आजदेखि आईपीएल : सन्दीप लामिछानेको टिमको पहिलो खेल आइतबार
काठमाडौं : इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।
सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२औं संस्करण हो। प्रतियोगिताको उदघाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।
नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने दोस्रो पटक आईपीएलमा भाग लिदै छन्। सन्दीप आईपीएलमा आवद्ध भएपछि नेपालमा यसको क्रेज बढेको छ। सन्दीप बुधबार नै दिल्ली पुगिसकेका छन्। सन्दीप आवद्ध टोली दिल्ली क्यापिटलले पहिलो खेल आइतबार खेल्नेछ।
दिल्लीले आइतबार राति मुम्बइ इन्डियन्सको सामना गर्नेछ। पहिलो खेलमा सन्दीप अन्तिम ११ मा पर्ने नपर्ने भने टुंगो लागेको छैन। गतसाल सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ने अवसर पाएका थिए।
आजको रोचकता
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स आईपीएलको साविक विजेता टोली हो।
चेन्नईले यसअघि सन् २०१० र सन् २०११ मा पनि उपाधि जितेको थियो। प्रतियोगिताको पहिलो खेल चेन्नईमै खेलिने छ। उद्घाटन खेलमा चेन्नईको प्रतिद्वन्द्वी बैंगलोरको कप्तान भने विराट कोहली हुन्।
प्रतियोगिताको पहिलो दिन एक खेलमात्र हुनेछ । चेन्नईका कप्तान धोनीले उद्घाटन खेलमा आफ्नो टोलीलाई टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम हालै पुलवामा भएको आतंककारी आक्रमणमा ज्यान गुमाउनेहरुको परिवारलाई दिने घोषणा गरेका छन्। चेन्नईका निर्देशक राकेश सिंहले पनि उक्त समाचारको पुष्टि गरेका छन्।
चेन्नई र बैंगलोरबीच हुने उद्घाटनको खेलको टिकट विक्री खुला गरिएको केही समयभित्रै सबै टिकट सकिएको थियो।
धोनी भारतीय टोलीको पूर्वकप्तान र कोहली वर्तमान कप्तान भएकाले पनि यी दुई टोलीबीचको खेलमा दर्शकको ओइरो लाग्ने भएको हो।