मलाई मेरो शरीरसँग काम गर्ने मन छ
मेरो शरीर उपयुक्त छैन। मेरो मेकअप उपयुक्त छैन। मेरो छाला पर्याप्त छैन। मेरा आँखा हुनुपर्ने जति ठूला छैनन्। मेरो कम्मर, पिँडुला। आमा भए काम गर्नुपर्छ। काम गरे आमा हुनुपर्छ। विविध सामाजिक र सांस्कृतिक बोधले जति गरे पनि नपुग्ने बनाइरहेको छ। मापदण्ड तोकिरहेको छ। त्यो अधिकार उनीहरूलाई कसले दियो ?
सिख परिवारमा जन्मिएकी दीपिका अरविन्द भारतीय नाटक जगत्मा चर्चित नाम हो। उनले ‘दी हिस्ट्री अफ हेयर’, ‘नो रेस्ट इन दी किङ्डम’जस्ता नाटकको लेखन र निर्देशन गरी महिला समानता, पहिचान र अधिकारका विभिन्न पक्षमा आवाज उठाएकी छन्। भर्खरै राजधानीमा सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा उनको नाटक ‘आई एम नट हियर’ मञ्चन भएको थियो। त्यसै अवसरमा उनीसँग सुरज सुवेदीले गरेको गफगाफ :
ब्रोसरमा महिलाले लेखेका प्रतिबन्धित नाटक खोजिरहेकी थिएँ, लेख्नुभएको छ। त्यस्तो नाटक किन चाहियो ?
-बाहिरबाट थिएटर धेरै समावेशी छ जस्तो देखिन्छ तर यथार्थ त्यस्तो छैन। हाम्रो प्रतिनिधित्व यहाँ पनि न्यून छ। थिएटरमा ती सबै समस्या छन् जुन समाजमा हुन्छन्। पितृसत्ता, पुरुषको कर्कस आवाज, पुरुषद्वारा सञ्चालित संस्था, यस्तैयस्तै स्वरूपमा। संस्था, महोत्सव, सबैतिरको प्रमुख पनि पुरुष नै। तपाईँ आफ्नै वरपर हेर्नुहोस्। कुनै यात्रामा महिला लामो समयदेखि सँगै छन् तर पनि केन्द्रमा अरू नै कोही घुमिरहेको छ। त्यसैको जवाफ खोज्ने क्रममा थिएँ। त्यसैले मलाई प्रतिबन्ध लागेका महिलाका नाटक खोज्ने मन भयो। धेरै भेट्न सकिनँ। दुईवटा भेटेको थिएँ तर ती एकदमै कम लागे। प्रतिबन्ध लाग्ने नाटक हुन त पहिला उनीहरूले लेख्नुपर्यो। लेख्न पाउनुपर्यो।
सेन्सरसिप तपाईँको लागि के हो ?
-यो नाटकमा सेन्सरसिप फरकफरक तरिकाले देखाइएको छ। यहाँ केवल बाह्य प्रतिबन्धको कुरा मात्र छैन। प्रतिबन्ध लगाउने एकदमै सूक्ष्म तरिकाहरू केलाएकी छु। ती झट्ट हेर्दा प्रतिबन्ध जस्तो लाग्दैनन् तर हुन्। कसैलाई भान्सामा सीमित गर्नु प्रतिबन्ध हो। त्यही कुरा लेखनमा पनि लागू हुन्छ। कसैलाई ‘तैँले गरेको पर्याप्त भएन’ भनिरहनु पनि प्रतिबन्ध हो। अझै काम गर भनेर दल्नु पनि प्रतिबन्ध। कसैले महिलाको बारेमा हुनै नसक्ने कुरा लेखिरहेको छ भने पनि प्रतिबन्ध लगाइरहेको छ। मैले यो सबै कुरा जुवाना रसको ‘हाउ टु सप्रेस दी विमेन्स राइटिङ’ भन्ने किताबबाट लिएको हुँ। त्यो किताबले यो नाटकको आधार तयार पार्न मद्दत गरेको छ।
तपाईँ पहिला पत्रकारिता पनि गर्नुहुन्थ्यो। त्यो अनुभवले रंगकर्मीको रूपमा के गर्यो कि गरेन ?
