भेनेजुएलाका राष्ट्रपतिलाई समर्थन गर्ने बैंकमाथि अमेरिकी प्रतिबन्ध
एजेन्सी : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोकोको सरकारलाई समर्थन गरेको आरोपमा बैंक बाङको बान्देस र उसका ४ वटा सहयोगी संस्थालाई प्रतिबन्ध लगाएको छ।
मादुरो सरकारले विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगीलाई गिरफ्तार गरेको केही घण्टामै अमेरिकाले यस्तो घोषणा गरेको हो।
अमेरिकाले ग्वाइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएको छ। अमेरिकाको विदेश सम्पत्ति नियन्त्रण अर्थ विभाग (ओएफएसी)ले प्रतिबन्धको दायरामा आएका आर्थिक संस्थाका अमेरिकास्थित वा अमेरिकाको नियन्त्रण्नमा रहेका सबै सम्पत्तिमाथि प्रतिबन्ध लगाइएको छ।
अमेरिकाले भेनेजुएला सरकारको नियन्त्रणमा रहेका बैंक बान्देस र योसँग सम्बद्ध उरुग्वे बाङको बिसेन्तनारियो देल प्यूबलस, बाङको यूनिभर्सल एसए बाङको दे भेनेसुएला र बाङको प्रोदेम एसए अफ बोलिभिया छन्।
विपक्षी नेता ग्वाइदो र उनका सहयोगीलाई गिरफ्तारी गरेको विरोधमा अमेरिकाले मादुरो सरकारलाई राम्रो नहुने चेतावनी दिँदै आएको छ। यसको परिणाम निकै दुःखद हुने अमेरिकी भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता मादुरोलाई अपदस्थ गर्ने सबै विकल्पमा विचार गर्न सकिने बताउँदै आएका छन्।