सात पुरस्कृत २३ अभिनन्दित
काठमाडौं : वनिता त्रैमासिक साहित्यिक पत्रिकाले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा सातजनालाई पुरस्कृत र २३ जनालाई अभिनन्दन गरेको छ।
पूर्वशिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले सबै स्रष्टालाई पुरस्कृत र अभिनन्दन गरे।
वनिता गोपालप्रसाद रिमालबाट अक्षरशिरोमणि मदनमणि दीक्षित, वनिता श्री साहित्य शिरोवर्तीबाट रोचक घिमिरे एवं नगेन्द्रराज शर्मा र वनिता श्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्तीबाट डा. तुलसी भट्टराईलाई अभिनन्दन गरिएको हो।
कार्यक्रममा भद्रकुमारी–उषा ठाकुर भाषा वनिता श्री पुरस्कारबाट प्राडा वासुदेव त्रिपाठी, देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कारबाट केदार शाक्य, वनिता श्री पुरुषोत्तम पाण्डेय गीतसंगीत पुरस्कारबाट टीका प्रसाई र वनिता श्री उन्नति गीतसंगीत पुरस्कारबाट विश्व नेपाली १० हजार नगदसहित पुरस्कृत भए।
व्यथित काव्यबाट मणि लोहनी, विशेष वसु श्री मधुबाट तेजेन्द्र प्रसाई, वनिता जलेश्वरी बालप्रतिभाबाट अभिज्ञा सिटौला र बबिता बस्नेत पाँच हजार नगदसहित पुरस्कृत भए। कार्यक्रममा मोहन दुवाल, डा. शंकर उप्रेती, डा. रामभक्त ठाकुर, रामप्रसाद पन्त, विन्दु सुवेदी लगायतलाई अभिनन्दन गरियो।
वार्षिकोत्सवमा ‘सम्झनाका आलोकमा बालापन’ शीर्षकमा वनिताको विशेषांक विमोचन गरिएको सम्पादक एवं प्रकाशक लक्ष्मी उप्रेतीले जानकारी दिइन्।