-मैले पत्रकारिता छोटो समय गरेँ। जति गरेँ, त्यसले धेरै नयाँ कुरा खोज्न मद्दत गर्यो। मलाई मान्छेको कुरा सुन्न मन पर्छ। त्यही सुन्ने तथा बुझ्ने इच्छाले सामाजिक न्याय तथा अन्य विषयहरूको नजिक लिएर गयो। मैले सहरका गरिब महिला र बच्चाको बारेमा लेखेँ। पत्रिकाको सेक्सन नै ‘सहरी गरिब’ दिइएको थियो। झट्ट सुन्दा अनौठो लाग्ने यो शब्दमा गहिरो पीडा छ। असमानता र दूरी छ। अर्को ठाउँबाट आएका लाखौँ मानिस कुनै सहरमा गरिबी बाँचिरहेका छन्। ती आफ्नो लागि हैन अरू मान्छेको लागि सहर बनाउँदै छन्। त्यो अनुभवले मेरो संसारलाई हेर्ने मेरो नजर बदलिदियो। मैले कुनै पनि कुरालाई ‘यस्तै त हो’ भनेर बेवास्ता गर्न छोडेँ।
सहर बनाउने मान्छे र पुरुषलाई बनाउन आफूलाई सीमित गर्ने महिलामा समानता छ उसो भए ?
-हो। यो एकदमै समानान्तर कुरा हो। त्यसैले नाटकमा हामीले एकदमै सानासाना सेन्सरसिप देखाउन खोजेका हौँ। त्यो भान्सामा, सुत्ने कोठामा, पत्रिकामा छापिने लेखमा जहाँ पनि भइरहेको हुनसक्छ। यो भन्दा ठूलाठूला सेन्सरसिप पनि भएका छन् जुन यस्तै साना सीमितताका विकसित रूप हुन्। महिलालाई पुस्तैदेखि यसरी नै आवाजविहीन बनाइएको छ। नाटकको एउटा दृश्यमा महिला लेखक पात्र आफ्नो लेखनमाथि पत्रिकामा छापिएको समालोचना पढ्छिन्। उनले लेखेको कुरालाई कसैले ‘इजी फेमिनिस्ट थिङ’ बुझिदिएको छ। महिला विषयमा बोल्नेलाई अहिले पनि ‘इजी फेमिनिस्ट थिङ’मा सीमित गरिदिएको छ यो समाजले।
नाटकको महिला पात्रले ‘मैले जति गरे पनि पुग्दैन’ भनिरहँदा एक निर्देशकको रूपमा थिएटरमा कस्ता विषय झ्यांगिनु पर्छ जस्तो लाग्छ ?
-हामीलाई थिएटरमा अझै धेरै महिला कथा चाहिएको छ। मञ्चमा तथा पर्दापछाडि सबैतिर महिला पुग्नुपर्छ। राजनीति, खेलकुद, व्यापार सबैतिर। सिंगो समाजमा महिलालाई कसैको लागि गर्नुपर्ने अवस्था हैन, आफूलाई चाहिए जति गर्ने तथा नियन्त्रण गर्न सक्ने अधिकार चाहिएको छ।
तपाईँ युवापुस्ताका लागि पनि लेख्नुहुन्छ। यस्ता कुरा नयाँ पुस्तालाई सुनाउनु किन जरुरी छ ?
