पाँच जनाको जिम्मामा ३८ हजार हेक्टर वन
इलाम : इलामको ३८ हजार हेक्टर चुरे र अन्य वन क्षेत्रको सुरक्षाका लागि अहिले जम्मा ५ जना सशस्त्र वन रक्षक तैनाथ छन्। वन विभागको पुनःसंरचनासँगै वन रक्षक र स्थानीय संरचना हटाएपछि तस्करलाई सहज भएको छ।
यसअघि ३३ सशस्त्र वन रक्षकको दरबन्दी रहेको डिभिजन वन कार्यालय इलाममा चुरे क्षेत्रकै इलाका वनका २ कार्यालय हटाएपछि संरक्षणमा थप चुनौतीपूर्ण भएको इलामका डिभिजन वन अधिकृत श्रीप्रसाद बराल बताउँछन्। १२ इलाका वन रहेको चुरे क्षेत्रमा अहिले १० मात्र संरचना छन्। माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, रोङ गाउँपालिका र देउमाई नगरपालिकामा फैलिएको वनका सालका रुख घट्दै जाँदा सरकारले संरक्षण संयन्त्र र जनशक्ति समेत खुम्च्याउँदै लगेको हो। हतियारविहीन वन रक्षक पनि जिल्लामा ४० जना मात्र रहेको उनले जानकारी दिए।
गत वर्ष सालका काठ तस्करी गरिरहेका ८० जनाको समूहले वन रक्षकलाई चुलाचुली गाउँपालिकाको रतुवाखोला चेप्टीमा आक्रमण गरेको थियो। रक्षकहरूले ७ राउन्ड हवाई फायर गरे पनि तस्कर समूह नभागेपछि झापाको बेलडाँगीबाट सशस्त्र प्रहरी बलको सहयोगमा लखेटिएको थियो। पछिल्लो समय डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा भए पनि तस्करी रोकिएको छैन।
माई नगरपालिका र चुलाचुली गाउँपालिकाका विभिन्न नाका र खोलाबाट अझै काठ तस्करी भइरहेको स्थानीय बताउँछन्। केही दिनअघि माई नगरपालिका–२ चेप्टीको एउटा घरबाट सुरक्षाकर्मीले ७६ क्युबिक फुट काठ बरामद गरे। वन, प्रहरी र सशस्त्रको प्रयासमा पक्राउ परेको काठ व्यक्तिगत स्वामित्वको प्रमाण नपाएको दानाबारीस्थित सशस्त्र प्रहरीका इन्स्पेक्टर सनतकुमार विष्टले जानकारी दिए। उनले दानाबारीमा सशस्त्रको उपस्थिति भएपछि काठ तस्करी घटे पनि दोमुखा र चुलाचुली क्षेत्रबाट तस्करी हुने गरेको बताए।
चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई वन तस्करले इलामको चुरे जोखिममा पारेको बताउँछन्। ‘पक्राउ पर्ने पनि तस्करका भरिया मात्र हुँदा रहेछन्’, उनले भने। उनले माई नगरपालिका र माङसेबुङ गाउँपालिकाको चुरे फँडानी गरेर रतुवा र चाँजु खोला हुँदै इलामको काठ झापा झर्ने बताए। माई नगरपालिकाको चेप्टी हँुदै माई खोलाबाट बगाएर पनि झापा काठ पुर्याउने गरेको स्थानीय बताउँछन्।
माई सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरज निरौला भने खोलाबाट काठ तस्करी हुने आफूलाई थाहा नभएको बताउँछन्। उनले भने, ‘म भर्खरै आएको, बुझ्दै छु।’ इलामको माई नगरपालिकाको महमाई र दानाबारीका काठ झापाको सतासीधाम हुँदै झापा, मोरङ र भारतसम्म पुग्ने गरेको स्थानीय बताउँछन्। सशस्त्र प्रहरी बल इलामका अनुसार वन तस्करले दानाबारीबाट झपाको खुदुनावारी हुर्दै बिर्तामोड पुर्याउने गरेका छन्।
महमाई र बाँझोबीचको तीन दोभानेबाट कुल्लीको सहायतामा झापा तोपगाछीको बाटोबाट पनि तस्करी हुने गरेको छ। चुरेको काठ तस्करी गर्न यात्रुवाहक बस, ट्रक र साइकलसमेत प्रयोग हुने गरेको व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत र साधन समितिको वन संरक्षण समस्या अध्ययन प्रतिवेदन, २०६७ मा उल्लेख छ।
दानाबारी र महमाईको काठ खुदुनाबारी, शनिश्चरे र बिर्तामोडमा रहेका चिरानी मिलमा बिक्री हुने गरेको बताइन्छ। चुलाचुलीबाट जाने काठ झापा र मोरङका चिरानी मिलमा बिक्री हुन्छन्।