के–के, के–केले बित्थामा मानिस जब्बर हुन्छ।
सलाम गर्दै राराको पानी
ताललाई तालतालमा क्याप्चर गर्छन्
ताल हेरेरै यत्ति सन्तुष्ट हुन्छन् कि ढ्याउ नै मार्छन्
चढ्छन् विश्वकै दसौँ आश्चर्य सपनाको केबुलकार
जुन सगरमाथासम्म सुचारु छ हिमालैहिमाल
निर्वस्त्र नाच्दै गाउँदै आइपुग्छन् बल्ल समृद्धिको शिखर
खुसीमा दूरबिन उठाएर अन्तरिक्षतिर
फुत्त के उफ्रिन्छन् चन्द्रमामाथि
अघोरी कामरेड
शयनकक्षको पलङबाट भुइँमा बजारिन्छन्
ब्यूँझँदा पलङ सगरमाथाझैँ दुर्लंग्य बन्छ
उठ्न खोज्छन् भुइँसँग सानो गुनासो गर्दै
हे धरतीमाता !
सपना देख्न नहुने कसले षड्यन्त्र गरिरहेछ ?