-किनकि उनीहरूलाई यो कुरा जान्नु जरुरी छ। युवापुस्ता कुरा नबुझी आफ्नो विचार बनाइरहेका छन्। सानै उमेरबाट नसिकाए बनिसकेको विचार बदल्न समय लाग्छ। विशेषगरी सहरका बच्चाहरूलाई यस्तो कुरा थाहा छैन। उनीहरूले सुखसयलमा हुर्किएका छन्। जे जे चाहिन्छ पाएका छन्। ‘यस्तो पनि हुन्छ र ? ’ आँखीभौँ उचाल्छन्। उनीहरूलाई एकदमै धेरै गलत कुराहरू भनिएका छन्। केटाहरूलाई अझ बढी। युवापुस्ता खराब तरिकाले हुर्किनु भनेको समाजका लागि खतरा हो। यसले समस्यामा समस्या मात्र थप्छ। उनीहरूलाई उत्तरदायी हुन सिकाउनुपर्छ। मेहनत सिकाउनुपर्छ। आफूले पाएको चिज कसरी आयो बुझाउनुपर्छ। हामीलाई सबल केटी र असल केटाहरू चाहिएको छ।
कसैलाई बुझ्नुभन्दा कुनै आरोप लगाउनु वा बिल्ला भिराइदिनु किन सहज हुँदै गएको होला ?
किनकि कसैलाई बुझ्नभन्दा नबुझ्न सजिलो छ। हामीकहाँ भइरहेको सबै समस्या यही हो। कसैले कसैलाई बुझेको छैन। भर्खरै न्युजिल्यान्डमा भएको आतंकवादी हमलालाई हेर्नु न। (यो जवाफ उनले ह्वाट्सएपबाट दिएकी हुन्।) मुस्लिम धर्म मान्ने हिंस्रक हुन्छन् भन्नेहरूबाटै अतिवादी जन्मिएका छन्। न पहिला कसैले बुझे न अहिले बुझेका छन्। अतिवादको धर्म हुँदैन। समुदाय हुँदैन। तर त्यसमा पुर्याइदिन सबैले सजिलो ठान्छन्। अरूलाई बुझ्न आफूले पाएका चिजहरू छोड्नुपर्छ। आफूलाई प्रश्न गर्नुपर्छ। जुन सजिलो छैन। कसैलाई कोही भन्दा राम्रो र कसैलाई कोही भन्दा गलत बनाउने क्रम चलुन्जेल समस्या उस्ताको उस्तै रहन्छ।
तपाईँको नाटकमा प्रयोग हुने विम्ब वा प्रब्सहरूमा सिख परिवारमा हुर्कनुले प्रभावित पारेको छ ?
-यो सबैको व्यक्तिगत कुरा हो। हरेक मान्छे निश्चित संस्कृति र सामाजिक वातावरणमा हुर्किएको हुन्छ। एक कलाकार भएको हिसाबले त्यो मेरो काममा देखिएको हुनसक्छ। म आईटी कम्पनीमा काम गरिरहेको हुन्थेँ भनेँ त्यो कुरा अर्कै स्वरूपमा आउँथ्यो होला। म यस्ता कुराहरू खासै सोच्दिनँ। एक कलाकारले आफ्नो देखाइ, अनुभवलाई काममा लिएर आउन सक्छ। कस्तो घरमा हुर्किएको हो, गल्लीमा के देखेको छ, जस्ता कुराहरू उसको कामको भाग भइदिन सक्छन्।
मान्छेहरू कहिलेकाहीँ नहाँस्नुपर्ने दृश्यमा पनि हाँसिरहेका हुन्छन्। त्यो हाँसो कस्तो हो ?
