ट्रम्पको घोषणाले अमेरिकी अधिकारी तनावमा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ट्विट गर्दै उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी आदेश फिर्ता लिएको घोषणा गरेका छन्।
ट्रम्पको घोषणासँगै अमेरिकी अर्थमन्त्रालयका अधिकारी असमञ्जमा परेका छन्। राष्ट्रपतिले कुन प्रतिबन्धको उल्लेख गरेका हुन् भन्ने थाहा नपाउँदा उनीहरू तनावमा परेका छन्।
ट्रम्पले ट्विट गरेका छन्, ‘अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियामाथि पहिलेदेखि लगाउँदै आएका प्रतिबन्धलाई सशक्त बनाउनुपर्छ। मैले थप प्रतिबन्ध फिर्ता लिने आदेश दिएको छु।’
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले ट्रम्पको घोषणाको कुनै प्रतिक्रिया दिएको छैन। यसअघि नै उनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने घोषणा गरे पनि शुक्रवार थपिएको थिएन।
उत्तर कोरियालाई सहयोग गरेको आरोपमा अमेरिकी प्रशासनले बिहीबार नै दुईवटा चिनियाँ जहाज कम्पनीलाई कारबाही भने गरेको थियो।
ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले भनिन्, ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई मन पराउनुहुन्छ र थप प्रतिबन्ध लगाउने सम्भावना छैन।’ केही सातापूर्व ट्रम्प र किमबीच भियतनामको हनोईमा दोस्रो शिखर वार्ता भएको थियो।