-मानिसहरू नर्भस हुँदा पनि हाँस्छन्। असहज हुँदा, अवरोध हुँदा, पीडा हुँदा पनि हाँस्न सक्छन्। त्यसैले हाँस्ने कुरा यही हो भन्ने निश्चित हुँदैन जस्तो लाग्छ। हाँस्नेलाई कतिपय बेला किन हाँसेँ भन्ने थाहा नहुन सक्छ। आफ्नो असहजताप्रति बेखबर हुन सक्छ। र जब त्यस्तै कुरा स्टेजमा देखिन्छ तब हाँस्न सक्छन्। कहिलेकाहीँ हाँसो अचेतन अवस्थाको देखिने रूप हुन सक्छ। कोही आफूलाई भइरहेको चिजको समाधान नजानेर पनि हाँसिरहेका हुन्छन्।
र एक हिसाबले हाँसोलाई निर्माण पनि गरिएको छ। हामीलाई सधैँ हाँस्नुपर्छ भन्ने कुरा थोपरिएको छ। वी ह्याभ टु ह्याभ फन। दुःखी हुने वा उदास हुने वा विगत सम्झिएर हराउने कुरालाई वर्तमानमा ठाउँ दिन डराउँछौँ। तीबाट भाग्न खोजिरहेका हुन्छौँ। एकान्त। इन्ट्रोस्पेक्सन। मौनता। यस्तो चिजहरूसँग लुक्छौँ। महत्व दिँदैनौँ। चर्को आवाज र रंगीन हाँसोमा पुग्न बल गर्छौँ। तर जीवन यस्तो मात्र हुँदैन। यो बलिउडको फिल्म हैन।
मानिसहरू त्यसरी बाँचेको जीवनबाट भागेर हाँस्ने अपेक्षासहित थिएटर पसेका हुन सक्छन्। वा थिएटरले त्यही सोचेर दृश्य पस्किरहेको हुनसक्छ। त्यसैले उनीहरूलाई नहाँस्ने कुरामा पनि हाँस उठ्छ वा हाँस नउठ्नुपर्ने दृश्य कलाकारले हाँसउठ्दो बनाउँछन्।
तपाईंको नाटकका केही दृश्यमा दर्शकसँग संवाद गर्नुभएको थियो। त्यो किन ?
-यो मानिसहरूसँग सीधा बोल्ने प्रयत्न हो। म दर्शकका लागि प्रस्तुति दिन्छु त्यसैले उनीहरूको नजिक हुँदा सहज हुन्छ। अरू नाटकमा त झन् अझै नजिक ल्याएको छु। यसले उनीहरूलाई नाटकभित्र पस्न सजिलो बनाउँछ। पात्रलाई पात्र भएर महसुस गर्न सक्छन्।
कुनै एक अन्तर्वार्तामा शारीरिक भाषाले आफूलाई एक कलाकारका रूपमा परिवर्तन गरेको छ भन्नुभएको छ। कसरी ?
-भारी शब्द केन्द्रित नाटकको बोझबाट उम्किएको छु। कुनै कुरालाई शब्दले भन्दा शरीरको अनुभवको माध्यमबाट भन्न केन्द्रित हुन्छु। मलाई त्यो अझै सत्य लाग्यो। लाग्छ। मलाई मेरो शरीरसँग काम गर्न मन पर्छ। डान्सरसँग काम गर्न मन पर्छ। किनकि उनीहरूले केही महत्वपूर्ण कुरा थिएटरलाई दिइरहेका हुन्छन्। यसले संसारलाई हेर्ने दृष्टिकोण पनि बदलिदिने रहेछ। कुनै कुरालाई आँखाले देख्नु र शरीरको माध्यमबाट महसुस गर्नु फरक हुने रहेछ।
इतिहास र समाजलाई विभिन्न प्रश्न सोध्नुहुन्छ, किन ?
-मलाई सही वा गलत के हो भन्ने थाहा छैन तर यो महत्वपूर्ण छ। हाम्रो समाज पर्फेक्ट छैन। यसलाई सम्याउन हामीले अप्ठ्यारा प्रश्नहरू त सोध्नैपर्छ। यो अरूको मात्र कुरा पनि हैन। यो हाम्रो कुरा पनि हो। हामी। हाम्रै घर। तपाईँले आफूलाई पनि म यस्तो किन छु भन्ने प्रश्न सोध्नुपर्छ। मैले किन कुनै कुरा स्वीकार गरिरहेको छु ? म किन कुनै प्रश्न सोधिरहेको छैन ? यस्ता प्रश्न आफूलाई पनि सोध्नुपर्छ।
नाटककी एक पात्र लगातार ‘केही पर्याप्त छैन’ भनिरहन्छे। दर्शकलाई ‘छ त ? ’ भनेर सोध्छे। किन ?
-महिलाहरूले कहिल्यै पनि पर्याप्त भएको महसुस गर्न पाउँदैनन्। किनकि एउटा पत्रिका मलाई लेखाइ सामान्य भयो भनिरहेको छ। मेरो शरीर उपयुक्त छैन। मेरो मेकअप उपयुक्त छैन। मेरो छाला पर्याप्त छैन। मेरो आँखा हुनुपर्ने जति ठूला छैनन्। मेरो कम्मर, पिँडुला। आमा भए काम गर्नुपर्छ। काम गरे आमा हुनुपर्छ। विविध सामाजिक र सांस्कृतिक बोधले जति गरे पनि नपुग्ने बनाइरहेको छ। मापदण्ड तोकिरहेको छ। त्यो अधिकार उनीहरूलाई कसले दियो ?
महिलाको हकमा जति गरे पनि पुगेको छैन। जति खुसी बनाए पनि, जति नै राम्रो शरीर भए पनि, जति नै कमाए पनि, जति नै अरूलाई सन्तुष्ट पारे पनि। जति नै दिइरहे पनि। मलाई यही कुरा नाटकमा देखाउनु थियो।
त्यो कुरालाई देखाउन बक्सिङ रिङको सेटिङ कसरी चाहियो ?
-किनकि महिला हुनु एक युद्धभूमिमा हुनुजस्तै हो। धेरैतिरबाट आउने आक्रमणलाई रोक्न उभिनुपर्छ। रोक्न नसके घाइते हुनुपर्छ। केही गरे पनि धर छैन। हरेक राउन्ड सकिँदा नसकिँदै अर्को राउन्डका लागि तयार भइहाल्नुपर्छ। आराम गर्ने समय छैन।
त्यसैले हरेक राउन्डमा हामीले महिलालाई प्रतिबन्ध लगाउने तरिका देखायौँ। तर एक कलाकारका रूपमा महिलालाई कसरी सेन्सर गरिन्छ भन्ने देखाउँदै देखाउँदै हामी स्वयं पनि सेन्सरमा परिसक्छौँ। त्यो देखाइरहनु पनि त सेन्सर हुनु हो। अभिनय सकेर निस्किन्छौँ। झोला बाँध्छौँ। हामी मात्र। महिला मात्र। अरूले त्यो अवस्था भोग्नु परेकै छैन। नाटकमा भएका महिला पात्र पनि सेन्सरमा परिरहेका छन्। त्यो कुकुर बनेको सिन सम्झिनु न। अभिनय गरेकी पात्र कतिन्जेलसम्म आफ्नो पुरानो अवस्थामा फर्किनै सक्दिनन्। अभिनय सकिँदा पनि उनी लगातार त्यही अभिनय गरिरहेकी छन्। त्यो कुकुरलाई कुट्ने सिन चलिरहँदा म आफू पनि निस्किन्छु। सोच्छु, अब म यो अभिनय गर्न सक्दिनँ।
त्यसैले बक्सिङ रिङ खेलमैदानको विम्ब हो। रणभूमिको विम्ब। दर्शक र कलाकारलाई सामुन्ने ल्याउने एक प्रभावकारी तरिका त्यही हुन्छ जस्तो लाग्यो।
अन्तिममा केही भन्न चाहनुहुन्छ ? विशेषगरी अब महोत्सवपछि नेपाली रंगमञ्चमा हुने सम्भावित प्रयोगहरूलाई ?
-मलाई लाग्छ-हामीले थिएटर, डान्स, म्युजिक जेमा भए पनि नयाँनयाँ कला खोजिरहनुपर्छ। पढ्नु र लेख्नु जरुरी छ। सोच्न छोड्नु हुँदैन। सबैले सोच्न थाले भने समाज राम्रो ठाउँ बन्नेछ। थिएटर एक समुदाय हो। यसले मानिसलाई सँगै लैजान्छ। नजिक ल्याउँछ। अरू मानिससँग बसेर स्टेजमा केही चिज हेर्नु सामान्य कुरा हैन। यसले कलाकार र दर्शकलाई एकैपल्ट परिवर्तन गर्छ। यो महत्वपूर्ण अनुभव कायम रहोस्। यसैका लागि त थिएटर गर्छु। तर, सबैले यसलाई गर्नुको आफ्नो कारण र जाने आफ्नो बाटो र भन्ने आफ्नो तरिका भनेँ बनाउनुपर्छ।